देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले तत्काल राजीनामा दिनुपर्छ : डा रामशरण महत

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले निर्वाचन सम्पन्न गर्नुअघि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गर्न नमिल्ने बताए ।

रिपोर्टर्स क्लबद्वारा सोमवार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले निर्वाचन आचारसंहिताअनुरुप पुराना नीति तथा कार्यक्रमका लागि भने पूरक बजेट ल्याउन सक्ने तर्क गरे ।

पूर्व अर्थमन्त्री महतले विगतका राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिनेगरी काम चलाउ बजेट ल्याउनुपर्नेमा जोड दिँदै सरकारले आगामी बजेटमा भूकम्पपछिको पुनःनिर्माण कार्यमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधन प्रस्तावलाई छिटोभन्दा छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिंदै उनले निर्वाचनको मुखमा स्थानीय तहको सङ्ख्या वृद्धि गर्नु आचारसंहिता विपरीत हुने बताए ।

नयाँ सरकार निर्माणका लागि पनि सरकारले तत्काल राजीनामा दिनुपर्छ भन्दै पूर्व अर्थमन्त्री महतले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेसको व्यवस्थापनको कमजोरी, पार्टीगत अन्तर्घात लगायतका कारणले सोचेअनुरुपको नतिजा आउन नसकेको धारणा व्यक्त गरे।

उनले अबको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भने पहिलेका कमी कमजोरीलाई सुधार्दै अगाडि बढ्ने विचार व्यक्त गरे ।