जसले २०६२ सालमा माओवादी र सात संसद्वादी दलका बीचमा भएको बहुचर्चित १२बुँदे दिल्ली सम्झौतापछि काठमाडौंमा भएको आन्दोलनको सफलता र त्यसपछि बनेको आठ दलको सरकारले ५० लाख अनागरिकलाई नागरिका प्रदान गर्दा मुक्त कण्ठले प्रशंसा र समर्थन गरेका थिए, अहिले तिनैका सन्तानलाई वंशजका आधारमा नागरिकताको प्रमाणपत्र दिने ऐनमा राष्ट्रपतिले प्रमाणीकरण गर्दा किन आकाशै खसेजस्तो गरेर होहल्ला गरेका होलान्, धेरैलाई त्यो रहस्य बुझ्न गाह्रो परेको छ भने त्यो अस्वाभाविक होइन । खासगरी प्रजातन्त्रको अन्त्य र लोकतन्त्रको विजयोत्सव मनाउन विदेशी सहयोगमा खुलेका सञ्चारका माध्यमले त्यसबेला जसरी नेपाल भारत सीमानाका जिल्लाहरूमा नागरिकता खुल्लमखुल्ला बिक्री भइरहेको घटनाको विरोध गर्नेहरूलाई प्रतिक्रियावादी भनेर जसले विरोध र भत्र्सना गर्थे, हिजोआज तिनैले फेरि अर्काथरीको सिता खाएर राष्ट्रवादीको गीता गाउँदै एकपल्ट नागरिकता पाइसकेका नेपाली नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकताको प्रमाणपत्र दिनुहुन्न, त्यो कदम फिर्ता लिनुपर्छ, लिइएन भने गृहयुद्ध गर्छौं भन्नेसम्मको चेतावनी दिने दुस्साहस प्रदर्शन गरिरहेका छन् ।
कथित सामाजिक सञ्जालले, त्यही सन्देश व्यापक रूपमा सम्प्रेषित गरिरहेका छन् । राष्ट्रिय जीवनका विभिन्न नाकामा फैलिएर रहेका विदेशी एजेन्टहरूलाई त्यो मेसेज फैलाउन भ्याइनभ्याइ भइरहेको छ । अर्थात् उनीहरूलाई नागरिकता विधेयक प्रमाणीकरणका आडमा राष्ट्रपति, सरकार र गठबन्धन मात्र होइन, वर्तमान संविधानलाई पनि एकै घान पार्ने अपूर्ण अवसर मिलेको छ, जसको सदुपयोग उनीहरूले संविधानको खुला उल्लंघन गरेर कसरी गरिरहेका छन्, त्यो कसैबाट लेकेको छैन । मानौं, उनीहरू त्यसलाई खेर जान नदिन कृतसंकल्पित छन् । त्यसैले उनीहरू बडो मनोयोगका साथ आफ्नो अभियान चलाइरहेछन् । उनीहरूको आन्दोलनको संकल्प रहेको छ– नाउ अर नेभर ।
सबैलाई थाहा छ, नागरिकता विवाद, अत्यन्त संवेदनशील विषय हो । त्यसलाई राजनीतिको औजार तुल्याउन खोज्दा विगतमा पनि धेरै ठूला र गम्भीर परिणाम मुलुकले व्यहोर्नु परेको थियो । त्यो वास्तविकता मात्र होइन, प्रजातान्त्रिक मूल्य र मान्यतालाई पनि मनन् गरेर राष्ट्रपति रामचन्द्र पौडेलले लोकप्रिय बन्ने मोह र अलोकप्रिय हुन सक्ने जोखिमको पर्वाह नगरेर संविधानको रक्षकको भूमिकामा आफूलाई दृढतापूर्बक खडा गरेको यथार्थ कसैबाट लुकेको छैन । त्यत्ति प्रस्ट वास्तविकतालाई आत्मसात् गर्न नचाहने तत्वले हिजो विद्यादेवी भण्डारीले गरेको गल्तीलाई दोहो¥याउन लगाएर राष्ट्रपति पद मात्र होइन, लोकतान्त्रिक व्यवस्था र संविधानलाई समेत असफल घोषित गरेर अर्को व्यवस्था र संविधानको अपरिहार्यता सावित गर्ने प्रयास गरिरहेका छन् । सफल नहुनु बेग्लै कुरा हो, तर उनीहरूको सम्पूर्ण प्रयासको निचोड भने त्यही रहेको छ ।
