काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिगमा ७–३ गोलले फराकिलो जित निकालेको छ ।
च्यासल मैदानमा आज मछिन्द्रले एफसी खुमलटारलाई ७–३ गोलको फराकिलो जित निकालेको हो ।
मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिकसहित ५ गोल गरे । विमल घर्ति मगर र विजय भुजेलले एक एक गोल थपे।
खुमलटारका मेसुके ओलुमोउले दुई तथा स्टेफेन बिनोङले एक गोल फर्काए ।
जारी लिगकै सर्वाधिक गोल भएको खेलमा ओलावालेले २५ औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।
२९ औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दा मछिन्द्र २–० ले अघि रह्यो ।
पहिलो हाफको इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई तेब्बर अग्रता दिलाए । ५६ औं मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दा मछिन्द्र ४–० ले अघि रह्यो ।
नाइजेरियन स्ट्राइकर ओलावाले जारी लिगमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बने । ओलावाले ८ गोल पूरा गर्दै लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।
खेलको ६१ औं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–१ को स्थितिमा ल्याए । ६२ औं मिनेटमा ओलावालेले चौंथो गोल गर्दै मछिन्द्रलाई ५–१ को अग्रता दिलाए ।
खेलको ६७ औं मिनेटमा ओलावालेले व्यक्तिगत पाँचौं गोल गर्दा मछिन्द्र ६–१ ले अघि रह्यो । ७६ औं मिनेटमा स्टेफेनले गोल गर्दा खुमलटार ६–२ को स्थितिमा रह्यो ।
खेलको ८१ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई ६–३ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८७ औं मिनेटमा विजयले गोल गर्दा मछिन्द्र ७–३ ले विजयी भयो ।
मछिन्द्रको यो तेस्रो जित हो । मछिन्द्रले ८ खेलमा १२ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा उक्लिएको छ । खुमलटारको यो पाँचौं हार हो । दशौँ स्थानको खुमलटारले ८ खेलमा ७ अंक जोडेको छ ।
प्रतिक्रिया