देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अहिले जस्तो पार्टी एक कहिल्यै थिएन

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य  दिनेश कोइरालाले पार्टीमा अहिले कुनै पनि गुटबन्दी नभएको दावी गरेका छन् । मंसिर ४ गते हुने आम निर्वाचनका लागि पार्टी केन्द्रीत रहेको बताउँदै सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सवैलाई न्याय गरेर अघि बढेमा कांग्रेस पार्टी र मुलुक दुवैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । सिट बाँडफाँडमा सबै दलले आफ्नो हैसियत अनुसार संख्या पाउने बताउँदै गठबन्ध अहिलेको आवश्यकता रहेको पनि बताए । अहिले पनि गठबन्धको विषयमा प्रष्ट रहेको बताउँदै पार्टीले निर्णय गरेपछि भने सबैले मान्नु पर्ने बाध्यता रहेको पनि स्वीकार गरे । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले केन्द्रीय सदस्य कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेस चुनावको तयारीमा हो ?
सरकारले मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको छ । सोही मितिअनुसार पनि निर्वाचन आयोगले आफ्नो तयारी सुरु गरिसकेको अवस्थामा नेपाली कांग्रेससहित सबै राजनीतिक दलहरू अहिले चुनावी तयारीमा केन्द्रित भएका छन् ।

कसरी तयारी गर्दै हुनुहुन्छ ?
नेपाली कांग्रेसको अहिले दुई वटा जिम्मेवारी रहेको छ । नेपाली कांग्रेस सत्तामा भएको कारणले पनि अलि बढी जिम्मेवारी पनि रहेको छ । सरकारको नेतृत्व गरेकाले यो निर्वाचनलाई स्वच्छ निष्पक्ष र सफल निर्वाचन गराउन र अर्को भनेको दललाई अघि लगेर उपयोगी परिणाम लिएर आउन पनि पर्नेछ । त्यही दुई वटा जिम्मेवारी पूरा गर्दै नेपाली कांग्रेस अगाडि बढेको छ ।

नतिजा आफ्नो पक्षमा पार्नका लागि त होला नि गठबन्धन ?
गठबन्धन एउटा माध्यम मात्रै हो । नेपाली कांग्रेस जिम्मेवार पार्टीको हैसियतले  सबै दलहरूलाई मिलाएर लैजानका लागि गठबन्धन हो । गठबन्धन गरेर जाने विषयमा दलहरूले सहमति गरिसकेका छन् । शुक्रबार मात्रै बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले आसन्न निर्वाचनमा पनि गठबन्धन गरेर चुनावमा जाने निर्णय गरिसकेकाले यो विषयमा अब त्यतिधेरै बोलिरहनु पर्छ जस्तो लाग्दैन । नेपाली कांग्रेस एक्लैको लागि सोच्ने हो भने एक्लै पनि काफी छ । तर नेपाली कांग्रेसले देश र जनतालाई निकास दिनका लागि गठबन्धन भनेको हो ।

गठबन्धनमा जाने निर्णय गरे पनि अवस्था सहज छ त ?

नेपाली कांग्रेस जिम्मेवार पार्टी हो । सबैलाई मिलाएर लैजाने सामर्थ्य  नेपाली कांग्रेसले राख्छ । अरु दलहरूको पनि भावना बुझेर नै अघि बढ्ने निर्णय गरेको हो । हाम्रो निर्वाचन प्रणालीअनुसार कसैले पनि बहुमत ल्याउने अवस्था छैन । त्यसले गर्दा पनि हामीले गठबन्धन गरेर स्थिर सरकार दिएर जनताको पक्षमा काम गर्नु पर्नेछ । त्यसैले अरू दलहरूले पनि यही कुरा बुझेर मिलेर जान प्रस्ताव गरेकाले कांग्रेसले गठबन्धन गरेर चुनावमा जाने निर्णय पनि गरेको हो ।
गठबन्धन हाम्रो मात्रै प्रेसरभन्दा पनि सबैलाई मिलाएर लैजाऔं भन्ने उद्देश्यले गरेको हो ।

गठबन्धनमा सिट बाँडफाँट कसरी गर्ने ?
गठबन्धनमा जाने निर्णय भइसकेको छ । अब सिट बाँडफाँटको कुरा चल्दै छ ।  गठबन्धनमा रहने दलका शीर्ष नेताहरूले छलफल गरिरहनु भएको छ । सिट बाँडफाँटको कुरा मिल्छ । यसमा त्यति धेरै समस्या हुँदैन । समस्या आइहाले पनि सबै कुरा छलफल गर्दै सहमति गर्दै अघि बढ्नु पर्छ ।

गठबन्धनको निरन्तरताका लागि स्थानीय तहको निर्वाचनको नतिजाले उत्साहित हुनु भएको हो ?
यो विषयमा आआफ्ना व्यक्तिगत विचारहरू छन् । निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन । गठबन्धनको निरन्तरताका विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पनि व्यापक छलफल भयो । विकास र स्थायित्वका लागि पनि गठबन्धनको आवश्यकता छ । तर, गठबन्धन कहिले गर्ने भन्ने बिषयमा पार्टीभित्र पनि ठूलो बहस भयो । व्यक्तिगतरूपमा हामीले पनि आफ्नो राय राखेका थियौं । निर्वाचन अघि वा निर्वाचन पछि गठबन्धन गर्ने भन्ने विषयमा हामीले छलफल गरेका थियौं । छलफलमा दुवै स्वरहरू आएका थिए । हामीले निर्वाचनपछि गठबन्धन गरौं भनेर धारणा राखेका थियौं । तर केन्द्रीय समितिमा अधिकांश साथीहरूको धारणा निर्वाचन अघि नै गठबन्धन गर्नुपर्छ भन्ने आएपछि कांग्रेसले पनि गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेको हो ।

निर्वाचन अघि वा पछि गठबन्धन गर्दा के हुन्थ्यो ?
हामीले निर्वाचनमा जाँदै गर्दा आफ्नो एजेन्डा लिएर जाउँ पार्टीको स्ट्रेन्थ पनि देखिन्छ भनेका हौं । यसरी सिंगल जाँदा नेपाली कांग्रेसका अवस्था र हैसियत के छ भन्ने प्रष्ट हुन्छ भन्नेमा थियौं । निर्वाचन भनेको विद्यार्थीले वर्षदिन पढेर परीक्षा दिए जस्तै हो राजनीतिक दलका लागि । नतिजा जे आउँछ त्यसमा विद्यार्थीले चित्त बुझाए जसरी राजनीतिक दलहरूले पनि स्वीकार गर्नुपर्छ । त्यसैले दलहरूको आफ्नो पाँचवर्षे कार्यकालमा कस्ता काम गरेका छन् त्यसका आधारमा जनताले मूल्यांकन गर्छन् र उनीहरूको हैसियत पनि देखाउँछन् । तर अरू साथीहरूले भने गठबन्धन दलको नेतृत्व गर्दै सरकारमा रहेका छन्, उहाँहरू पनि गठबन्धन गरेर चुनावमा जाने इच्छा गरिरहनु भएको छ, उहाँहरूलाई पनि मिलाएर लैजाँदा बहुमत आउँछ भन्नुभयो र त्यसैअनुसार हामी अघि बढ्न सहमत भयौं ।
व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने गठबन्धनभन्दा पनि हामीले एक्लाएक्लै चुनावमा जाँदा राम्रो हुन्छ । तर पार्टीले निर्णय गरिसकेपछि हामीले पार्टीको निर्णय मान्नुपर्छ । मानेर नै अघि बढ्छौं । यदि पार्टीको निर्णय नमान्ने हो भने त कि त पार्टी नै छोडेर जानु पर्‍यो ।

