देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिलेको नेतृत्वको भोग पुगिसक्यो  

देशान्तर

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अहिलेको वर्तमान नेतृत्वको भोग पुगिसकेकाले नेपाली कांग्रेसको सुधारका लागि नयाँ तरिकाबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन् । विगतमा गठबन्धन गर्न हुँदैन भन्दा पनि पेल्ने र अहिले जोगाउन नसक्ने नेतृत्वबाट नेपाली जनताले आशा गर्न नसक्ने पनि बताए । देशान्तर साप्ताहिकका लागि मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै नेता घिमिरेले संघीय संसद्मा प्रचण्डलाई विश्वासको मत दिने विषय नै रहस्यमय रूपमा रहेको बताए । उनले विधानमा भएको व्यवस्थाअनुसार पार्टी चलाउनुपर्नेमा जोड दिँदै जसरी हुन्छ विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुको विकल्प पनि नभएको बताए । उनै घिमिरेसँग गरिएको कुराकानीको सम्पादित अंश ।

पछिल्लो राजनीतिक घटनाक्रमप्रति तपाईंको टिप्पणी के हो ? 

नेपालको राजनीति सोझो, सरल बाटोबाट अगाडि बढिराखेको छैन । वास्तवमा २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि नेपालमा बहाल भएको संघीय लोकतान्त्रिक गणतन्त्र हामीले अहिलेसम्म प्रयोग गरिएको प्रणालीहरूमध्ये सर्वाधिक उन्नत प्रणाली भनेर हामीले लागू गर्‍याैं । राष्ट्रको समृद्धि नेपाली जनताको जीवनलाई सुखद र सहज बनाउने वा सम्पन्नता हासिल गर्ने जुन हाम्रो उद्देश्य थियो जनतालाई चाहिने अधिकार सम्पन्न बनाउने, जनताका अधिकारहरूलाई सुरक्षित बनाउने यस्ता प्रणाली मार्फत देशको प्रतिष्ठालाई माथि लैजाने, विकासलाई उचाइमा पुर्‍याउने हाम्रो उद्देश्य थियो । त्यो उद्देश्यअनुसार हामीले राम्रो काम गर्न सकेको अवस्था छैन । देशको विकास र जनताको सुखभन्दा पनि सत्ता र आफूले प्राप्त गर्ने पदभन्दा माथि उठेको देखिएको छैन । राजनीतिक दलहरूको जोड चाहिँ सत्ताकै लागि मात्र देखियो । २०६२ /०६३ पछि अस्तिको निर्वाचनसम्म पनि जनताले जनविश्वास प्राप्त गरेको सुरुमा दुईवटा दल र पछि नेकपा दलभित्रको आन्तरिक बिग्रह पनि देखियो । जनताले पाँच वर्ष सरकार चलाउनु भनेर दिएको जिम्मेवारी निर्वाह गर्न नसकेको पनि देखियो । त्यसपछि बनेको समीकरणले सरकारमात्र चलाएन नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय तह र संसदीय निर्वाचनसम्म पनि गठबन्धनले निर्वाचन लड्यो । हिजो किन गठबन्धन निर्माण गरेको हो ? किन बनाएको हो ? स्थानीय तहको निर्वाचनमा र संसदीय दलको निर्वाचन आज जोगाउन किन नसकेको हो । यी सबै प्रश्नहरूको जवाफमा एकातिर नेपाली कांग्रेसलगायतका दलहरू छन् भने अर्कातिर कम्युनिस्ट पार्टीको त आफ्नो ढंगको क्रियाकलाप त हामीले देख्दै आएका छौं ।

अहिलेका यी घटनाक्रमहरूले गर्दा हामीले जुन व्यवस्था ल्यायौं त्यही व्यवस्था माथि पनि खतरा हो अथवा क्षणिक मात्र हो ?

हामी प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको लडाइँ त सात दशक नाघ्यो र पनि हामीले लोकतन्त्रलाई सुरक्षित गर्न सकेनौं । हामीले २००७ सालमा प्रजातन्त्र प्राप्त गर्‍यौं  । २०१७ सालमा गुमायौं । २०४६ सालमा प्राप्त गर्‍र्याैँ । २०५९ सालमा फेरि हामीले गुमायौं । २०६३ सालमा हामीले प्राप्त गर्‍र्याैँ र त्यसको पछिल्लो अध्याय हो यो । लोकतन्त्रको यति लामो संघर्ष गर्दा पनि हामीले लोकतन्त्रको भविष्यलाई पनि सुरक्षित राख्न सकेनौं । यसको कारण हामी नै हौं । यसका मुख्य खेलाडीहरू राजनीतिक दलहरू नै हुन् । किनभने लोकतन्त्र जस्तो गरेर हामीले अभ्यास गर्न सकेनौं । लोकतन्त्रको मूल्य मान्यतालाई हामीले आत्मसात् गर्न सकेनौं । यदि आत्मसात् गर्न सकेको भए एउटा लोक तयार गथ्र्यांै  । लाकतन्त्रको मर्मअनुसारको व्यवहार गथ्र्यौं । हामीले पटक्कै गर्न सकेनौं । अघि पनि मैले संकेत गरें हाम्रो ध्यान जनताको जीवनस्तर र देशको विकासमा गएकै छैन । यो लोकतन्त्र बारम्बार असुरक्षित हुनुको कारण हाम्रो चरित्र र व्यवहार हो । लोकतन्त्रको दुरुपयोग बारम्बार हामीले नै गर्‍र्याैं । त्यसैले असुरक्षित भयो । अहिले पनि त्यही परिदृश्य हामीले देखिरहेका छौं । गठबन्धन बनायौं, जोगाउन सकेनौं भत्कायौं फेरि गठबन्धन तोडेर जाँदा अर्काे विपक्षी गठबन्धनको सहयोगमा बनेको सरकारलाई हामीले विश्वासको मत दियौं यी सबै कारणहरू रहस्यमै छन् ।

अर्काे गठबन्धनलाई कांग्रेसले विश्वासको मत दिने जुन घटना देखिए यसले गर्दा पनि त अब सत्तापक्ष नै भनेर तपाईंहरूलाई व्यवहार गर्ने होला नि होइन ?

होइन । कुनै जरुरी थिएन । किनभने विपक्षी गठबन्धनसँग पर्याप्त मत थियो । विश्वासको मत प्राप्त गर्नलाई उहाँहरूलाई कुनै समस्या पनि परेको थिएन । त्यसैले उहाँहरूले अपहत्य गरेर भोट माग्नु भएको पनि थिएन र माग्दैमा पाउने कुरा पनि थिएन । किनभने नेपाली कांग्रेसले जहिल्यै आफ्नो धरातलमा आफूलाई उभ्याउनु जरुरी थियो । हिजो स्थानीय तह र संसदीय निर्वाचनमा गठबन्धन गरेर हामी चुकिसक्या थियौं । हाम्रो धरातल डगमगाई सकेको थियो । त्यसलाई फेरि एकपटक आफ्नै धरातलमा उभ्याएर कांग्रेसको प्रतिष्ठालाई फेरि माथि उठाउन पनि आवश्यक थियो । हामीले विश्वासको मत दिएर हामी फे रि चुक्दै गयौं । हाम्रो राजनीतिक केन्द्रमा जनता र लोकतन्त्र राजनीतिको केन्द्रमा देशको सुरक्षा, सार्वभौम सत्ताको सुरक्षा हाम्रो स्वाधीनता, स्वतन्त्रताको रक्षा गर्नु हो । किनभने पुर्खाहरूले छोडेर गएको देश हामीले जोगाउन सक्दैनौं भने हामीलाई नेपाली भन्ने अधिकार पनि रहँदैन । जनता भएपछि जनताको जीवनलाई कसरी सुखद बनाउने, कसरी सम्पन्नशाली बनाउने, कसरी जनताको जीवनलाई पुरानो जीवनभन्दा सुधार गर्ने र यसलाई राख्नका निम्ति सहज बनाउने, जनतालाई अधिकार सम्पन्न बनाउने भन्ने हो । हामीले मन पराएर, चाहेर मुलुकको हितको निम्ति यो प्रणालीभन्दा उत्तम छैन भन्ने हाम्रो निष्कर्ष हो ।

कांग्रेसको नेतृत्व किन असफल भएको हो । यति बेला प्रतिपक्षमा बस्नुपर्ने अवस्थामा सत्तापक्षलाई मत दिन्छ, अरुले सभामुख र राष्ट्रपतिमा च्याँखे थाप्या हो कांग्रेसले भन्छन् के त्यो जरुरी थियो ? 

