देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापामा विश्वकै अग्लो बुद्धको मूर्ति

देशान्तर

दमक । झापाको दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत आयोजना तयार गरिएको छ । दमक नगरपालिकाका अनुसार विराट बुद्धप्रतिमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डिपिआरले अन्तिमरुप पाएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले प्रस्तावित उक्त योजनाको डिपिआर तयार भएको बताए । उनले प्रारम्भिक चरणमा भनिएको भन्दा आयोजनाको लागत अनुमान बढ्ने देखिएको जानकारी दिए ।

डिपिआरअनुसार बुद्धमूर्ति पार्क निर्माणमा रु १७ अर्ब ९५ करोड खर्च लाग्ने नगरपालिकाले जनाएको छ । दमक–३ मा १६० बिगाहा जमिनको व्यवस्था गरी विश्वकै अग्लो बुद्धमूर्ति निर्माण हुनेछ ।

अधिकृत दाहालले बुद्धको मूर्ति ५४२ फिट अग्लो हुने र आयोजनाको निर्माण आवश्यक प्रक्रिया जेठभित्रै सुरु गर्ने जानकारी दिए । आयोजना छ वर्षभित्र सम्पन्न हुने बताइएको छ ।

आयोजना भित्र करिब २० बिगाहाको पार्क हुनेछ भने बुद्ध मूर्तिको आकृति हेर्न एक बिगाहाको पोखरी निर्माण गरिनेछ । त्यहाँ स्तुपा, गुम्बा, बौद्ध विश्वविद्यालय, ध्यान केन्द्र, सपिङ मल, अस्पताल, धर्मशाला लगायतका संरचना निमाण हुने अधिकृत दाहालले बताए ।

आयोजना निर्माण सम्पन्न भए मुलुकको पूर्व क्षेत्रमा मात्र लाखौँ पर्यटक भित्रिने र त्यसबाट हजारौँले रोजगारी पाउने जनाए ।

दाहालका अनुसार थाइल्यान्ड, जापान र दक्षिण कोरियाका सरकार तथा उद्योगीले निर्माण गर्ने इच्छा देखिएका छन् । उनले यही जेठभित्र आयोजनाको प्रारम्भिक चरणका काम थालनी हुने जानकारी दिए ।