स्थानीय तहको निर्वाचनको बेला तपाईंहरू गठबन्धनको विरोधमै हुनुहुन्थ्यो, तर अहिले स्वर अलि कमजोर भएको हो ? 
स्वर कमजोर भएको होइन । हामी लोकतन्त्रमा विश्वास गर्छौं र बहुदलीय व्यवस्था स्वीकार गरेर अघि बढेका छौं । लोकतन्त्रमा पार्टीमा आफ्ना व्यक्तिगत धारणाहरू राख्छौं । त्यहीअनुसार हामीले केन्द्रीय कार्यसमितिमा धारणा रोखका थियौं । अहिले पनि मेरो व्यक्तिगत धारणा छ । तर पनि पार्टीमा भएकाले र बहुमतले गरेको निर्णय कदर गर्नुपर्ने भएकाले हामी पार्टीको निर्णय मान्न बाध्य भएका छौं ।

त्यो भनेको केन्द्रीय कार्यसमितिमा तपाईंहरूको संख्याले गर्दा पनि होला ?
लोकतन्त्रमा आस्था राख्ने पार्टी भएकाले निर्णयहरू अल्पमत बहुमतका कुराहरू भइहाल्छन् । विचार व्यक्तिका भए पनि निर्णय भनेको त पार्टीको हुन्छ । पार्टीले निर्णय भइसकेपछि सबैले मान्नुपर्छ ।

चुनावमा जाँदै गर्दा नेपाली कांग्रेसका भ्रातृ संस्थाहरू लथालिंग छन्, केन्द्रीय कार्यसमितिले पनि पूर्णता पाएको छैन ?
भ्रातृ संस्थाहरू लथालिंग भएको, केन्द्रीय कार्यसमितिले पूर्णता नपाएको विषय केन्द्रीय कार्यसमितिको बैठकमा पनि उठको थियो । कमी, कमजोरीहरू भएकै छन् । साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको पनि नेतृत्व गरेकाले सरकारका कामले गर्दा पार्टीका कामहरूमा केही ढिलासुस्ती भएको रूपमा पनि बुझ्नुपर्छ भनेर नेतृत्वले पनि भनेको छ । केन्द्रीय कार्यसमितिको बैठकमा व्यापक छलफल भएकाले साउन मसान्तभित्र भ्रातृ संस्थाहरूलाई पूर्णता दिने विभागहरू बनाउने, पदाधिकारी चयन गरिसक्ने भनेर निर्णय पनि गरिसकेका छौं ।

नेपाली कांग्रेस अहिले एक ढिक्का छ त ?
विगत १०–१५ वर्षको नजिरलाई हेर्नुहुन्छ भने अहिलेको जस्तो गुट, उपगुट कम भएको कहिल्यै थिएन । अहिले कुनै पनि निर्णय अल्पमत बहुमतले भएको छैन, नोट अफ डिसेन्ट लेखिएको छैन । विगतमा धेरै नै लफडा हुने गरेकोमा यस पटक कही लफडा पनि छैन । लोकतान्त्रिक पार्टीमा आफ्ना विचारहरू हुनु र विचारहरू मिल्नेबीच छलफल हुनु स्वाभाविक हो, त्यसलाई अन्यथा लिन हुँदैन । पहिला गुट, उपगुटको विकृति हुन्थ्यो, अहिले त्यस्तो अवस्था छैन ।
तर, केन्द्रीय समितिको बैठकमा गुट, उपगुटको छनक त देखिएको थियो ?
त्यो त स्वाभाविक हो । केन्द्रीय समितिको बैठकमा व्यक्तिको आआफ्नो धारणा हुन्छ । बाबु, छोरा, श्रीमान् श्रीमतीबीचमा त अलगअलग सोचाइ र धारणा हुन्छ भने सिंगो केन्द्रीय समितिभित्र आआफ्नो धारणा राख्नु स्वाभाविक हो ।

