देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनतालाई अल्मल्याउन हुँदैन

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले चुनावपछि गठबन्धन गर्दा जनताहरू अल्मलिने भएकाले पहिला नै गठबन्धन गरेर चुनावको तयारीमा केन्द्रित भएको बताएका छन् । अहिलेको निर्वाचन प्रणालीअनुसार कसैले पनि स्पष्ट बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गरेर चुनावमा जानुपर्ने र पछि गठबन्धन गर्दा जो जता पनि लाग्ने भएकाले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेर चुनावमा केन्द्रित हुने बताए । नेपाली कांग्रेस सत्तारूढ गठबन्धनमा ठूलो दल रहेको र १०० सिटको दाबीमा रहेको बताउँदै जित्ने गरी सिट बाँड्नुपर्नेमा जोड पनि दिए । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँग कुरा गर्दै केन्द्रीय सदस्य राणाले स्थानीय तहको निर्वाचनको परिणामअनुसार सिटबाँडफाँट गर्नुपर्ने पनि बताए । नेपाली कांग्रेसभित्र अहिले गुट, उपगुट नभएको दाबी गर्दै सबै एक भएर आगामी निर्वाचनमा सहभागी हुने बताएका छन् । आम निर्वाचनमा आफूले विकासको एजेन्डाका साथ ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने पनि प्रष्ट पारे । उनै राणास“ग गरिएको कुराकानीको सम्पादित अंश :

चुनाव लाग्यो तपाईंहरूले कसरी तयारी गर्दै हुनुहुन्छ ?
चुनाव नजिकै आएको छ । नेपाली कांग्रेस गठबन्धन गरेर चुनावमा जान लागेको कुरा सबैलाई थाहा नै छ । अहिले सिट बाँडफाँटको कुराहरू भइरहेका छन् । शीर्ष नेताहरूका साथै सिट बाँडफाँटको कार्यदलमा पर्नु भएका नेताहरूले छलफल गरिरहनु भएको छ । त्यसका साथसाथै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सबै क्षेत्रहरूमा प्रतिनिधि खटाएर जनतासँग नेपाली कांग्रेस कसरी नजिक हुने अभियान पनि सञ्चालन गरेका छौं ।

गठबन्धनमा सिट संख्याको टुंगो नलाग्दा तपाईंहरूलाई अभियान सञ्चालन गर्न कति सजिलो भयो ?
सिट बाँडफाँट र अभियान दुई वटा फरकफरक कुरा हुन् । एउटा कुरा नटुंगिएर अर्को कुरा नगर्ने भन्ने हुँदैन । सिट बाँडफाँटका लागि गठबन्धनमा छलफल भइरहेको छ । यो अभियान हामीले जिल्लाजिल्लामा चलाउँछौं । यो अभियानमा उम्मेदवारहरूभन्दा पनि पार्टी संगठनलाई केन्द्रित गरेर यसलाई अघि बढाएको कार्यक्रम हो । सिट बाँडफाँट नटुंगिँदा केही हदसम्म असर त पर्छ । जिल्लाजिल्लामा केन्द्रीय प्रतिनिधिहरू जाँदाखेरी उहाँहरूको ध्यान आफ्नै क्षेत्रमा सिट आउँछ कि आउँदैन भनेर केन्द्रित हुनु स्वाभाविक पनि हो । पार्टीलाई सिट आए पनि मैले पाउँछु कि पाउँदिँन भन्ने कुराहरू स्वाभाविक नै हुन् । हामीले चुनाव जित्ने विभिन्न आधारहरूमध्ये एउटा आधार संगठन हो । हाम्रो संगठन २०४८ सालदेखि आजको दिनसम्म हेर्ने हो भने हाम्रो भोट ‘इन्ट्याक्ट’ छ । ‘स्विङ’ भोट बढाउनका लागि नेपाली कांग्रेसले विभिन्न प्रचारात्मक अभियान बढाउनु जरुरी छ, त्यसैका लागि हामीले अभियान सुरु पनि गरेका हौं । प्रचारका लागि संगठन पनि चलायमान हुनुपर्छ । विशेष गरेर हाम्रो जिल्लास्तरीय संगठन, क्षेत्र, प्रदेश, वडा र पालिकाको संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य हो ।