मान्छेहरूलाई टिप्पणी गर्ने ठाउँ पनि त हामीले दियौं नि  । जब हामी गठबन्धन जोगाउन सबै कुरा प्राप्त गर्दै थियौं । हामी केन्द्रीय सरकार प्राप्त गर्दै थियौं । बाँडफाँडमा प्रधानमन्त्री पथ्र्याे वा पर्दैनथ्यो । हामीले राष्ट्रपति उपराष्ट्रपति, सभामुख, उपसभामुख प्रदेशका सरकारहरू, प्रदेशका सभामुखलगायत प्रदेशका गभर्नरहरूदेखि लिएर प्रदेशका नियुक्तिदेखि लिएर केन्द्रका नियुक्तिसम्म संवैधानिक नियुक्तिदेखि कूटनीतिक नियुक्तिसम्म विभिन्न आयोगहरू यी सबै चिज हामीले नेपाली कांग्रेस पार्टीका साथीहरूका निम्ति गठबन्धनमा रहेका दलहरूका निम्ति हामीले प्राप्त गर्दै थियौं । अब अहिले चाहिँ राष्ट्रपति, सभामुखका निम्ति मान्छेले टिप्पणी गरे जस्तो अवस्थामा हामीले आफूलाई प्रस्तुत गर्नु किमार्थ पनि उपयुक्त मलाई लाग्छ । राष्ट्रपति पनि कसैले दिने छैन । हामीलाई सभामुख पनि कसैले दिने छैन । हाम्रो गठबन्धनसँग पर्याप्त मात्रामा बहुमत छ । राष्ट्रपतिका लागि पनि छ, सभामुखका लागि पनि छ । यी सबैका कारण हामी फेरि एकपल्ट बदनाम हुँदै छौं ।

अहिले जुन खालको एमाले माओवादीको गठबन्धन छ त्यसमा अविश्वास पैदा गर्न कांग्रेस थपिएको हो ? 

त्यो बुझिन्छ कि तर अलि निश्चित पनि त गर्नु पर्‍यो नि । लोकतन्त्रवादीले सधैं टिप्पणी गर्ने गरी ठाँउ दिने गरी अघि बढ्नु भएन नि । यो सुरुआती कदम हो । केपी ओलीसँग प्रचण्ड जोडिनुमा सरकार बनाउनु हो । अब मत दिए पछि फेरि कन्फुजन क्रियट हुन्छ । फेरि एक प्रकारको शंका, उपशंका जन्मिन्छ । अनि गठबन्धन टुट्छ । हामी अघि बढ्छौं भन्ने तर्क गर्ने साथीहरू पनि हुनुहुन्छ । यसको के अर्थ जब हामी प्रदेश सरकार गुमायौं । केन्द्रीय सरकार त फर्काउला । राष्ट्र प्रमुखजस्तो पद गुमाउँदै छौं । सभामुख गुमायौं । सबै चिज गुमाएर हामीले एक, दुईटा ठाउँ फर्काउनका निम्ति आस गर्नु त्यसका लागि तड्पिएर बस्नुको कुनै अर्थ छैन । ठूलो चिज गुमाएर साना कुरा तड्पिनु त्यसका लागि प्रयत्न गरेर कुनै अर्थ छैन । हाम्रो स्तरले पनि मिल्दैन । नेपाली कांग्रेसको प्रतिष्ठाले पनि मिल्दैन । नेपाली कांग्रेसको ऐतिहासिक छविले पनि मिल्दैन । लोकतान्त्रिक छविले पनि मिल्दैन । हाम्रो प्रतिष्ठा ठूलो कि हामीले प्राप्त गर्ने साना पदहरू ठूलो हो ।

कांग्रेस यो अवस्थामा आइपुग्नुमा समग्र दोष कस्को हो ? 

