काठमाडौंँ । प्रथमराष्ट्रपति डा रामवरण यादवले राष्ट्रको एकता र मेलमिलापलाई सर्वोपरि मानेर प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रलाई समृद्ध बनाउने बाटोमा लाग्नु नै बीपी कोइरालाप्रति सच्चा सम्मान हुने बताए । नेपाली जनतालाई रैतीबाट नागरिक बनाउन जीवनभर सङ्घर्ष गर्नुभएका नेपाली राजनीतिका शिखर व्यक्तित्व बीपी कोइरालाको ३५औंँ स्मृति दिवस मनाइरहँदा प्रथमराष्ट्रपति यादवले भने– ‘पहिला राष्ट्रलाई सर्वोपरि राखेर अगाडि बढेमा लोकतन्त्र र गणतन्त्र पनि फस्टाउँछ । बीपीले लोकतन्त्र, राष्ट्रियता र समाजवादलाई जोड दिए । हाम्रो पनि बाटो त्यही हो ।
स्रोतसाधन प्रयोग गर्दै नेपालीको अनुहार फेर्ने बाटोमा हामी सबै लाग्नुपर्छ ।’ बीपीले नेपाली जनताका लागि राजनीति गरे, विचार र सिद्धान्तका लागि त्याग गरे भन्दै उनले हिमाल, पहाड, तराई–मधेशको भावनालाई जोडेर लैजानका लागि राष्ट्रका मुख्य चार शक्ति नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसका राजनीतिक दलहरूबीचको एकतामा जोड दिए । प्रथम राष्ट्रपति यादवले भने– ‘हामी जहाँ बसे पनि र रहे पनि भाषा जे बोले पनि सबै नेपाली हौँ, सौहार्द वातावरणमा संविधान कार्यान्वयन गरेर जानुको विकल्प छैन, हामी सबैले संविधानअनुसार चल्नुपर्छ, संविधानमा केही मतभेद भएमा पनि संविधानबाटै समाधान खोज्नुपर्छ, जनताको हितमै हामी सबै लाग्नुपर्छ ।’
“बीपीले भारतको स्वाधीनता आन्दोलनदेखि राणा शासनविरुद्धको क्रान्तिलाई उठाएर जसरी नेपालीलाई रैतीबाट नागरिक बनाउनुभयो, बीपीले राजतन्त्रसँग सहकार्य गरेर जाने नीति लिनुभयो तर राजाले दमनको नीति लिए र पछिल्लो समयमा राजतन्त्र आफ्नै कारणले ढलेको हो”, डा यादवले भने– ‘वामशक्तिको विगतको एकताबाट परिवर्तन सम्भव भएको हो, त्यसैले बीपीको मेलमिलापको नीतिबाट प्राप्त उपलब्धिको रक्षा गर्न सकिन्छ । ’’ गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया