देशान्तर साप्ताहिकका प्रिय पाठकहरू,
अघिल्लो अंकमा तपाईंले पढ्नुभयो, पुत्रकका राज्य पुत्रकका तीन बाबुहरूले एक बधिकलाई लोभ दिएर आफ्नै पुत्रको हत्या गर्ने षड्यन्त्र गरे । बधिक फर्केपछि बाबुहरूले हत्याबारे सोध्दा बधिकले राजा पुत्रकको हत्या कबुल गर्यो । भन्यो, मैले अझसम्म राजाको रगत लागेको खाँडो पखाल्न पाएको छैन । अब म बिदा पाउँ । हत्यारा बाबुहरूले बधिकलाई बाबुले बमोजिमको धन दिएर बिदा गरे । त्यसपछि खुसी भएका ती महलमा फर्के ।
तर कथा बाँकी छ र फरक पनि । फरक के भने बधिकले आफ्ना साथी पनि डाकेको थियो । त्यसकारण, निरूपाय राजा पुत्रकलाई लडाएर जसै तिनले तरबार उजाए राजाले सोध्यो ‘तिमीहरू मलाई किन मार्न उद्यत् छौं ?’
मूल बधिकले भन्यो– तपाईंका पितृत्वहरूले मलाई अकूत सुन दिने वचन दिएका छन् ।’
पुत्रकले भन्यो– ‘यी मेरा सारा आभूषण लेऊ । पछि आए पनि दिउँला, मलाई नमार । म कसैलाई केही पनि भन्दिनँ लुकेरै बस्छु ।’
बधिकले उसको कुरा मान्यो र छाडिदियो ।
तरबारमा अन्य जनावरको रगत लगाएर पुत्रकका पितृत्वहरूलाई देखाइदियो ।
यता, ज्यान जोगिएपछि पुत्रक अलिक विरक्त भएर वनतर्फ लाग्यो । घुम्दाघुम्दै एकदिन उसले देख्यो । वनभित्र एक ठाउँमा दुई राक्षस लडाइँ खेलिरहेका थिए । ती कुस्ती खेल्न एकअर्कालाई हाँक दिइरहेका थिए । आ–आफ्ना तिघ्रा ठटाएर ती आफू बलशाली भएको हुँकार गरिरहेका थिए ।
त्यो देखेर पुत्रकले राक्षसलाई सोध्यो– ‘तिमीहरू को हौ र केका लागि युद्ध गर्न चाहन्छाैं ?’
तिनले भने– ‘हामी दुवै दानव मयासुरका पुत्र हौं, हामीसँग पैतृक धनका रूपमा एक ताउली, एउटा लड्डी र दुई खराउ छन् । हामी दुई भाइमा जो बलियो ठहरिन्छ, त्यसैले यो धन प्राप्त गर्नेछ । त्यसैले हामी यो धन पाउन युद्ध गर्न तम्सेका हौं । तिनका कुरा सुनेर पुत्रक हाँस्यो । उसले भन्यो ‘तिमीहरू दाइभाइ भएर पनि यति जाबो धनका लागि एकअर्काको ज्यान लिन तयार छौं ?’
तिनले अथ्र्याउँदै भने– यिनलाई सामान्य वस्तु ठान्ने भूल नगर्नु हामी किन झगडा गथ्र्यांै यी सामान्य वस्तु मात्र भइदिएका भए ? लौ सुन, जसका लागि हामी झगडा गर्दैछौं, त्यो लड्डी देख्यौं ? लड्डीले भुइँमा जे लेखेर कोरिदियो त्यो सत्य हुन्छ अर्थात् वास्तविक बन्छ । ताउली देखेकै छौं । त्यसमा जुन भोजनको ध्यान गर्यो, त्यो भरिन्छ आफैं र रित्तिन्न कहिल्यै । त्यस्तो गुण छ यो पाक ताउलीमा ।
पुत्रकले सोध्यो– ‘यो खराउ लगाएपछि मानिस आकाशमा उडेर खोजेको स्थालमा पुग्न सक्छ ।’
‘ए…’ पुत्रकले भन्यो तर हेर, मेरो कुरा ध्यानपूर्वक सुन– ‘यी वस्तुका लागि आपसमा लडेर एकअर्काको ज्यान लिन उचित हुने छैन । यसरी त कसैले पनि केही पाउँदैन ।’
तिनले– त्यसो भए अन्य कुन उपाय छ त ?’ पुत्रकले सुझाव दियो– ‘तिमीहरू दुवै दौडेर एक ठाउँसम्म पुगेर यहाँ फर्क, दौडमा जसले पहिले आफू हुन्छ सम्पत्ति त्यसैको हुन्छ ।’
राक्षसहरूलाई पुत्रकको यो सुझाव उचित लाग्यो । कसैको प्राण पनि नजाने, एउटाको जित पनि हुने ।