कार्यदलमा रहेका नेताहरूले आफ्नो आफ्नो अडानबाट पछि नहट्दा सिट बाँडफाँट नटुंगिएको भनेर बुझ्ने हो ?
स्वाभाविक रूपमा सबै दलले सबैभन्दा बढी सिट माग्नु यो नर्मल कुरा हो । तर हाम्रो नेपाली कांग्रेसको भनाइ के छ भने, जुन ठाउँहरूमा नेपाली कांग्रेसले जित्न सक्ने अवस्था छ त्यहाँ कांग्रेसलाई गरौं । जुन ठाउँमा अरू पार्टीको सम्भावना छ, त्यहाँ उनीहरूलाई सहयोग गरौं भन्ने हो । २०७४ सालको रिजल्ट पनि हामीले हेर्नु प¥यो । केही हदसम्म स्थानीय तहको वैशाख ३० गतेको निर्वाचनले झलक पनि दिएको छ । त्यसलाई पनि आधार मानौं भन्ने कांग्रेसको भनाइ । अरू पार्टीका नेता तथा साथीहरूले सवै कांग्रेसलाई दिएर मात्र हुँदैन, भनेर उहाँहरूले पनि सकेसम्म बढी लिन खोज्नु भएको छ । यो भनेको राजनीतिमा ‘बार्गेनिङ’ र ‘नेगोसेसन’को प्रक्रिया हो । सकेसम्म यसलाई छिटो टुंग्याउन पाए सहज हुन्छ ।

सबै ठाउँमा गठबन्धन कि, स्थानीय तहको जस्तो कतै कतै मित्रवत् प्रतिस्पर्धा ?
हामीले स्थानीय तहको निर्वाचनमा केही ठाउँमा गठबन्धन गरेका थियौं भने केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गरेका थियौं । अहिले पूरै ठाउँमा गठबन्धन गर्ने कि केही ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने भन्ने विषयमा स्पष्ट भइसकेको छैन । तर, अहिले नेताहरूको कुरा सुन्दा सबै क्षेत्र र सबै प्रदेशमा गठबन्धन गर्ने सोचाई नेतृत्व तहको छ भन्ने मैले बुझेको छु ।

स्थानीय तहको जस्तै मत पाइन्छ त गठबन्धन गर्दा ?
गठबन्धन गर्दा मत आउँछ भन्नेमा हामी ढुक्क छौं । हाम्रो पार्टी नेपाली कांग्रेसमा गठबन्धन गर्न हुँदैन भन्ने नेताहरू हुनुहुन्न । सबै केन्द्रीय कार्यसमितिबाट निर्णय भएको छ । गठबन्धन व्यावहारिक हुनुपर्छ भन्नु भएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा सबै पार्टीलाई फाइदै गरेको छ । त्यसैले स्थानीय तहको निर्वाचनको परिस्थितिबाट आजको दिनसम्म गठबन्धन भित्र त्यस्तो ठूलो परिवर्तन आएको हामीले देख्दैनौं । नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन कायमै रहन्छ ।

केही जिल्लाहरूमा यहाँ गठबन्धन हुँदैन भन्नु भएको छ, यसलाई कसरी बुझ्ने ?
धेरै जिल्लामा गठबन्धन गर्ने तर व्यावहारिक हुनुपर्छ भन्ने कुरा उठेको छ । मेरो जिल्ला ललितपुरमा पनि यही कुरा उठेको छ । २०७४ सालको चुनावमा नेपाली कांग्रेस ललितपुरमा पराजित भएको थियो । तर हालै भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस धेरै बलियो स्थितिमा रहेको छ । त्यसको आधारमा गठबन्धन गर्नुपर्छ भन्ने छ । सबै जिल्लामा आफ्नो आफ्नो व्यावहारिक समस्या छ, त्यसलाई हामीले सम्बोधन गर्नुपर्छ ।

