काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले विनियोजन विधेयक, २०७४ पारित गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो । त्यसैगरी, बैठकले आर्थिक विधेयक, २०७४ माथि विचार गरियोस् भनी प्रस्तुत प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो ।
साथै सभामुख ओनसरी घर्तीले उक्त विधेयकमा यही असार २९ गते दफाबार छलफल हुने घोषणा गरीन् । बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७४ लाई सर्वसम्मतिले स्वीकृत ग¥यो । त्यसअघि सांसदहरु प्रेम सुवाल, अनुराधा थापा र डिल्लीप्रसाद काफ्लेले विभिन्न मन्त्रालयको विभिन्न शीर्षकको खर्च रकम घटाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको थियो ।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही असार २८ गते बुधबार १ बजे बस्नेछ ।
प्रतिक्रिया