आर्थिक सङ्कटका कारण बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । ऋण असुल नहुने तथा कर्जा प्रवाहसमेत नबढ्दा चालु आर्थिक वर्षको चैतसम्म वाणिज्य बैंकहरुको खराब कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ । बढ्दो महँगी, खस्कँदो व्यवसाय लगायतका कारण ऋणीहरुले बैंकको ऋण तिर्न सकेका छैनन् ।
चैतसम्ममा २१ वाणिज्य बैंकहरुको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । पोहोरको तुलनामा ११ दशमलव ६७ प्रतिशतले नाफा बढेको हो । चैतमा सबैभन्दा बढी हिमालयन बैंकको खराब कर्जा अनुपात ४ दशमलव ५६ प्रतिशत पुगेको छ ।
कृषि विकास बैंकको खराब कर्जा अनुपात ४ दशमलव ३५ र नेपाल बैंकको ४ दशमलव १६ प्रतिशत छ । चैतमा सबैभन्दा कम खराब कर्जा अनुपात एभरेष्ट बैंकको शून्य दशमलव ७० प्रतिशत छ । एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल एसबीआई बैंकको खराब कर्जा अनुपात १ प्रतिशतभन्दा कम रहेको छ ।
चैतसम्म सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । ग्लोबल आईएमई बैंकले ४ अर्ब ३५ करोड, एनआईसी एसियाले ४ अर्ब १ करोड र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ५७ करोड नाफा आर्जन गरेका छन् ।
सातवटा बैंकको नाफा भने पोहोरको तुलनामा घटेको देखिएको छ । सबैभन्दा बढी कृषि विकास बैंकको नाफा ४५ दशमलव ३६ प्रतिशतले घटेको छ । सिद्धार्थ बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, प्राइम बैंकको पनि खराब कर्जा बढ्दा अघिल्लो वर्षको तुलनामा खुद नाफा केही घटेको छ ।
प्रतिक्रिया