देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लोपोन्मुख असारे तथा दाइँ गीत विषयक संगोष्ठी सम्पन्न

देशान्तर

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोकसंगीत विभागद्वारा लोपोन्मुख असारे तथा दाइ गीत विषयक संगोष्ठी हालै राजधानीमा सम्पन्न गरेको छ ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षता तथा वरिष्ठ लोकगायक बमबहादुर कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय सांस्कृतिक संस्थानमा भएको कार्यक्रममा गायक किरणबाबु पुनले विषयगत कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि पूर्वसांसद एवं संस्कृतिकर्मी बमकुमारी बुढा र डा. ध्रुवप्रसाद भट्टराईले टिप्पणी गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति शम्भु राईले मौलिक कला संरक्षणमा राज्यको मात्र मुख ताक्न नहुने बताउँदै पश्चिमका देउडा गाउने कलाकारले पूर्वको हाकपारे, हिमालका शेर्पाले मैथिली÷ भोजपुरी गीत र यस्तै प्रकारले एक समुदाले अर्काे समुदायको गीत गाउन सक्ने वातावरण बनाउन सके सबै जातजातिका गीत संगीत संरक्षण हुने धाराण राखे ।
प्रमुख अतिथि वरिष्ठ लोकगायक गायक बमबहादुर कार्कीले लोपोन्मुख भाखा र मौलिक संस्कृतिको जगेर्नामा युवापुस्ता क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले कला र संस्कृतिको अध्ययन र अनुसन्धानका लागि सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालको स्थापना गरेर अघि बढेको पनि बताए ।
लोकसंगीत विभाग प्रमुख एवं कार्यक्रम संयोजक प्राज्ञ टीका पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शिवनारायण जोशी र समूहले घाँसेगीत, अथार मगरात कलाकार संघका कलाकारहरूले दाइँ गीत, पञ्चरंग भजन समूह भक्तपुरका कलाकारले उपत्यकाका नेवार समुदायमा प्रचलित असारे गीत तथा विपिन घिमिरे र शिला विष्टले गड्वाली गीत प्रस्तुत गरेका थिए । ख.ब.पु चञ्चलले हास्यव्यंग्य प्रस्तुत गरेका थिए ।
हरि पुनमगरले सहजीकरण गरेको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, प्राज्ञ परिषद् सदस्य हिसनबहादुर मगर, बखतबहादुर हमाल, डाक्टर राई, बैकुण्ठ महतलगायतको उपस्थिति रहेको थियो ।