अर्को पक्षले तपाईंहरूलाई भाग खोजेको आरोप लगाउँछ ?
भाग खोज्नुभन्दा पनि पार्टीभित्र न्यायिक निर्णय गर्नु हो । सबैलाई समान व्यवहार गर्नु हो । भागकै कुरा गर्ने हो भने त नेपाली कांग्रेसमा विगत १०–१५ वर्षदेखि संस्थागतरूपमा ४० प्रतिशतको भागबन्डा थियो । अहिले नेपाली कांग्रेसको नेता डा. शेखर कोइरालाले महानता देखाएर भागबन्डाको अन्त्य गर्नुभयो । भागबन्डा अन्त्य गरौं भनेर दिने पक्षले गरौं भन्दा लिने पक्षले मागिरहेको थियो । तर अहिले डा. शेखरले लिने ठाउँमा भएर पनि उहाँले भागबन्डा अन्त्य गर्नका लागि भूमिका खेल्नुभयो । शेखरले म भागबन्डाअनुसार लिँदैन तर सभापतिले सबैलाई मिलाएर सबैको सभापति बन्नुपर्छ भनेर शेरबहादुर देउवालाई भन्नुभयो । यो नै उहाँको महानता हो । हामीले केन्द्रीय कार्यसमितिको बैठकमा यति प्रतिशत चाहियो भनेर भनेका पनि छैनौं । त्यहाँ भागबन्डा होइन सबैलाई न्यायोचित भूमिका दिनुस् भनेका छौं ।

कांग्रेसको नेतृत्वमा सरकार छ, राम्रो काम गरिरहेको छ त ?

यो सरकार रहरभन्दा पनि बाध्यताले बनेको हो । २०७४ सालको निर्वाचनमा त नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस भनेर जनताले म्यान्डेट दिएका हुन् । तर, कम्युनिस्टहरूले सरकारको नेतृत्व गरे पनि चलाउन नसकेर संविधानमाथि पटकपटक आक्रमण गरेपछि नेपाली कांग्रेस गठबन्धनको सरकारको नेतृत्व गर्दै यहाँ आएको हो । शेरबहादुर देउवा चाहनाविपरीत नै प्रधानमन्त्री बन्नु भएको हो । बाध्यताका बीचमा यो सरकार बनेकाले यसका चुनौतीहरू पनि छन् । जसरी सरकार अघि बढ्नुपर्ने थियो त्यसरी बढ्न पनि सकेको छैन । तर पनि अरू सरकारभन्दा यो सरकारले गरेका कामबाट सन्तोष लिने ठाउँ भने छ ।

अहिले कांग्रेसको सरकार भए पनि भ्रष्टाचार नियन्त्रण गर्न सकेन किन ?
अहिले दल र जनता अलगअलग छन् । अहिले भ्रष्टाचार एकदमै धेरै मौलाएको छ । त्यसैले मैले केन्द्रीय कार्यसमितिमा यी विषयहरूलाई समेटेर १३ बुँदे प्रस्ताव गरेको थिए । त्यहाँ मैले अहिलेसम्म लाभको पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्नुपर्छ भनेको छु । आवश्यक परे हामी केन्द्रीय सदस्य पनि छानबिन गर्न सकिन्छ । सबैको सम्पत्ति छानबिन गरेर आएको अकुत सम्पत्तिलाई राष्ट्रले राष्ट्रियकरण गर्नुपर्छ । गरिब र विपन्न जनताहरूको स्वास्थ्य र शिक्षामा खर्च गर्नुपर्छ । यो कुरा म जनतालाई आह्वान पनि गर्न चाहन्छु । दलहरूलाई गाली मात्रै गरेर टीकाटिप्पणी मात्रै गरेर हुँदैन, जसले भ्रष्टाचार गरेको छ उसलाई आंैला ठड्याउने र भ्रष्टाचार अन्त्यका लागि जनता नै जाग्न जरुरी छ ।

