काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले कसैले भनेर राजीनामा नगर्ने तर आफ्नो आत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताएका छन । ।
राप्रपा सांसद राजेन्द्र लिङदेनले नैतिकता भए राजीनामा गर्न दिएको सुझावको प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै प्रचण्डले अरुले भनेर राजीनामा नदिने बताएका हुन् । उनले विगतमा आफूले दुवै पटक नैतिकताको धरातलमा टेकेर नै राजीनामा दिएको दाबी गरे । उनले अहिले पनि आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताए । तर उनले प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिनुपर्ने संस्कार बसाउन नहुने आग्रह पनि गरे । प्रचण्डले आफू अब लामो समय प्रधानमन्त्री हुन्छु भन्ने नलागेको बताए । उनले आफू पहिल्यै दुई पटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै अहिले प्रधानमन्त्री बन्नुपर्ने परिस्थिति आइलागेको बताए।
उनले भने, ‘मलाई थाहा छ, म सधैँको लागि प्रधानमन्त्री भएको होइन, अहिले पनि मलाई लामो समय प्रधानमन्त्री हुन्छु भन्ने लागेको छैन। तर जति हुन्छु, यो पटक म जनताको पक्षमा काम गरेर देखाउँछु। त्यही अनुसार काम गर्दै छु।’उनले तेस्रो पटक प्रधानमन्त्री हुँदा जनतालाई केही भन्नु छ भनेको भएकाले अहिले सोही अनुसार अघि बढेको सुनाए। प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई प्रधानमन्त्री बनाएको बताउदै एमालेले आफूमाथि प्रश्न उठाएर राष्ट्रपतिकहाँ हस्ताक्षर गरेर बुझाएको पत्रको समेत अवहेलना गरेको भनाई राखे।
प्रधानमन्त्री भन्दा अगाडी समय लिएर बोलेका नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले तिरङगा झण्डा उचाल्ने कि चन्द्र सूर्य भएको झण्डा उठाउने हो सदनमा जवाफ दिन माग गरेका थिए ।
उनले प्रधानमन्त्रीकोे अभिव्यक्तिले सार्वभौम संसद र नेपाली जनतामाथिको अपमान भएको भन्दै भारत भ्रमणका क्रममा लिपुलेकको बारेमा नबोलेको तथा कोशी प्रदेशको सरकार ’कु’ गरेको भन्दै यि विषयमा स्पस्ट पार्न आग्रह गरे । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने भनाई राखे
उनले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियतासँग जोडिएको विषय भएको भन्दै यसमा सामान्य विषय नभएको बताए । रास्वपाका सभापति रवि लामिछानेले संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरे । उनले पार्टीका मुद्दामा संसद् रोकिने कुरा रास्वपाले स्वीकार नगर्ने बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अझ स्पष्ट पार्नुपर्ने भन्दै राष्ट्रिय स्वाधीनताको मुद्दामा अप्ठेरो हुने खालका अभिव्यक्ति नदिन सचेत हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।
प्रतिक्रिया