जस्ले जिम्मेवारी लिएको छ उसैको दोष हो । जसको जिम्मा यसले लिने कि उसले लिने भन्ने अवस्था नै छैन । सानातिना त्यसका भार सबैलाई पर्ला तर मूल दोषी को हो भन्दा जस्ले जिम्मा लिएको छ, जसले नेतृत्व लिएको छ । जसले गठबन्धन बनाउन पहल गरेर गठबन्धन नै अन्तिम विकल्प भनेको थियो । त्यसपछि जस्ले निरन्तर मुलुकको नेतृत्व पार्टीको नेतृत्व गरेकोे थियो उही दोषी हो ।

अहिले जुन खालको मन्त्रिपरिषद् विस्तार भएको छ अधिकांश नयाँ अनुहारहरू छन् त्यसबाट केही आशा गर्न सकिन्छ ? 

नयाँ अनुहारलाई ल्याउनु एकदमै राम्रो कुरा हो । विधिवत् रूपमा सरकार बनेको छ । त्यसमा नकारात्मक टिप्पणी गर्नुको कुनै अर्थ छैन । तर नेपाली राजनीति यति गन्जागोल तरिकाबाट अघि बढेको छ कि अब आसा गर्ने ठाउँ धेरै छैन ।

त्यसो भए यो सरकारको आयु कति छ त ?

समीकरण कति समय चल्छ, समीकरण कति बलियो हुन्छ, कति कसिलो हुन्छ कति विश्वसनीय हुन्छ त्यसैमा भर पर्छ । समीकरण बलियो, कसिलो र विश्वसनीय भयो भने राम्रो हुन्छ । अघि बढ्छ । हैन आन्तरिक असमझदारी बढ्यो, द्वन्द्व बढ्यो भने त त्योभन्दा अगाडि पनि दुर्घटनाग्रस्त हुन सक्छ । अब विगतलाई मनन् गरेर समझदारी ढंगले हरेक कुरामा अघि बढ्दा राम्रो हुन्छ । होइन पुरानै शैलीमा जाने भन्ने भयो भने फेरि तलमाथि होला ।

नेपालको राजनीति भनेको पूर्वप्रधानमन्त्रीहरूको क्लब जस्तो भनेर टिप्पणी हुन्छ के साँचो हो ? 

राजनीति राजनीति जस्तो नभएपछि त्यो त जस्को हातमा राजनीति वर्चश्व छ उसैमा कठपुतली भएको छ । २०६२/०६३ को राजनीतिमा हामीले कत्रो अठोट गर्‍या थियौं जनताको अगाडि हामी साक्ष्ीा हौं नि त त्यो बेलाको त हामी नेतृत्वकर्ता पनि हौं । तर आज यो जुन दूरवस्था देखिन्छ त्यसको दोष दिएर हुन्छ ? अरूलाई दोष दिने ठाउँ छैन । दोष त हामीले लिनु पर्‍यो नि त राम्रो गर्न नसक्ने अनि भन्न नि नसक्ने ?

अहिलेको राजनीतिक संस्कारमा के छ भने गल्ती हुँदा अर्काको टाउकोमा थोपरिदिने अनि राम्रो हुँदा मैले गर्‍या हो भनेर जश लिने संस्कार किन बढेको होला ? 

