काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादन क्षेत्रमा लगानी केन्द्रित गर्न जरुरी भएको बताउनुभएको छ ।
मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधरण सभामा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएका हो ।
उहाँले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।
उहाँले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले सरकारको पनि प्रभावकारीता र पारदर्शीता बढाउन आवश्यक रहेको बताउनु भयो ।
अर्थमन्त्री डा.महतले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका युद्धहरुको प्रभाव नपरे नेपालको आर्थिक वृद्धि ४ प्रतिशत भन्दा माथि हुने बताउनु भयो ।
उहाँले अन्तर्राष्ट्रिय परिस्थिति राम्रो र युद्धको अन्त्य हुनसके नेपालको आर्थिक विकास, रुपान्तरण, पुँजी विकास र उद्योग व्यवसायमा लगानीका समस्या समाधान गरी अर्थतन्त्रमा सकारात्मक सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले तत्कालका लागि सरकारको सम्पूर्ण ध्यान पुँजीगत खर्च गर्ने क्षमता प्रभावकारी बनाउने र साधरण खर्चलाई कम गर्नेमा रहेको बताउनु भयो ।
उहाँले सरकारले सामाजिक सुरक्षा,शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रमा गर्ने साधारण खर्च कम गर्न नसक्ने बताउनु भयो ।
अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले काभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको बताउनु भयो ।
उहाँले सबै समस्याको समाधान गर्न राष्ट्र बैंकको मौद्रिक नीतिमा समिक्षा,निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर परिवर्तनका लागि राष्ट्र बैंकसँग आन्तरिक छलफलमा रहेको बताउनु भयो ।
अर्थमन्त्री महतले घरजग्गाको कित्ताकाट सहज बनाउन पनि छलफल भइरहेको उल्लेख गर्नुभयो । उहाँले घरजग्गाको कित्ताकाट सहज बजाउँदा मात्रै पनि बजार सहज हुने बताउनु भयो ।
प्रतिक्रिया