काठमाडौं । काठमाडौंको न्युरोड खिचापोखरीमा अत्याधुनिक व्यापारिक कम्प्लेक्स डीआरएन टावर सञ्चालनमा आएको छ ।
नेपालमै पहिलो पटक डिजिटल लाइटिङ सिस्टम भएको व्यावसायिक भवनको निर्माण डीआरएन इन्टरनेसनल प्रालिले गरेको हो । सांसद कृष्णगोपाल श्रेष्ठले व्यावसायिक कम्प्लेक्स नयाँ वर्षको पहिलो दिन शुक्रबार उद्घाटन गरेका छन् ।
नेपालका प्रतिष्ठित व्यावसायिक समूहले निर्माण गरेको यो सुविधा सम्पन्न कम्प्लेक्समा २६ वटा युनिटमध्ये १० वटा बिक्री भइसकेका छन् । १० तल्लाको कम्प्लेक्समा रहेको १६ वटा युनिट बिक्रीका लागि खुल्ला गरिएको छ । कम्पनीले उद्घाटनको अवसर पारेर पसल कवल किन्नेलाई १० प्रतिशत छुट दिएको जनाएको छ ।
कम्पनीका अनुसार कम्प्लेक्समा रहेको पसल भाडामा पनि लिन सकिन्छ । कम्प्लेक्समा १ सय २३ देखि ११ सय स्क्वायर फिटसम्मका सटरहरू रहेका छन् ।
‘नेपालकै सुविधा सम्पन्न कम्प्लेक्स हामीले निर्माण गरेका छौं । हामीले काठमाडौंको मुटुमा अत्याधुनिक कम्प्लेक्स निर्माण गरेर सुलभ मूल्यमा बिक्री गर्न खोजेका हौं । अहिले न्युरोड क्षेत्रमा आफ्नो व्यावसायिक भवन वा पसल खोल्ने ठाउँ पाउन कठिन छ । त्यसैले न्युरोडमा आफ्नो सम्पत्तिसहितको पसल खोल्ने सपना पूरा होस् भनेर कम्प्लेक्स निर्माण गरेका हौं,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका संस्थापक अध्यक्ष एवं डीआरएन इन्टरनेसनल प्रालिका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले भने, ‘हामीले गुणस्तरमा कुनै सम्झौता नगरी कम्प्लेक्स निर्माण गरेका छौं ।’
श्रेष्ठ रञ्जना ट्रेड सेन्टरका समेत संस्थापक लगानीकर्तामध्ये एक हुन् । उनकै सक्रियतामा रञ्जना ट्रेड सेन्टर स्थापना भएको हो । उनले कम्प्लेक्समा गरिने लगानी दीर्घकालीन भएको बताउँदै यस्तो सम्पत्तिमा गरिएको लगानीको प्रतिफलसमेत उत्कृष्ट हुने विश्वास व्यक्त गरे । ‘यो कम्प्लेक्समा गरिएको लगानी दीर्घकालीन हो । हामीले न्युरोड क्षेत्रमै सबैभन्दा सस्तोमा सटर तथा फ्ल्याट बिक्री गर्दैछौं,’ श्रेष्ठले भने ।
कम्प्लेक्स नजिकै ४२ रोपनी क्षेत्रफलमा पार्किङसहित धरहरा र आधुनिक पार्क निर्माणाधीन रहेकाले समेत यो आकर्षक रहेको कम्पनीको दाबी छ । कम्प्लेक्स निर्माण गर्दा उच्चस्तरीय निर्माण सामग्रीको प्रयोग गरेर १० रेक्टरसम्मको भूकम्प आउँदा कुनै समस्या नहुने श्रेष्ठको दाबी छ ।
कम्पनीका अनुसार चौबिसैघण्टा सुरक्षा, लिफ्ट, एयरकन्डिसन र फायर फाइटिङ सिस्टम रहेको छ । कम्पनीले कम्प्लेक्समा रिमोट कन्ट्रोलबाट चल्ने ट्रान्सपरेन्ट सटरहरू राखेको छ ।
डीआरएन टावरमा १२३ स्क्वायर फिटदेखि ११ सय स्वायर फिटसम्मका अफिस तथा व्यावसायिक पसलहरू निर्माण गर्न सकिन्छ । विभिन्न देशका व्यापारिक कम्प्लेक्सहरूको अध्ययन र अनुसन्धान गरी यो टावर निर्माण गरिएको श्रेष्ठले बताए ।
नेपालकै पहिलो व्यापारिक वाकिङ स्ट्रिटका रूपमा चिनिएको न्युरोड खिचापोखरीमा निर्माण भएको यस टावरमा आठ तला रहेको छ । यो टावर विभिन्न व्यापारिक तथा प्रशासनिक कार्यालय, कर्पोरेट अफिस, ब्रान्डेड सो रुमहरू, बैंक तथा वित्तीय संस्थाहरू (फाइनान्स, सहकारी समेत) का लागि अति उपयोगी हुने श्रेष्ठले बताए । भवनको माथिल्लो तल्लाबाट काठमाडौंको सुुन्दर दृश्य अवलोकन गर्न सकिनुका साथै लक्जिरियस फुड कोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरूका लागि निकै उपयुक्त रहेको छ ।
डीआरएन इन्टरनेसनलले ठमेलमा पनि व्यापारिक कम्प्लेक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसअघि काठमाडौंकै महाबौद्धमा पनि डीआरएन टावर सञ्चालनमा ल्याइसकेको छ । डीआरएन ब्रान्डका टेलिभिजन सेट, टेलिफोन सेट, साउन्ड सिस्टमसहित विभिन्न इलेक्ट्रोनिक्स सामानहरू कम्पनीले बजारमा ल्याइसकेको छ ।
प्रतिक्रिया