देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुनाव प्रचार प्रसारको अन्तिम दिन आज, यस्तो छ शीर्ष नेताको व्यस्तता

देशान्तर

काठमाडौँ । पहिलो चरणको स्थानिय तहको निर्वाचन अन्तरगत आइतवार निर्वाचन हुने ३४ जिल्लामा विहिवार मध्यरातबाट चुनाव प्रचार प्रसार गर्न पाइदैन । चुनाव प्रचार प्रसारको अन्तिम दिन शीर्ष नेताहरु व्यस्त रहेका छन् ।

तीन जिल्लामा देउवाको व्यस्तता
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बिहीबारै देउवाले लमजुङको सुन्दरबजार नगरपालिका तथा काठमाडौंको असन र बूढानीलकण्ठमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तीन जिल्लाको चुनाव प्रचारमा भाग लिन देउवाले हेलिकोप्टर प्रयोग गर्दै छन् ।

एमाले अध्यक्ष ओली चितवनमा
एमाले अध्यक्ष केपी ओलीले पनि बिहीबार भरतपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर र पोखरा–लेखनाथ महानगरमा कांग्रेस र माओवादीबीच तालमेल भएपछि एमालेले यी दुवै महानगरलाई प्रतिष्ठाको विषय बनाएको छ । अध्यक्ष ओली पनि पछिल्लो समय सत्तारुढ दलहरूप्रति आक्रामक बन्दै गएका छन् । बुधबार मात्रै उनले काठमाडौंमा आयोजित कार्यक्रममा एमालेलाई मत नहाल्नुपर्ने कारणबारे सार्वजनिक बहसमा आउन सबैलाई चुनौती दिएका छन् ।

चितवन र काठमाडौंमा प्रचण्ड

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार कांग्रेस र माओवादीको संयुक्त आयोजनामा चितवनको भरतपुरमा हुने सभालाई सम्बोधन गर्दै छन् । भरतपुर महानगरबाट प्रचण्डपुत्री रेणु दाहाल मेयरको उम्मेदवार बनेकी छिन् । बिहीबारै उनी काठमाडौंका दुई चुनावी सभामा पनि सहभागी हुने कार्यक्रम छ । दिउँसो नागार्जुन र साँझ कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले बताए ।

रामचन्द्र पौडेल
नेता रामचन्द्र पौडेलले पनि बिहीबार लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकाका सभालाई सम्बोधन गर्दै छन् । केन्द्रीय सदस्य शेखर कोइराला पोखरामा र कल्याण गुरुङ चितवनमा खटिएका छन् ।

डा सशाँकको दुई ठाँउ भाषण
नेपाली कांग्रेसका महामन्त्री डा सशाँक कोइराला नवलपरासीमा रहेका छन् । उनले नवलपरासीको रजहर र गैडाकोटमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ।

माधव नेपाल
नेता माधव नेपालले उपत्यकाका कागेश्वरी, महालक्ष्मी र कीर्तिपुर नगरपालिकाका सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै झलनाथ खनालले काठमाडौंमा, वामदेव गौतमले पोखरा र ईश्वर पोखरेलले चितवनका सभालाई सम्बोधन गर्नेछन् ।

नारायणकाजी श्रेष्ठ
नेता नारायणकाजी श्रेष्ठ गृहजिल्ला गोरखामा खटिएका छन् । त्यस्तै, नेता बादल भरतपुर, देव गुरुङ पोखरा, पम्फा भुसाल ललितपुर र हितमान शाक्यले काठमाडौं महानगरपालिकाको निर्वाचनमा पार्टीको कमान्ड सम्हालेका छन् ।

भट्टराई र कमल थापा पनि व्यस्त
नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पाँच दिन गृहजिल्ला गोरखाका चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्केका छन् । बिहीबार उनले उपत्यकाका चुनावी सभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, स्थानीय चुनाव आफ्नो पक्षमा पार्न राप्रपा अध्यक्ष कमल थापा पनि जिल्ला दौडाहामा छन् । तीन दिनदेखि उनी गृहजिल्ला मकवानपुरमा खटिएका छन् । नयाँ पत्रिकामा समाचार छ ।