देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृत्रिम खुट्टाले सगरमाथा आरोहण गरेका हरिलाई राष्ट्रपतिको बधाई

देशान्तर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् ।  राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका सुपुत्री अवज्ञा पौडेलले आज आयोजित कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गरे ।

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेकाे विश्व किर्तिमान लगन, साहस र गौरवको प्रतीकका रुपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेछ भन्ने  आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गरेका छन् ।

“घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयापनलाई सहज एवम् सरल बनाउँदै सगरमाथा आरोहण जस्तो दु:ख तथा साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईंको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो”, राष्ट्रपति पौडेलको सो सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन् ।