देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब पाल्पाबाटै सवारी चालक अनुमतिपत्र

देशान्तर

सवारी चालकको अनुमतिपत्र लिन बुटवल धाउनुपर्ने बाध्यता हटेको छ । दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै सेवा थालनी गरिएको छ ।

सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका–७ ठाँटीमा सो सेवाको शुभारम्भ गर्नुभएको छ । सो अवसरमा उहाँले सवारी चालक अनुमतिपत्र लिन बुटवल जानुपर्ने समस्यालाई मध्यनजर गर्दै पाल्पाबाटै सेवाको थालनी गरिएको बताउनुभयो ।

पहाडी जिल्लामै पहिलोपटक यातायात व्यवस्था सेवा कार्यालयले पाल्पाबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा सुरु गरेको हो । यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्गमा सञ्चालनमा छ भने तानसेनको बाँसटारी नजिकै सुरु भएको सवारी चालक अनुमतिपत्रका सबै काम हुने बताइएको छ ।

बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र अर्कोतर्फ पाल्पासहित आसपासका जिल्लाका स्थानीयवासीलाई बुटवल आउनजान समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको छ ।

साना सवारीसाधनका लागि निर्माण हुने सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्रमा काम सुरुआत भएसँगै चालु आर्थिक वर्षमा भवन निर्माणलगायतका काम हुनेछ । रु तीन करोड ५० लाख बजेट आवश्यक भए पनि यस वर्ष मन्त्रालयबाट रु एक करोड बजेट विनियोजन गरिएको छ ।

जिल्लामा पहिलोपटक दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको सेवाबाट पाल्पासहित गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयवासीलाई सेवा लिन सहज हुने तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताउनुभयो ।