देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिलो चरणको निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादी निष्कर्ष

देशान्तर

काठमाडौँ । नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको बैठकले निर्वाचनको नतिजा अपेक्षाकृत भएको समीक्षा गरेको हो । पार्टी एकता भए पनि सङ्गठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो ।

बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५०० भन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै उक्त ठाउँहरु आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष निकालिएको छ । बैठकले सङ्ख्याका दृष्टिले दलहरुले प्राप्त गरेको सिट सङ्ख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको बताए । बैठकले पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ ।

बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट प्रभावकारी रुपमा कार्ययोजना बनाउने र छिटै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।