विडम्वना के छ भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति उनीहरूको आकांक्षा अनुरूप छैन । थुप्रै प्रकारका कमी, कमजोरीका बाबजुद प्रजातन्त्रको विकल्प, अझ फराकिलो प्रजातन्त्र हो भन्ने मान्यताको विकल्प खोज्न कोही तयार छैनन् । त्यही कारण नेपालमा अझै प्रजातन्त्र र कांग्रेसको विकल्प टाढासम्म दृष्टिगोचर भइरहेको छैन । तैपनि प्रजातन्त्र विरोधीहरू आफ्नो सपना साकार तुल्याउने प्रयासमा लागेको लाग्यैछन्, पछि हटेका छैनन् । त्यही अहिलेको सबैभन्दा ठूलो चासो र चिन्ताको विषय हो । राष्ट्रपति पौडेलले त्यही प्रयासमाथि प्रहार गर्न संविधान जोगाउने काम गरेकाले अहिले उनी तिनको प्रहारको निसानामा पर्न पुगेका छन् ।
२०६३ सालको परिवर्तनले आतंकवादी तथा अराजकतावादी कम्युनिस्टलाई लोकतन्त्रवादी हुने मात्र होइन, सत्ताधारीसमेत बन्ने अपूर्व अवसर प्रदान गरेजस्तै अहिले पनि भारतको सहयोगबाट लोकतन्त्र उल्टाउने चाहना राख्ने प्रतिक्रियावादी मात्र होइनन्, कथित् कम्युनिस्टबाट पहिले नै रूपान्तरित भएर लोकतन्त्रवादी तथा राष्ट्रवादीको जडौरी तक्मा प्राप्त गरिसकेका कामरेडहरू पनि फेरि गोरु ब्याइँ पो हाल्छ कि भनेर उनीहरूकै पछि लागेको देख्दा नेपालमा को दक्षिणपन्थी र को उत्तरपन्थी हुन् त्यो छुट्ट्याउन नसकिने भयो भनेर तेस्रोथरी रन्थनिन पुगेका छन् । जो दक्षिणको चौकीदार थिए, तिनै उत्तरको पनि पहरेदार भएको देख्नेहरूलाई अब आफ्नै आँखामा भरोसा लाग्न छाडिसकेको छ । त्यस्तो अवस्थामा रामचन्द्र पौडेल, कांग्रेस र प्रजातन्त्रलाई एकै घान तुल्याउन चाहनेको हौसला बुलन्द हुनु अस्वाभाविक होइन । आमसञ्चारका माध्यममा उनीहरू जसरी आक्रमक भएर छाएका छन्, त्यसले पनि त्यही प्रमाणित भइरहेको छ ।
यति भनिसकेपछि कांग्रेसलाई कमजोर पार्ने अभियानको अन्तर्य बुझ्न कमसेकम निष्ठावान् कांग्रेसलाई कुनै कठिनाइ हुनुपर्ने देखिन्न । तैपनि स्थितिको गम्भीरतालाई कम आँक्ने गल्ती कसैले नगरुन्, त्यसप्रति भने सबैले सचेष्ट हुनैपर्छ । नेपालीका छोराछोरीलाई नागरिकता पाउनबाट वञ्चित गरिराख्ने र त्यही समस्यालाई सत्ताको लिफ्ट तुल्याउन खोज्नेहरूको अभीप्सा पूरा हरहालतमा पूरा हुन नदिने संकल्प गर्नुपर्ने बेला पार्टीभित्रै वितण्डाको खेती गर्नेहरूलाई पनि पाठ पढाउन तयार रहनुपर्छ । कांग्रेसलाई कहिलेकाहीँ बाँदरजस्तो छुकछुके, आफ्नो घर आफैं बिगार्ने आरोप पनि लाग्ने गरेकै हो । तर त्यो बाँदर जब हनुमानका रूपमा जागरित हुन्छ, तब सबैथोक उलटपलट गर्न त्यो एक्लै पर्याप्त हुन्छ । त्यसको उदाहरण २००७ सालको क्रान्तिमात्र होइन, २०४६ सालको ऐतिहासिक परिवर्तन पनि हो । सबैलाई चेतना होस् ।
प्रतिक्रिया