देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनावी सुरक्षाको लागि ४८ घन्टा उत्तर दक्षिण सिमा बन्द

देशान्तर

काठमाडौं । स्थानिय तहको पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि उत्तर चीन र दक्षिण भारतसंग नाका जोडिएका जिल्लाको सिमा ४८ घण्टा बन्द हुने भएको छ । गृह मन्त्रालयले वैशाख ३१ गतेको स्थानीय चुनाव हुने जिल्लासँग जोडिएका अन्तर्राष्ट्रिय सीमा ४८ घन्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। चुनाव शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा बन्द गर्न लागिएको बताइएको छ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुुुसार भारतसँग सीमा जोडिएका तराईका चितवन, मकवानपुर र चीनसँग सीमा जोडिएका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, हुम्लालगायतका जिल्लाको सीमा बन्द गरिनेछ। उनले बिहीबारदेखि निर्वाचन सुरक्षा मतदानस्थल केन्द्रित पारिएको जानकारी पनि दिए। यसैबीच प्रहरी प्रधान कार्यालयका प्रवक्ता सर्वेन्द्र खनालले चुनावको लागि प्रहरीले पर्याप्त सुरक्षा रणनीति अपनाएको बताए। प्रवक्ता खनालले प्रहरी टोलीहरू मतदान केन्द्रमा पुगिसकेका छन्।

चुनावी सुरक्षाका लागि सई र असईको कमान्डमा पाँचदेखि नौजनासम्मको सुरक्षा टोली मतदान केन्द्रमा परिचालन गरिएको उनले बताए। मतदान केन्द्रको शान्तिसुरक्षा व्यवस्थाको जिम्मा प्रहरीले लिएको छ। यसलाई चुनावी सुरक्षाको मुख्य तथा भित्री घेराको रूपमा लिइएको छ। मतदान सम्पन्न भएपछि मतपेटिकाको ओसारपसार तथा सुरक्षा जिम्मा सशस्त्र प्रहरी बलले लिने जनाइएको छ। त्यस्तै नेपाली सेनाले मतदान केन्द्रहरूको सुरक्षा निगरानी राख्ने भएको छ। चुनावी सुरक्षाको दोस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा सेना रहनेछन्।