काठमाडौं । दोस्रो चुनाव अन्तर्गत बुधबार प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहमा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जजानकारी दिएको छ ।
साथै सबै स्थानीय तहमा शान्तिपूर्ण रुपमा मतदाताहरुले मतदान गरेको आयोजले जनाएको छ । ८ हजार ३६४ मतदान केन्द्र मध्ये केही केन्द्रमा वर्षातको कारणले मतदान शुरु हुन केही ढिलाई भएको छ । बाँकी सबै मतदान केन्द्रमा मतदान भइरहेको आयोगले जनाएको छ ।
पूर्वी पहाडका केही स्थानमा वर्षा भइरहेको भन्दै आयोगले भनेको छ, ‘वर्षातका बावजुद मतदाताहरु बडो उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पंक्तिबद्ध भइरहनुभएको जानकारी प्राप्त भएको छ ।’
वैतडी जिल्लाको सुरनया गाँउपालिकाको भूमिराज नि.मा.वि. मतदान केन्द्रमा बिहान ७ बजे ११३ वर्षीय ज्येष्ठ नागरिक पशुपति साउदले मतदान गरेका छन् । दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाकी जेष्ठ नागरिक १०५ वर्षीया कलशी भट्टले भूमिराज नि.मा.वि., तौकी मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेकी छन् ।
दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वा्चित हुनेछन् । यसमध्ये ४१ जनप्रतिनिधि भने निर्विरोध निर्वा्चित भइसकेका छन् ।
प्रतिक्रिया