देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रकाशकीय

निरन्तर पहरेदारी

देशान्तर

विक्रम सम्वत् २०८० साल वैशाख ३ गते आइतबारको यो अंकसँगै देशान्तर साप्ताहिक ४१ औं वर्षमा प्रवेश गरेको छ । नेपाली पत्रकारिताको इतिहासमा कुनै पनि सञ्चारमाध्यमले निरन्तर चार दशक पार गर्नु आफैंमा गौरवको विषय हो भने एउटा साप्ताहिक पत्रिकाको निरन्तर प्रकाशन त सिंगो सञ्चार क्षेत्रकै लागि थप गर्वको विषय हो ।

चार दशक लामो यात्रामा देशान्तर साप्ताहिकले अनेकौं उतार-चढाव, आरोह-अवरोह, उकाली-ओराली तथा समस्या व्यहोरे पनि आफ्नो लक्ष्यमा कत्ति पनि विचलित नभएको यहाँहरू सबैमा विदितै छ । पाठक, विज्ञापनदाता तथा शुभेच्छुकहरूको साथ, सहयोग, सुझाव र सद्भावकै कारण हामीले आफ्नो लक्ष्यमा नडमगाई यो यात्रा तय गर्न सफल भएका छौं ।

निर्दलीय पञ्चायत, बहुदलीय प्रजातन्त्र, माओवादीको सशस्त्र विद्रोह, राजाको प्रत्यक्ष शासनकाल तथा संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा जनताको अधिकार र सुसूचित गराउन देशान्तर सदैव अग्रमोर्चामा रह्यो । लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको पक्षमा आफूलाई सतिसाल झैं उभ्याइरह्यो । निर्दलीय पञ्चायती व्यवस्था होस् वा माओवादीको कथित जनयुद्ध अनि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाल, कुनै पनि कालखण्डमा देशान्तरले आफ्नो लक्ष्य बिर्सेन र निरन्तर लोकतन्त्रको पक्षमा पहरेदारी गरिरह्यो, जुन आज पर्यन्त जारी छ, हाम्रो यो ‘मिसन’ जारी रहनेछ ।

एक दशकदेखि महाभूकम्प र कोरोनाको महामारीका कारण मुलुकका सबै क्षेत्र आक्रान्त छन् । त्यसमाथि एक वर्षदेखि जारी रूस–युक्रेन युद्धको प्रभाव विश्व अर्थतन्त्रमा पर्दा नेपाल अछुतो रहने कुरै भएन । त्यसैले मुलुकले अहिले आर्थिक मन्दीको मार खेपिरहेको छ । यी सबै अवस्थाको असर नपर्ने कुरै भएन । तर पनि देशान्तरले आफ्नो दायित्व बिर्सेको छैन र भविष्यमा पनि बिर्सने छैन । सरकार, राजनीतिक दल र नीति निर्मातालाई निरन्तर खबरदारी गरिरहनेछ। लोकतन्त्रको पक्षमा सतिसाल झैं उभिरहने छ ।

वर्ष २०७९ निर्वाचनमय बन्यो । आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त हो, तोकिएको समयमा जनताले आफ्नो प्रतिनिधि आफैं चयन गर्ने र आपूmद्वारा निर्वाचित प्रतिनिधिबाट शासन गर्ने पद्धतिलाई नै लोकतन्त्र भनिन्छ । यसै क्रममा गत वर्ष तीनै तहका चुनाव सम्पन्न भए । चुनाव प्रभावित पार्न विभिन्न हतकण्डा पनि अपनाइए । तर, देशान्तरले निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि खबरदारी गरिरह्यो । दलहरूलाई आफ्नो कार्यशैली परिवर्तन गर्न र सरकारलाई सेवा प्रवाहमा सुधार ल्याउन दबाब दिइरह्यौं । सञ्चारजगत र नागरिक स्तरबाट आएका यी यस्तै दबाब तथा खबरदारीले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न बल पुर्‍याँछ भन्ने देशान्तर साप्ताहिकको मान्यता हो ।

२०७२ सालमा जारी भएको संविधानले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको ग्यारेन्टी गरेको छ । संघीयता कार्यान्वयनका पछिल्ला ६ वर्षमा स्थानीय तह, प्रदेश र संघमा गरी दुई कार्यकालका लागि निर्वाचन सम्पन्न भइसकेका छन् । स्थानीय तहहरूको कार्य प्रगति उत्साहजनक रहे पनि प्रदेश सरकारहरूको प्रभावकारिता माथि प्रश्न उठ्न थालेको छ । तिनै तहका संरचनालाई सबल, सक्षम र प्रभावकारी बनाउनु संघीयताको मर्म हो । त्यसैले संविधानको सही कार्यान्वयन, रक्षा तथा पालना अनि आर्थिक समुन्नति र विकासका पक्षमा लाग्नु, लगाउनु सबैको दायित्व हो ।

तर, केही दल र नेतामा देखिएको सत्तामोह, दम्भ र अहंकारका कारण अघिल्लो चुनावपछिको कार्यकालले सबैलाई झस्क्याएको छ । सर्वत्र प्रदेशसभाको प्रावधान र समानुपातिक पद्धतिका कारण कुनै एक दलको स्पष्ट बहुमत नआइरहँदा राजनीतिक स्थायित्व नभएको सर्वत्र प्रश्नहरू उठ्न थालेका छन् । राजनीतिक स्थायित्व नहुँदा विकास निर्माण र मुलुकको समृद्धिमा समेत असर गरिरहेको छ भने अर्थतन्त्र झन्झन् ओरालो लाग्ने अवस्थामा पुगेको देखिन्छ ।  वर्तमानमा स्थापित राजनीतिक दलका शीर्ष नेतृत्वको असक्षमता र सत्तामोहका कारण वैकल्पिक शक्तिहरूको उदय भइरहँदा उनीहरूको कार्यशैलीमा पनि नवीनता नदेखिँदा वर्तमान राजनीतिक पद्धति माथि नै औंला ठड्याउने अवस्था आइरहेको छ । यसतर्फ बेलैमा मुलुकका ऐतिहासिक र स्थापित भनिएका दलहरूका शीर्ष नेता वा युवा नेताहरू सचेत भएनन् भने भविष्य कहालिलाग्दो रूपमा अगाडि बढिरहेको छ, सबैलाई चेतना भया ।

देशान्तर मिडिया प्रालिले देशान्तर साप्ताहिक मात्रै प्रकाशित गरेको छैन, यसका डिजिटल प्लेटफर्मले जतिसक्दा छिटो समाचार, सूचना तथा जानकारी आम नागरिकमा पु¥र्याउने काम गरिरहेका छन् । अनलाइन संस्करण देशान्तर न्युजडटकम र रेडियो देशान्तर १००.३ ले समाचारसँगै मनोरञ्जनात्मक सामग्री प्रस्तुत गरिरहेका छन् । आगामी दिनमा यी सबै माध्यमलाई थप सबल र प्रभावकारी बनाउँदै सूचना प्रवाहमा तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्दछौं । अन्त्यमा हाम्रो यो अभियानलाई सदैव साथ दिने विज्ञापनदाता, पाठक, श्रोता, शुभेच्छुक र देश विदेशमा रहनुभएका आम नेपाली दिदीबहिनी तथा दाजुभाइमा आभार व्यक्त गर्दै, नववर्ष २०८० को  हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।