काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।
आज बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबीचको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको बताउनुभयो ।
प्रमुख सचेतक रमेश लेखकले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको बताउनुभयो ।
बैठकमा संसदको समितिहरु सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंग्याउने कुरामा छलफल भएको प्रमुख सचेतक लेखकले बताउनुभयो ।
बैठकमा अध्यक्ष ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने विषयमा सहमति जनाउनुभएको बताउनुभयो ।
प्रतिक्रिया