सरकार चलाउने मौका पाएका केपी ओली अथवा प्रचण्डजीहरू, माधव नेपालजीहरूको आन्तरिक झगडाले उहाँहरूको हातबाट मुलुकको सत्ता खुस्किएको हो नि त, मुलुकको सत्ता गुमाउनु परेको हो नि त, त्यसैको जगमा उभिएर केपी ओलीजी ले दुईदुई पटक संसद् विघटन गरेको हैन ? संविधानमा कुनै अधिकार छ ? कुनै बाटो छ ? यो प्रणालीलाई सञ्चालन गर्ने मूल कानुनी दस्तावेज हो संविधान त्यसमा बाटै नभएको हो । त्यसमा बाटो हिँड्न खोज्ने उहाँ को हो ? संविधान जोगिँदैन, संविधानलाई धुजाधुजा बनाएर अगाडि बढ्ने अभ्यास हिजो भइसक्यो, त्यसैले हामीले मत थपिदिँदा कहाँबाट संविधान जोगिन्छ ? संविधान नजोगाउने प्रयत्न हिजै भएको छ । र, आज हामीले जोडिने भाग थपिदिँदा संविधान जोगिन्छ भन्ने तर्कसँग म पटक्कै सहमत छैन । संविधान हामी आफ्नो धरातलमा उभिँदा खेरी जोगिन्छ । नेपाली कांग्रेस नेपाली कांग्रेसजस्तो भएर मुख्य विपक्षी दलको गठबन्धन गुमाएको, सत्तामा पुग्न नपाएको कुण्ठा जुन छ । यो चाहिँ पद्धतीकरण जस्तो भयो । अहिलेको समर्थन कुण्ठा पद्धतीकरण हो । कांग्रेस आफ्नो छवि र स्वाभिमानका साथ प्रतिपक्षजस्तो भएर उभिएको भए हामीले संविधान जोगाउन सक्थ्यौं । अब यो समर्थनले त थाहा छैन के हुन्छ । त्यति धेरै ठूलो दुश्चिन्ता त मैले गर्न थालेको छैन । तर, अब राजनीति चाहिँ पूर्णरूपमा अगाडि बढ्छ । निष्पक्ष रूपमा अब राजनीति अगाडि बढ्छ ।

नेपाली कांग्रेसले मंसिर ४ मा सम्पन्न चुनावको समीक्षा गर्न पुसको २२ गते पहिलो बैठक आह्वान गर्‍यो, अब माघ १५ गतेको केन्द्रीय कार्यसमिति कसरी अगाडि बढ्छ ? 

यस्ता कुराहरूमा ढिला हुनुले के देखिन्छ भने पार्टीको राजनीति चाहिँ स्वच्छ हिसाबले अगाडि बढिरहेको छैन भन्ने बुझ्न सकिन्छ । निर्वाचनको परिणाम आइसक्यो, जे नहुनु भइसक्यो । हामीले नगर्ने काम गठबन्धन गरिसक्यौं । चुनाव हारिसक्यौं । पहिलो पार्टी भएर मात्रै हुँदैन, गठबन्धन गरेपछि त सोझै दुई तिहाइ ल्याउनु पर्दैन । हामीले साढे सात लाख ८ लाख समानुपातिकको भोट गुमाउने, गठबन्धन गर्दा चाहिँ ५७ सिटमा बस्ने, अनि गठबन्धन जुन उद्देश्यले गरियो संविधान जोगाउन, संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन, प्रतिगमनलाई परास्त गर्न, प्रतिगामी शक्तिहरूलाई निरुत्साहित गर्न भन्दै नारा लगाएर गठबन्धन गरियो तर, त्यसपछिको परिणाम यहीँ हो, गठबन्धन जोगाउन नसक्ने फेरि हुँदाहुँदा विश्वासको मत नै दिने यसले गर्दा हाम्रो चाहिँ जुन बाटो हिँड्ने अभ्यास भइरहेको छ । यो विषय चाहिँ पार्टीभित्र एकदम पेचिलो रूपमा उठेको छ । यो विषयमा छलफल गर्न आवश्यक छ । आज भन्या छ भोलि भन्या छ । यसले गर्दा चाहिँ कांग्रेसको छविलाई एकदम कमजोर बनाइराखेको छ ।

अबको बैठकमा पनि पक्ष, विपक्ष कांग्रेसभित्रको गुट उपगुट नै त हाबी हुने होला हैन ? 

