काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र शाह भोली १० दिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
पछिल्लो दुई महिनाको अवधिमा ज्ञानेन्द्रको यो दोस्रो भारत भ्रमण हो । डेढ महिना अघि मात्रै उहाँ पूर्वी नेपाल हुँदै दार्जिलिङ भ्रमणमा जानुभएको थियो ।
यसपटक नेपालगञ्जबाट स्थलमार्ग हुँदै लखनउ जान लाग्नुभएको हो । उहाँ पूर्व राजाको साथमा पूर्व यूवराज पारसबाहेक परिवारका सबै सदस्यहरु पनि भारत जाने बुझिएको छ ।
उहाँका सुरक्षाकर्मीहरु भने नेपालगञ्जमै रहने छन् भने शाह परिवारको सुरक्षाको जिम्मा उत्तर प्रदेश सरकारले लिएको छ ।
यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार नेपालगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सरिक हुनुभएको थियो ।
नेपालगञ्जको रामलिला मैदानमा बुधबार भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको जीवनस्तर सुधार हुन नसकेको र मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन सबैमा आह्वान गर्नुभएको हो ।
पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताउनुभयो ।
प्रतिक्रिया