देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली काँग्रेस रोल्पाले तोक्यो उम्मेदवार

देशान्तर

रोल्पा । लामो प्रतीक्षापछि नेपाली काँग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फवाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ । अकांक्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको काँग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामनामेसी एकमुष्ट टुङ्गो लगाएको हो । पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ । यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी बनेकी छन् । सुवर्णावती गाउँपालिकाको अध्यक्षमा शेरबहादुर महरा र उपाध्यक्षमा कविता उपाध्याय रहेका छन् । उपाध्यक्षको उम्मेदवार उपाध्याय नेपाल प्रेस युनियन रोल्पाकी अध्यक्ष तथा राष्ट्रिय समाचार समितिमासमेत कार्यरत छन् ।

लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा दुर्गाबहादुर खड्का र उपाध्यक्षमा भीमकली बुढाथोकीले उम्मेदवारी दिने भएका छन् । यसैगरी, माडी गाउँपालिकाको अध्यक्षमा गोपाल घर्तीमगर र उपाध्यक्षमा गोठी खत्रीलाई उठाउने तयारी भएको छ । सुनछहरी गाउँपालिकामा दुर्गे बुढालाई अध्यक्ष र सरु पुनलाई उपाध्यक्ष, दुईखोली गाउँपालिकाको अध्यक्षमा झक्कुप्रसाद घर्तीमगर र उपाध्यक्षमा लक्ष्मी डाँगी, सकिदह गाउँपालिकाको अध्यक्षमा हरिबहादुर पुन र उपाध्यक्षमा अमृताकुमारी केसीले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कमल बुढा र उपाध्यक्षमा राधिका हमालको उम्मेदवारी पर्ने भएको छ । हमाल चर्चित लोकदोहोरी गायिकासमेत हुन् । रुन्टिगढी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बस्नेत, उपाध्यक्षमा सरिता केसी र थवाङ गाउँपालिकाको अध्यक्षमा बमबहादुर रोका र उपाध्यक्षमा श्रीकुमारी रोकाले उम्मेदवारी दिने भएका छन् ।

सो पार्टीले रोल्पा नगरपालिकाका सबै वडाका अध्यक्ष र चारैजना सदस्यको समेत उम्मेदवारी टुङ्गो लगाएको छ । जसअनुसार वडा नं १ को अध्यक्षमा हिराबहादुर पुन, २ मा देउचन थापा, ३ मा राजकुमार पुरी, ४ मा हिरा घले, ५ मा हेमराज डाँगी, ६ मा नरबहादुर खत्री, ७ मा रती कामी, ८ मा खटकबहादुर खत्री ‘तोरावोरा’, ९ मा ओभिराज पुन र १० मा मानबहादुर खत्रीले उम्मेदवारी दिने नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।

लोकतान्त्रिक पार्टी भएका कारण पार्टीको सबै संरचनाबाट उम्मेदवार छानिँदै आउँदा एवम् जनताको समेत अभिमत लिनु परेका कारण उम्मेदवार चयनमा केही ढिलाइ भएको पार्टी सभापति अमरसिं पुनमगरले जानकारी दिए । यस पटकको स्थानीय तह निर्वाचनमा काँग्रेसले अधिकांश स्थान जित्ने गरी पार्टी निर्वाचनमा होमिएको उहाँले प्रतिक्रिया दिए ।