देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कहाँ छन् दर्ता छुट दिएका माओवादी नेताका ९४ गाडी ?

देशान्तर

काठमाडौं । शान्ति प्रक्रियामा आउँदा दर्ता छुट दिइएका गाडी माओवादी नेताले आफूखसी प्रयोग गर्दै आएका छन् । सरकारले १० वर्षअघि माओवादी लडाकूलाई ५७, नेतालाई ३५ र केन्द्रीय कार्यालयलाई दुई गरी ९४ वटा गाडी दर्ता छुटमा उपलब्ध गराएको थियो । माओवादीले ती गाडी पार्टी केन्द्रीय कार्यालयको सम्पत्तिका रूपमा नेताका नाममा दर्ता गराएको थियो । तर, अहिले ती गाडी कुन अवस्थामा छन् भन्ने विवरण माओवादी केन्द्रीय कार्यालयसँग छैन ।

२०७२ साल फागुनमा बसेको माओवादी स्थायी समिति बैठकले पार्टीका सम्पत्ति पार्टी केन्द्रीय कार्यालयमा अभिलेखीकरण गर्ने निर्णय गरे पनि अहिलेसम्म केन्द्रीय कार्यालयले त्यसको रेकर्ड राख्न सकेको छैन । ‘पार्टीको सम्पत्तिका नाममा केही गाडी छन्, ती ज–जसले प्रयोग गरिरहनुभएको थियो, उहाँहरूले नै आफ्नो तजबिजका साथ प्रयोग गरिरहनुभएको छ, पार्टीले त्यसको अभिलेख राखेको छैन’ , माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव प्रल्लाद बुढाथोकीले भने, ‘कतिपय नेता पार्टी छाडेर अन्य पार्टीमा हुनुहुन्छ । पार्टी विभाजनपछि माग्ने कुरा भएन, उहाँहरूले पनि बुझाउनुभएको छैन ।’

९४ गाडीमध्ये ५७ वटा माओवादी लडाकु नेपाली सेनामा समायोजन हुँदा शान्ति मन्त्रालयमा बुझाइएको माओवादी नेता बताउँछन् । बाँकी ३७ गाडी भने अहिले विभिन्न समूहमा विभाजित माओवादी नेतासँगै छ । त्यसमध्ये २६ माओवादी केन्द्र, चार मोहन वैद्यको क्रान्तिकारी माओवादी, तीनवटा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका नेतासँग र चारवटा नेत्रविक्रम चन्दको पार्टी नेकपाका नेतासँग छन् ।

कतिपय माओवादी नेताले यो अवधिमा राज्यका तर्फबाट गाडी सुविधासमेत पाएका छन् । त्यसरी सुविधा पाएपछि पार्टी बैठकले दोहोरो सुविधा नलिन निर्देश गरेको थियो । तर, त्यो निर्देशन कार्यान्वयन नभएको माओवादी नेता बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।