जिल्ला जिल्लामा कुरा नमिल्दा कसरी समस्या समाधान गर्ने ?
अहिले नमिल्दासम्म, नेपाली कांग्रेस भनेको लोकतान्त्रिक पार्टी हो । कसरी नेतृत्व अगाडि बढ्नु पर्छ, भनेर सुझाव दिने हामी सबैको अधिकार हो । हामी एमालेजस्तो पार्टीको सदस्य होइनौं । जहाँ बोल्दा राजनीतिकरूपमा साइड लाख्ने प्रवृत्ति नेपाली कांग्रेसमा छैन । कांग्रेसमा हामी सबैले बोल्न पाउँछौं । सुझाव दिने हाम्रो अधिकार हो । त्यो अधिकार हामी केन्द्रीय समितिमा रहेकाहरूसँग मात्रै होइन । यो अधिकार जिल्ला र क्षेत्रीय कार्यसमितिमा पनि छ । अझ भन्ने हो भने क्रियाशील सदस्य लिएकाहरूले पनि आफ्ना कुराहरू राख्न पाउँछन् । आफ्नो जिल्ला, प्रदेश क्षेत्र हेरेर सुझाव दिने उहाँहरूको अधिकार हो । त्यो सुझावलाई मनन् गरेर अघि बढ्नु पर्छ । सबै ठाउँबाट विभिन्न सुझावहरू आएका छन् । कुनै ठाउँमा गठबन्धन गर्नुपर्छ भनिएको छ, कुनै ठाउँमा गठबन्धन गर्न हुँदै हुँदैन भनिएको छ । कुनै ठाउँमा गरे पनि अलि मिलाउनु पर्छ भनिएको छ । कुनै ठाउँमा गरे पनि यो क्षेत्र लिएर यो क्षेत्र छोड्नु पर्छ भनेको छ । यस्ता विभिन्न सुझावहरू आए पनि सबैको सुझाव समेट्न सक्ने परिस्थिति हुँदैन । तर सुझावलाई मनन् गरेर नेतृत्वले अन्तिम निर्णय लिनुपर्छ । त्यो अन्तिम निर्णय लिइसके पछि आफ्नो सुझावअनुसार निर्णय नभए पनि नेपाली कांग्रेसका साथीहरू इमान्दार भएर यसपालिको चुनावमा लाग्नुहुन्छ भन्ने मलाई विश्वास रहेको छ ।

गठबन्धन गर्दा नेपाली कांग्रेसले राख्ने संख्या कति ?
हामीले एक सय सिटको माग राखेका छौं । सबै हामीले भनेको एक सय त नहोला । हामीले प्रतिनिधिसभाको चुनावमा ९० सिटमा उम्मेदवार दिन पाउँछौं भन्ने लाग्छ ।

एमालेसँग डराएर गठबन्धन हो ?

गठबन्धन किन भन्ने प्रश्न पुरानो भइसक्यो । यो कुरा सवैले बुझी नै सक्नु भएको छ । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा परिणाम नआए पछि हामी विपक्षमा बसेका थियौं । केपी ओलीले जुन किसिमको गतिविधि हिटलर शैलीमा विपक्षीहरूलाई गर्नुभयो, आफ्नै पार्टीका नेताहरूलाई पेल्ने, कर्मचारीलाई ग्रिपमा राख्न खोज्ने र नेपाली सेनालाई पनि चलाउन खोज्नुभयो र एक किसिमले बहुदलीय व्यवस्था र नयाँ संविधानलाई खिल्ली उडाउने हिसाबले उहाँ अघि बढ्नु भयो र कोभिडको महामारीमा जनताप्रति उत्तरदायी नदेखिसके पछि नेकपाभित्र फुट भइसकेपछि वैकल्पिक अवस्थामा नेपाली कांग्रेस अघि आउनु परेको हो । अहिले हामीले पुरानो इतिहासबाट पाठ के सिक्नुपर्छ भने केपी ओलीको नेतृत्वमा नेपाल फेरि अघि गयो भने हामीले धेरै दुःख गरेर ल्याएको संविधान र अरू लोकतान्त्रिक मूल्य मान्यताहरूमा असर पर्न सक्ने भएको कारणले हामीहरू गठबन्धनमा आएको हो । र गठबन्धनका साथीहरू पनि अहिले केपी ओलीसँग फेरि एकै ठाउँमा बसेर ‘सबै वाम एक ठाउँ’ भन्ने मेन्टालिटीबाट धेरै टाढा गइसके पछि गठबन्धन बनेको हो । अहिले हाम्रो जुन संविधान छ, ‘हाम्रो पार्लामेन्ट्री डेमोक्रेसी’ भित्र पनि हाम्रो ४० प्रतिशत सिट पनि समानुपातिक प्रतिनिधित्वको हुन्छ । समानुपातिक प्रतिनिधित्व भइसकेपछि कुनै पनि एउटा पार्टीले बहुमत ल्याउन सक्दैन । एक्लै बहुमत ल्याउन नसकेपछि उसले मिलिजुली सरकार बनाउनु पर्छ ।

मिलीजुली सरकारका लागि त चुनावपछि गठबन्धन गरेको भए हुँदैन्थ्यो ?
त्यस्तो गरेको भए पनि हुन्थ्यो । तर त्यस्तो गर्नु भनेको जनतालाई अल्मल्याएको हो । जनतालाई अब हामीले अल्मल्याउन हुँदैन । चुनाव पछि गठबन्धन गरियो भने जो जहाँ पनि जान सक्छन् । तर चुनाव अगाडि नै गठबन्धन गरियो भने नेपाली जनताहरू पनि क्लियर हुन्छन् । यो गठबन्धन, यो पार्टीले जित्यो भने कुन चाहिँ गठबन्धनलाई भोट दिइयो भन्ने देखिन्छ । गठबन्धनले बहुमत ल्याएर सरकार बनाई सकेपछि कसरी अगाडि बढ्छ, भन्ने कुराको सन्देश पनि नेपाली जनतालाई दिन जरुरी छ ।

गठबन्धनले जित्दा स्थिर सरकार बन्छ त ?
हामी स्थिर सरकारको पक्षमा छौं । यसको निम्ति पाँच पार्टीका नेतृत्व बसेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्छ । सरकार बनाइसके पछि कसरी सरकारले काम गर्ने भन्ने कुरा प्रष्ट पार्नुपर्छ । यो हामीले नेपाली जनतामाझ लिखितरूपमा प्रस्तुत गर्छौं । हामी जनतालाई ढाँट्न चाहँदैनौं । गठबन्धन भन्ने चिज नै गाह्रो कुरा हो । यो अभ्यास हाम्रो पार्टीभित्र पहिलो पटक भएको हो । त्यसैले विभिद कुराहरूलाई प्रष्ट पार्नका लागि न्यूनतम साझा कार्यक्रम चुनाव अघि सार्वजनिक गरेर जानु पर्छ ।

बाहिरभन्दा कांग्रेसभित्रकै गठबन्धन पनि बलियो कसरी बनाउने ?

नेपाली कांग्रेसभित्र गुट, उपगुट छन् । यस्तो अवस्था अरू पार्टीमा पनि छ । यो नयाँ कुरा होइन । मल्टिपार्टी सिस्टममा गुट, उपगुट स्वाभाविक हुन् । जुन किसिमको गुट, उपगुट नेपाली कांग्रेसमा पहिला थियो, तर अहिले नेपाली कांग्रेस गुट उपगुटभन्दा माथि गइसकेको छ । अहिले समस्या छ जस्तो लाग्दैन । हाम्रो पदाधिकारीहरूमा पनि विभिन्न साथीहरू एडजस्ट हुनुभएको छ । गुट, उपगुटमा रहेका साथीहरू पनि चुनाव जितेर जानु भएको छ । पार्टीभित्र अनुभवी र युवा नेताहरू सबैले आआफ्नो जिम्मेवारी पाउनु भएको छ । स्थानीय तहको निर्वाचनका बेला नेपाली कांग्रेस एउटै स्वरमा फिल्डमा उत्रिएको थियो । मलाई विश्वास छ, सिट बाँडफाँट भइसकेपछि समस्या समाधान हुन्छ । सिट बाँडफाँटमा स्वाभाविकरूपमा आफ्नो मान्छेहरूका लागि बढी सिट लिने प्रयास हुन्छ । सिट बाँडफाँट गर्दा खेरि गुटभन्दा पनि कुन व्यक्तिलाई टिकट दिँदा चुनाव जित्न सक्छ त्यो आधारमा काम हुन्छ भन्नेमा म विश्वस्त छु ।

उदयजी, मंसिर ४ को चुनावमा तपाईंको तयारी के हो ?
म मंसिर ४ गतेको आम निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट संघीय संसद्तर्फ प्रत्यक्षमा उम्मेदवार बन्ने चाहना राखेको छु । मेरो नाम सबै ठाउँबाट १ नम्बरमै सिफारिस पनि भएको छ । ललितपुर क्षेत्र नम्बर १ क्षेत्र नेपाली कांग्रेसको भागमा पर्ने सम्भावना अत्यधिक रहेको छ । गठबन्धन गर्दा अरू पार्टीले पनि मलाई विश्वास गरेर टिकट दिनुभयो भने म चुनावमा उम्मेदवार बन्छु ।

२०७४ मा पनि त उम्मेदवार बन्नु भएको थियो, किन फेरि तपाईंलाई मतदाताले मत दिने ?
धेरै मतदाताले के हेरेका छन् भने २०७० सालपछि जुन किसिमको विकास भयो र २०७४ सालपछि विशेष गरेर बाटोलगायत र कोभिडको महामारीका बेला लकडाउन हुँदा उहाँहरूको भूमिका के थियो र हाम्रो भूमिका के थियो भन्ने कुरामा प्रष्ट छन् । नेपाली कांग्रेसका उम्मेदवारले चुनाव हारे पनि हामीले जितेका भन्दा बढी हामीले फिल्डमा उत्रिएर काम गरेका छौं । हामी पनि ज्यानलाई बाजी राखेर राहत वितरण लगायतका कामहरू गरेका थियौं । अहिले हाम्रो क्षेत्रमा २०७४ पछि आफैं ठूलो योजना नै परेको छैन । हाम्रो पालोमा बजेट आयो भन्ने मात्रै होइन, विभिन्न योजनाहरू बाटो पिच लगायतका कुराहरू धेरै थिए, हेटौंडा जोड्ने कान्ति लोकपथको आयोजनालाई कायम राखेका थियौं, भूकम्पको समयमा पनि हामीले जनतासँग नजिकै बसेर काम गरेका थियौं, त्यो आधारमा पनि यहाँका मतदाताले कसरी मत गर्नुहुन्छ त्यो मलाई थाहा छैन, तर २०७० को मेरो कार्यकाल र २०७४ को अहिले एमालेबाट जितेका सांसदको कार्यकाल र त्योभन्दा पहिला पनि यो क्षेत्रमा जहिले पनि जित्दै आएको हो, त्यसले गर्दा एमालेले जित्दा के ग¥यो भन्ने प्रश्न मतदाताको मनमा छ र त्यसैका आधारमा उहाँहरूले अहिले नेपाली कांग्रेसलाई जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।

तपाईंका अबका चुनावी एजेन्डा के हुन् ?
विशेष गरेर हाम्रो भनेको विकासको एजेन्डा हो । ललितपुर क्षेत्र उपत्यकाभित्र परेर पनि यहाँको ‘कर्णाली’ हो । हाम्रो मुख्य प्राथमिकता भनेको बाटो, बाटो मात्र होइन कि राम्रो बाटो चाहिएको छ । गोदावरी जाने बाटो, चापागाउँ जाने बाटो, यो बन्नको निम्ति पनि लगभग ४ वर्ष लाग्यो । अझैं राम्रो बनिसक्या छैन । कुनै ठाउँमा बाटो फराकिलो बनिसक्यो, कुनै ठाउँमा बन्न बाँकी छ । लेलेतर्फको बाटो १५ वर्षअघि पिच भएको थियो, अहिलेसम्म मेन्टिनेन्सका लागि एक पैसा पनि परेको छैन । मेरो पालोमा बनेका बाटोका पिचहरू उप्किन लागिसके । ती बाटोहरूलाई पनि व्यवस्थित गर्नु पर्नेछ । साथसाथै उपत्यकाभित्र धेरै साना सहायक बाटाहरू पनि छन्, ती सहायक बाटाहरूलाई पनि व्यवस्थित गरेर पिच गर्ने योजना छ । ललितपुर १ नम्बर क्षेत्र रिङरोडभन्दा बाहिर पनि धेरै परेको छ । गोदावरीजस्तो सुन्दर ठाउँ पनि त्यहाँ छ, यसको साथै उपत्यकाका बूढानीलकण्ठ, नगरकोटमा जसरी पर्यटनका लागि पूर्वाधारहरू बनाएका छन् । तर गोदावरीमा त्यस्ता पूर्वाधारहरू बनेका छैनन् । त्यसैले हामीले पर्यटनलाई पनि प्राथमिकता दिने छौं । त्यहाँबाट कृषि उपजहरू आउने गर्छ त्यसलाई पनि व्यवस्थित गर्नु पर्नेछ । मेरो मूल अजेन्डा भनेको विकास हो । विकास भनेको बाटो हो । बाटो बनिसके पनि रोजगारीको अवसर पनि बढ्छ भन्ने हामीले बुझेको छौं, देखेको छौं, त्यसैले त्यतातर्फ हाम्रो ध्यान केन्द्रित भएको छ ।