देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ–रसुवागढी सडक पूर्ण रुपमा सञ्चालनमा आउँदै

देशान्तर

काठमाडौँ । काठमाडौँलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी सडक (१२२ किमी) पूर्ण रुपमा छिट्टै सञ्चालनमा आउने भएको छ ।

 

उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी सडक (१७ किलोमिटर) को ट्र्याक खोल्ने काम नेपाली सेनाले यही असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ । ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक सञ्जालले जोडिने छ । बहुचर्चित एवम् बहुप्रतिक्षित सो मार्ग पूर्ण रुपमा सञ्चालनमा आएपछि काठमाडौँदेखि चीनको केरुङसम्म करिब चार घण्टामा पुग्न सकिन्छ ।

 

नेपाली सेना, विकास निर्माण निर्देशनालयका निर्देशक सहायक रथी उद्धव विष्टले मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । सरकारले सेनालाई सुम्पिएको समयसीमाभित्रै सो सडकको ट्र्याक खुलाउने काम सम्पन्न हुन लागेको हो । सो सडक नौ मिटर फराकिलो र डबल लेनको हुनेछ र त्यसमा एउटा पनि घुम्ती हुने छैन ।

 

सो सडकखण्डअन्तर्गत पहिलो चरणमा सात किलोमिटर तत्कालीन अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष प्रा डा गोविन्द पोखरेल र नेपाली सेनाका तत्कालीन प्रधानसेनापति गौरवशम्शेर जबराले विसं २०७१ माघ ९ गते संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

 

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण सम्पन्न भएपछि गल्छीदेखि रसुवागढीसम्मको दूरी ८४ किलोमिटर मात्र हुने छ । अर्काेतर्फ गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डलाई पनि छोटो बनाउने छ । यसको निर्माणले बेत्रावतीबाट राम्चे हुँदै धुन्चे नगई सिधै मैलुङ हुँदै स्यापु्रmबेँसी पुग्न सकिने छ ।

 

व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले उत्तर–दक्षिण जोड्ने ‘लाइफ लाइन’का रुपमा रहेका काठमाडौँ–रसुवागढी रणनीतिक सडकको निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गरेर यसको पूर्ण सञ्चालनमा जोड दिनुपर्ने बताए ।

 

उनले नेपाली सेनाले मैलुङ–स्याफ्रुबेँसी सडकको ट्र्याक खुलाउन गरिरहेको काम प्रशंसनीय रहेको चर्चा गर्दै विकास समितिले सेनाका कामलाई साथ र सहयोग गर्न तीन पटकसम्म त्यसको स्थलगत अध्ययन गरेको जानकारी दिए ।

 

काठमाडौँ–गल्छी–बेत्रावती ७५, बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी ५४ र स्याफ्रुबेँसी–रसुवागढी १६ गरी यो सडक कुल १४५ किलोमिटरको छ । बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठीन घुम्ति पार गर्नुपर्छ । राम्चे र मूलखर्कमा सुख्खा र वर्षात् दुवै समयमा आउने पहिरोले यातायात आगावमनमा कठिनाइ हुने गरेका छन् ।

 

सो सडक बनेपछि बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसीसम्मको दूरी जम्मा ३१ किमी हुनेछ । नेपाली सेनाकाअनुसार निर्माणाधीन मैलुङ–स्याफ्रुबेँसी सडक बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकभन्दा २३ किमी छोटो हुनेछ । यसैगरी काठमाडौँ–रसुवागढी सडकको दूरी कूल १२२ किमी हुन जानेछ ।

 

निर्देशक विष्टले नेपाली सेनाले आफ्नो सीमित स्रोत, साधनको प्रयोग गरी मैलुङ–स्याफ्रुबेँसी ट्र्याक खोल्ने काम असार मसान्तसम्म सम्पन्न गरी यातायात सञ्चालनमा आउने जानकारी दिए । सडक डबल लेन, स्तरोन्नतिलगायत सबै काम अगामी चैत मसान्तभित्रमा पूरा हुने उनको भनाइ छ ।

 

हाल सेनाले मैलुङ, स्याफ्रुबेँसी, त्रिशूली दोभान, सोलेबेँसी र गुमचेत गरी चार स्थानमा आफ्नो क्याम्प स्थापना गरी सडक निर्माणलाई तीव्रता दिएको छ । साथै मैलुङको त्रिशूली खोलामा १२० मि लामो ‘बेलिब्रिज’समेत जडान गरिसकेको छ । सो बेलिब्रिजको भारवहन क्षमता २५ टन रहेको उनले जानकारी दिए ।

 

उसो त नेपाली सेनाले भूकम्पले क्षति पु¥याएको बेत्रावती–मैलुङ १८ किमी सडक मार्गमा पहिरो पन्छाइ त्यसको मर्मत गरिसकेको छ । सरकारले विसं २०७२ पुस ७ गते सो सडक खण्डमा पहिरो पन्छाउन तथा मर्मत गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो ।

 

अर्काेतर्फ चीन सरकारले पनि केरुङलाई रेलमार्गसँग जोड्न उच्च प्राथमिता दिई काम गरिरहेको छ । हाल तिब्बती रेलमार्ग सिगात्सेसम्म आईपुगिसकेको र सन् २०२० सम्म चीनको हिमाली उपत्यका केरुङ आइपुग्ने बताइएको छ । रसुवागढी केरुङ ३५ किलोमिटरको दूरीे छ । चीनले केरुङबाट नेपालसँगको आफ्नो सीमा रसुवागढीसम्म सडक विस्तार, स्तारोन्नति एवम् सुधारलाई तीव्र बनाइराखेको छ ।