देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोस्रो चरणको निर्वाचनमा जुट्यो कांग्रेस

देशान्तर

काठमाडौं । पहिलो चरणको निर्वाचनको मतपरिणाम आउँदै गर्दा संसद्को ठूलो दल नेपाली कांग्रेस दोस्रो चरणको निर्वाचनको तयारीमा जुटेको छ । पहिलो चरणको निर्वाचनको समीक्षा गर्नका लागि बसेको शीर्ष नेताहरूको बैठकले यही जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि जेठ १२ गतेसम्म पार्टीका उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ ।

दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने मिति जेठ १९ गते हो । बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको रणनीति तय गर्दै पार्टीका उम्मेदवारलाई आवश्यक तयारी गर्न सो निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसले नेताहरूले पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै पहिलो चरणको निर्वाचनमा देखिएका त्रुटि दोस्रो चरणको निर्वाचनमा हुन नदिनेसमेत जनाएका छन् ।

बैठकले निर्वाचनमा सबैको सहभागिताका लागि आवश्यक वातावरण बनाउन पहल लिने निर्णय गरेको छ । कांग्रेसले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई पारित गरी मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागिता गराउन अन्य दलसँग परामर्श गर्ने तयारी गरेको छ । बैठकमा निर्वाचनको मतगणनाबाट प्राप्त भइरहेको परिणामका बारेमा समीक्षा हुनुका साथै दोस्रो चरणको निर्वाचनमा अझ प्रभावकारी रूपमा तयारी थाल्नेबारेमा समेत छलफल भएको पार्टीका महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिए ।

बैठकमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिँदै महामन्त्री कोइरालाले कांग्रेस र नेकपा माओवादी केन्द्रबीच यसअघि भएको समझदारीअनुसार नै सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने अपेक्षा गरे ।

कांग्रेसले हाल प्राप्त भइरहेको मतपरिणामलाई सोचेको जति राम्रो नभएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउने गरी तयारी गर्न पार्टीका सबै संयन्त्र र भ्रातृ एवम् शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ । बैठकमा पहिलो चरणको निर्वाचनमा ग्रामीण क्षेत्रमा सोचेअनुसारको परिणाम आए पनि सहरी क्षेत्रमा सोचेअनुसारको परिणाम नआएको निष्कर्ष निकालेको थियो । कांग्रेसको यस्तो परिणाम आउनुको कारणको पनि खोजी गर्नुपर्ने नेताहरूले बताएका थिए ।