हामी त पार्टीका साधारण कार्यकर्ता हौं । केन्द्रीय कमिटीको बैठक कसरी चलाउनु हुन्छ । के के एजेण्डा आउँछन् । त्यो एजेन्डामा कति व्यापक रूपमा छलफल हुन्छ । यो सबै विषयमा स्पष्ट रूपमा समस्याको नजिक पुगेर, समस्या पत्ता लगाएर समाधान गर्ने भूमिकातर्फ उहाँहरू जानु होला जस्तो मलाई लाग्दैन । यी सबै हेर्दा पार्टीले वास्तविक कारण चाहिँ पत्ता लगाएर अब कांग्रेसलाई नयाँ जीवन दिनु आवश्यक छ । कांग्रेसलाई नयाँ जीवन दिन नसक्ने हो भने अर्को दुर्घटनाको प्रतीक्षा गर्नु बाहेक हामीसँग अर्को बाटो हुँदैन ।

कांग्रेसमा यो विशेष महाधिवेशन, नीति महाधिवेशनको चर्चा पनि चलेको छ के यो आवश्यक हो ?

महाधिवेशनको त म कुनै सार्थकता देख्दिनँ । यो अस्ति नै भइसक्नुपथ्र्याे, निर्वाचन अगाडि नै हुनुपथ्र्यो । यो हुन सकेन । यसले कुन बाटो हिँड्ने भनेर पार्टीलाई एउटा दिशा निर्देश गथ्र्यो, अब नीति महाधिवेशन त उहाँहरूले बोलाउने कुरामै शंका छ । अर्को बोलाइहाल्नु भयो भने पनि परम्परागत रूपबाट एउटा कागजात डकुमेन्ट बाँढ्ने अनि पास भनेर छोड्दिने बाहेक खुल्ला छलफल हुँदैन । त्यसैले यसको मैले धेरै सार्थकता देख्दिनँ । त्यसैले गर्नुपर्ने के हो भने केन्द्रले नीति बनाउने र नीतिको मस्यौदा जिल्ला जिल्लालाई पठाइदिने हो । प्रदेश कार्य समितिले पनि बैठकमा छलफल गरेर केही सुझाव दिने भए दिएर केन्द्रमा पठाइदिन्छ । अनि केन्द्रले नीति पास गराए भइहाल्यो । यति सजिलो बाटो छ । विधानले निर्दिष्ट गरेको नेतृत्वको निर्वाचन र नीति निर्माण गर्ने अधिवेशन भनेर अलग अलग समयमा गर्ने व्यवस्था छ । त्यसैले नेतृत्व परिवर्तन नगर्ने हो भने फेरि नेपाली कांग्रेसलाई गतिशील रूपबाट अगाडि बढाउन, जनताको विश्वास हासिल गरेर अगाडि बढाउन गाह्रो छ । त्यसो भएको हुनाले विशेष महाधिवेशन बोलाउने, नेतृत्व बद्ल्ने र कांग्रेसलाई पुनर्जीवन दिएर अगाडि बढ्न बाहेक हामीसँग अर्को विकल्प छैन ।

विशेष महाधिवेशनबाट नेतृत्व बदलिन्छ भनेर आशा गर्न सकिन्छ त ? 

हैन, विधानको कुरा हो नि । त्यो विधान अहिले जस्तै उल्लंघन गर्दै जाने हो, देशभरिका पार्टीका साथीहरूको मागलाई पूरा नगर्ने हो भने ठीक छ त्यो पनि गर्न पाइ्यो गर्दै पनि आइएकै छ । हैन भने त पार्टीका साथीहरूको माग छ नि त, यो नेतृत्वबाट चल्दैन भन्ने माग छ नि, त्यो मागअनुसार विधानले गरेको व्यवस्थाअनुसार काम नगर्ने हो भने पार्टीले अपेक्षित परिणाम कसरी प्राप्त गर्छ, संविधान कसरी जोगिन्छ, कसरी प्रणाली जोगाउनु हुन्छ । यो प्रश्नको समुचित जवाफ दिनुपर्छ । यो इतिहासको माग हो । जवाफ दिन सक्ने सामर्थ हासिल गर्ने हो भने वर्तमान नेतृत्वबाट सम्भव छैन । वर्तमान नेतृत्वको भोग पुगिसक्यो, त्यसैले नेतृत्व बदल्नुपर्छ भन्ने आम पार्टीको साथीहरूको माग पनि छ । चाहना पनि छ । त्यसैले कांग्रेसलाई पूर्ण जीवन दिने हो विशेष महाधिवेशन गर्नै पर्छ  ।