काठमाण्डौ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । आज बिहान आएको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेलवार खरेलले २ हजार ८ सय २९ मत मात्र पाए ।
बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो।
निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र जमानत जोगाएका छन् ।
सत्ता गठबन्धनको समर्थनमा जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए । यस्तै एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए। बाँकी ३१ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिएका छन्।
वैशाख १० मा भएको उपनिर्वाचनमा राप्रपाले तनहुँ क्षेत्र नम्बर १ मा शोभा गुरूङ, चितवन क्षेत्र नम्बर २ मा जीवलाल पुरी र बारा क्षेत्र नम्बर २ मा सोनालाल प्रसाद सा तेलीलाई उम्मेदवार बनाएको थियो। राप्रपाका यी तीनै जनाको धरौटीसमेत जफत भएको छ।
तनहुँ १ मा राप्रपा उम्मेदवार गुरूङले २ सय १८ मत मात्रै पाएकी थिइन्। चितवन २ मा पुरीले जम्मा ३ सय ७५ मत मात्रै ल्याएका छन्। बारा क्षेत्र नम्बर २ मा तेलीले जम्मा १ सय १९ मत मात्रै ल्याएका थिए।
प्रतिक्रिया