काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा संविधानसभा सदस्य इन्द्रजीत राई पक्राउ परेका छन् ।
राईलाई ललितपुरको सौखेलबाट आज बिहान पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा। मनोजकुमार केसीले जानकारी दिए ।
राई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको देखिएकाले पक्राउ गरिएको उनको भनाइ छ । पक्राउ परेका राईलाई प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ ।
उक्त प्रकरणमा यसअघि प्रहरीले अरू पाँचजनालाई पक्राउ गरिसकेको छ । यसअघि, दाङका सन्देश शर्मा, मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङ पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
राईसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको संख्या ६ पुगेको छ । उनी रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार थिए ।
प्रतिक्रिया