त्यसपछि ती राक्षस दगुरेर फर्किने लक्ष्य निर्धारित गरेर, वेगवान् भएर जित्नका लागि दगुर्न थाले ।
यता, यही मौका छोपेर पुत्रकले तिनको लड्डी र ताउली हातमा लियो र खराउ पहिरेर तत्काल आकाशमा उड्न थाल्यो । दुवै राक्षस हेर्याहेर्यै भए ।
पुत्रक लड्डी र पात्रका साथ आकाशका विभिन्न किरुमका बादल हुँदै उड्न थाल्यो । यो उसका लागि जीवनको एक अनुपम आनन्द थियो ।
धेरैबेर उडेपछि उसले पृथ्वीमा एउटा थोत्रो झुप्रो देख्यो एक ठाउँमा जुन एकान्तमा ठडिएको थियो । ऊ त्यसै घरमा पस्यो । त्यहाँ एक अत्यन्त निर्धन वृद्धा बस्दथी । पुत्रकले बूढीलाई धन दियो र त्यही थोत्रो झुपडीमा लुकेर बस्न थाल्यो ।
एकदिन बुढीले भनी– ‘पुत्र तिम्रो तेज देखेर मेरा मनमा एउटा कुरा आएको छ ।’
‘के आमा ?’ पुत्रकले जिज्ञासा राख्यो, बुढीले भनी– ‘बाबु मेरो चाहना छ, तिम्री एक राम्री स्त्री गृहिणी होस् । राज्यको राजाकी कन्या अन्यन्त राम्री छे । त्यो तिम्रो योग्य छे । तर त्यसलाई अत्यन्त कडा पहरा दिएर राखिन्छ, त्यसकारण सम्भव देख्दिनँ ।
बुढीका कुरा सुनेर पुत्रक मुसुक्क हाँस्यो मात्र, बोल्न चाहिँ केही बोलेन । तर वृद्धाका कुरा सुनेपछि पुत्रकका मनमा राजकुमारीप्रति प्रेम उत्पन्न भयो ।
भोलिपल्ट राखी पुत्रक उड्ने खराउ लगाएर, आकाशमार्गबाट रनिवासमा स्वाट्ट पस्यो । त्यो विशाल महलमा राजकुमारीको कोठा कहाँ छ, त्यो पत्तो पाउन पनि उसलाई धेरैबेर लाग्यो, अन्त्यमा एउटा सजिसजाउ कक्षमा राजकुमारीलाई निद्रावस्थामा देखेर कक्षको एउटा झ्यालबाट ऊ राजकुमारीको कोठामा दाखिल भयो ।
निद्रा देवीको काखमा निमग्न भएर सुतिरहेकी राजकुमारीलार्ई देख्यो । उनको अनुहार चन्द्रकिरण पर्नाले दौदिज्यमान थियो । राजकुमारी साँच्चिकै राम्री थिइन् । पुत्रक मुग्ध भएर निकैबेर राजकुमारीको सुन्दर मुख र सासफेराई तलमाथि भइरहेको उनको शरीरको कम्पनलाई हेरिरह्यो ।
राजकुमारी दिनभरि बगैंचामा सरवीहरूसँग खेल्दाखेल्दा थाकेर सुतेकी थिई । त्यसकारण आधा बेहोशैजस्ती थिई । उसले सम्भवतः आफ्नो वस्त्र पनि फेर्न भ्याएकी थिइन ।
आफ्ना हात घाँटी कम्मरका स्वर्ण आभूषणसमेत झिक्न भ्याएकी थिइन । त्यति थाकेकी थिई । तर ती थाकेर इन्तु न चिन्तु भएर निदाइरहेकी राजकुमारी पुत्रकलाई झन् सुन्दरी लागी, अवर्णकीय ।
धेरै बेर मुग्ध भएर हेरेपछि, पुत्रक सोचमा पर्यो, अब के गर्ने ? राजकुमारीलाई यत्तिकै छाडेर जाउँ भने, फेरि यस्तो एकान्त नमिल्ला । राजकुमारी बिउँझी भने, आत्तिएर कराउली, त्यसो भयो भने झन् उसले राजकुमारीलाई त्यसै छाडेर भाग्नु पर्नेछ ।
मिर्मिरे बिहान हुन्जेल पनि राजकन्या कोल्टेसमेत नफेरेर सुतिरही । अनि राजा पुत्रक मिर्मिरेसम्म पनि के गरुँ भन्ने दोधारमा उभिइरह्यो । एक मनले भन्यो राजकन्यालाई उठाउ र प्रेम निवेदन गरुँ अर्काैले भन्यो यस्ती कोमलांगीको निद्रामा बाधा पार्नु उचित छ ? यही दोधारमा ऊ राजकुमारी अघिल्तिर रातभरि उभिरह्यो ।
(बाँकी अरू अंकमा)
प्रतिक्रिया