काठमाडौं । मुख्यसचिव सोमलाल सुवेदी अन्तिम समयमा आएर नयाँ बन्ने मुख्यसचिवका लागि तगारो बनेका छन् । कम्युनिस्ट छवि भएका सुवेदीलाई मुख्यसचिव बन्ने मौका कांग्रेस नेतृत्वको सरकारले दिएको भए पनि अहिले कांग्रेसकै नेतृत्वको सरकारलाई धोका दिने रणनीतिमा सुवेदी लागेको कर्मचारीहरू नै बताउँछन् ।
साउन १ गतेदेखि एसियाली विकास बैंकको जागिरमा जाने तयारीमा रहेका मुख्यसचिव सुवेदीलाई कार्यकाल बाँकी रहँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले अनुमति दिएको हो ।
पूर्व सहमतिअनुसार यही असार २८ गतेभित्रमा सुवेदीले मुख्यसचिव पदबाट राजीनामा दिएर नयाँ मुख्यसचिवका लागि बाटो खुल्ला गरिदिनु पर्ने हो । तर, मुख्यसचिव सुवेदी २८ असारमा राजीनामा नदिएर मुख्यसचिवका लागि दाबेदार रहेका केही सचिवलाई अवकाशमा पठाउने तयारी रहेका छन् । मुख्यसचिवका लागि दाबेदार रहेका १० जना सचिवमध्ये पहिलो नम्बरमा रहेका सचिव धनबहादुर तामाङ असारभित्रै मुख्यसचिवले राजीनामा नदिए वा सरकारले स्वीकृत नगरे मुख्यसचिव बन्न पाउने छैनन् ।
एक वर्ष कार्यकाल बाँकी रहे पनि मुख्यसचिव सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा लिने भएपछि यतिबेला मुख्यसचिव बन्नका लागि १० जना सचिव प्रमुख दलका शीर्ष नेताहरूको घरदैलो अभियानमा समेत जुटेका हुन् । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । सरकारले सुवेदीलाई १ साउनदेखि काम गर्न जाने गरी स्वीकृति दिइसकेकाले पनि प्रतिस्पर्धामा रहेका सचिवहरू दौडधुपमा लागेका हुन् । सत्ता नेतृत्व गरिरहेको नेपाली कांग्रेस सुवेदीपछिको वरीयतामा रहेका धनबहादुर श्रेष्ठलाई मुख्यसचिव बनाउने तयारीमा छ भने मुख्यसचिव सोमलाल सुवेदी तामाङलाई मुख्यसचिवको बाटो नखोल्ने रणनीतिमा लागेका छन् ।
अहिले मुख्यसचिवपछि वरीयताका हिसाबले सचिव धनबहादुर तामाङ पहिलो हुन् तर, मुख्यसचिव सुवेदीले २८ असारअघि नै राजीनामा दिँदा चाहेको व्यक्ति मुख्यसचिव बन्न नसक्ने भएकाले तामाङलाई मुख्यसचिव हुने बाटो बन्द गर्ने खेलमा मुख्यसचिव सुबेदी लागेका हुन् ।
तामाङ २०६९ साल २८ असारमा सचिवमा वढुवा भएका थिए । तामाङ मुख्यसचिव भइहाले पनि ५८ वर्षे उमेर हदका कारण २० मंसिरमा सेवानिवृत्त हुने भएकाले मुख्यसचिव बन्न नपाए तामाङ २८ असारमा अवकाश लिने मनस्थितिमा रहेका छन् । अर्थ सचिव शान्तराज सुवेदीलाई मुख्यसचिव बनाउने खेलमा रहेका मुख्यसचिव सुवेदीको राजीनामा यसै कारणले पनि २८ असारपछि मात्रै आउने भएको छ । वरीयताका आधारमा अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठ प्रबल दाबेदार रहे पनि मुख्य सचिव सुबेदीले धनबहादुरलाई बाटो नखोले अर्थ सचिव शान्तराजले पनि मुख्यसचिव बन्ने अवसर पाउने छैनन् ।
किनभने प्रधानमन्त्री शेरबहादुर देउवा धनबहादुर तामाङलाई मुख्यसचिव बनाएर उनिपछि गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव बनाउने तयारी रहेको स्रोत बताउँछ । सरकारको यस्तो तयारी बुझेर पनि मुख्यसचिव सुबेदी राजीनामा ढिलो गरी बुझाउने तयारीमा छन् । तामाङ र रेग्मीलाई मुख्यसचिव बनाउने योजना असफल भएमा त्यसको फाइदा भने सचिव शान्तराज श्रेष्ठले पाउने देखिएको छ । अहिलेसम्म कुनै दलीय विवादमा नपरेका श्रेष्ठलाई मुख्यसचिव बनाउनुपर्ने उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले प्रधानमन्त्री देउवालाई दबाब दिएका छन् । तर, प्रधानमन्त्री देउवाले भने जनजातिका हिसाबले पनि सचिव धनबहादुर तामाङलाई मुख्य सचिवका लागि बाटो खुल्ला गर्न मुख्यसचिव सुवेदीलाई २८ असार अगाडि नै राजीनामा गर्न दबाब दिएका छन् ।
यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तामाङलाई रोक्दै नाताले मुख्यसचिवका भाइ पर्ने अर्थसचिव शान्तराज सुवेदीलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको छ । माओवादी केन्द्रले भने सत्तासाझेदार दल भए पनि कांग्रेस र एमालेको विवादको फाइदा लिने मनस्थितिका साथ उपराष्ट्रपतिका कार्यालयका सचिव नारायणगोपाल मलेगोलाई अगाडि सारेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मलेगोलाई मुख्यसचिव बनाउन उपप्रधानमन्त्री कृष्णबहादुर महरा र माओवादी नेता वर्षमान पुनलाई जिम्मा दिएका छन् ।
तर, प्रधानमन्त्री निकट सूत्रका अनुसार मुख्यसचिव सुवेदीले धनबहादुर तामाङलाई मुख्यसचिव बन्न रोकेको खण्डमा र शिक्षा सचिव श्रेष्ठ र गृहसचिव लोकदर्शन रेग्मीमध्ये एकजना मुख्यसचिव बन्ने बाटो खुल्नेछ ।
प्रतिक्रिया