काठमाडौं । गुल्मीको धुर्कोटमा जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जना बालकको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
डढेलो निभाउने क्रममा जलेर धुर्कोट गाउँपालिका–३ का १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पा लगिएकोमा उनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोही स्थानका ५५ वर्षीय धनबहादुर कुँवर पनि जलेर गम्भीर घाइते भएको र उनको पाल्पामै उपचार भईरहेको पनि प्रहरीले जनाएको छ । धुर्कोटको वडा नम्बर–३ को हाडहाडे बर्दवास जंगलमा बिहीबार दिउँसोदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
यसैगरी, गुल्मीकै इस्मा गाउँपालिका–५ मा जंगलमा लागेको डढेलो बस्तीमा फैलिंदा तीन वटा घर र दुई वटा गोठ जलेर नष्ट भएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया