देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद बैठक अब चुनावपछि, महाभियोग संसदको विषेशाधिकार हो : सभामुख

देशान्तर

काठमाडौं । सभामुख ओनसरी घर्तीले आजका लागि बोलाएको संसद् बैठक आगामी जेठ चार गतेसम्मका लागि स्थगित गरेकी छिन्।प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्तावमा छलफल गर्ने कार्यसूची रहे पनि सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिले राज्यका निकायहरुबीच नै द्वन्द्व हुनसक्ने भन्दै सभामुख घर्तीले पहिलो चरणको चुनावभन्दा पछिसम्मका लागि बैठक स्थगित गरेकी हुन्।

संसद स्थागित गरेपछि पत्रकारहरुसंग कुरा गर्दै उनले संसद्मा प्रवेश गरिसकेका प्रस्तावहरु कसरी अघि बढाउने भन्ने विषय संसद्को आन्तरिक मामिला र विशेषाधिकार भएको पनि जिकिर गरिन् ।

उनले नेपालको संविधानले शक्ति पृथकीकरण अन्तर्गत कार्यपालिका न्यायपालिका र व्यवस्थापिका काम कारवाहीका सन्दर्भमा प्रस्ट व्यवस्था गरेको भन्दै संविधानले गरेको व्यवस्था अनुसार राज्यका तीनवटै निकाय आफ्नो संवैधानिक दायरामा रहनुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारिन् ।

उनले राज्यका अंगहरुबीच टकरावको अवस्था भएमा उपलब्धिहरु गुम्ने खतरा हुने भन्दै राज्यका अंगका पदाधिकारीकलाई आफ्नो भूमिकाबारे गम्भीर आत्म समीक्षा गर्न आग्रह गरिन्। सभामुख घर्तीले भनिन्–‘राज्यका अंगहरुबीच टकराव हुँदा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट स्थापित लोकतान्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई समेत प्रतिकूल असर गर्दछ ।’

उनले राज्यका निकायका पदाधिकारीहरुले आ–आफ्नो भूमिकालाई आत्मसमीक्षा गर्दै धैर्य एवम् संयमतापूर्वक समाधान निकाल्न आवश्यक भएको बताइन् । उनले संयमता राख्न र आत्म समीक्षा र संवादका माध्यमबाट समाधान निकाल्ने प्रयोजनका लागि संसद् बैठक स्थगित गरेको जनाइन्। राज्यप्रतिको यो जिम्मेवारीलाई आत्मसात गर्दै आपसी वार्ता, संवाद र छलफलको माध्यमबाट समस्या समाधान गर्न सजिलोका तोकिएको संसद् बैठक जेठ चार गतेसम्मका लागि स्थगित सभामुख घर्तीले जनाकारी दिइन् ।