धर्म निरपेक्षताको कुरा पनि उठाउनु भएको छ, आवश्यक थियो ?
एकदमै आवश्यक थियो । जतिबेला संविधान बन्यो त्यसपछि हरेक महासमितिको बैठकमा पनि धर्मनिरपेक्षताको कुरा उठेको छ । धर्मको कुरा हामीले छुनै हुँदैनथ्यो । धर्मलाई हामीले छोयौं, अझ नेपाल हिन्दू राष्ट्र थियो । त्यो हुँदा कुनै पनि जाति समूह कसैलाई पनि समस्या थिएन । नेपाली कांग्रेसको एउटा आदर्श भनेको धार्मिक स्वतन्त्रता हो । धर्म स्वतन्त्र हुनुपर्छ । त्यो भनेको जो जसले जुन धर्म मानिआएको छ, त्यसको संरक्षण संवद्र्धन गर्ने उसको अधिकार छ । धर्मनिरपेक्ष भनेर जसरी संविधानमा व्याख्या गरिएको छ, त्यतिबेला मुलुकमा वामपन्थीहरूको बाहुल्य रहेको थियो त्यसले पनि यस्तो भएको हो । अहिले पनि कुनै समस्या परेको अवस्थामा धर्मको कुरा आउँछ । पञ्चायत होस् या २०४६ सालको आन्दोलन होस् वा कुनै पनि अपराधीहरू पशुपतिनाथ वा गुम्बा, मठ, मन्दिरभित्र प्रवेश गरेमा ऊ सुरक्षित हुन्थ्यो ।  कुनै समस्या पर्दा अहिले पनि हामीले भगवान्को पुकार गर्छौं, हामी त आस्थिक मान्छे हौं । त्यस्तो ठाउँमा धर्मनिरपेक्ष भन्नु भनेको नास्तिक हो । धेरै वर्ष अगाडि धर्मले यातना दिन्थ्यो, धर्मले कर उठाउने गथ्र्यो, धर्मले जनतालाई सजाय दिन्थ्यो, धर्मगुरुहरूले राज्य सञ्चालन गर्थे र धर्मबाट जनता आजित भएकाले ती देशहरूले धर्मलाई निरपेक्ष बनाएका देशहरूले ल्याएको नारालाई यति पवित्र देश र धर्मप्रति आस्थावान्को संख्या धेरै भएको ठाउँमा धर्मनिरपेक्ष गर्नु राम्रो कुरा होइन । त्यसैले धर्मनिरपेक्षता गलत छ धार्मिक स्वतन्त्रता कायम गर्नुपर्छ ।

संघीयताप्रति पनि त जनता निराश छन् ?
जसरी हाम्रो संघीयता चलिरहेको छ, प्रदेश जुन उद्देश्यले ल्याइएको थियो त्यो उद्देश्यअनुसार चलेको जस्तो लाग्दैन । प्रदेश अहिले केन्द्रको भ्रातृ तथा भगिनी संस्थाको रूपमा चलेको छ । यही अवस्थामा संघीयता चलाउने हो भने प्रदेशको आवश्यकता छैन । त्यसैले केन्द्रीय संघीयता र अधिकार सम्पन्न स्थानीय तहको व्यवस्था भएमा प्रदेश संरचनाको काम छैन । अर्बाैं खर्च बढ्नुबाहेक प्रदेशको कुनै उपादेयता देखिएन ।

अहिलेको चुनावमा स्वतन्त्रको उपस्थिति कस्तो रहला ?
व्यक्तिगत रूपमा भन्नुहुन्छ भने संघ र प्रदेशको निर्वाचनमा स्वतन्त्रहरू हस्तक्षेपकारी भूमिका आउँछन् भन्ने त लाग्दैन । तर यसलाई मैले दुईवटा पक्षबाट हेर्ने गरेको छु, अहिले काठमाडौं, धरानलगायतका केही ठाउँमा स्वतन्त्र उम्मेदवारले जित्नु भएको छ, त्यसले के सन्देश दिन्छ भने दलहरूप्रति आशा विश्वास र भरोस टुटेको छ । झन्डै ७० वर्षभन्दा माथि इतिहास भएका राजनीतिक दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले जित्ने कुरालाई चानचुने रूपमा हेर्नु हुँदैन । दलहरूले यसलाई गम्भीर रूपमा हेर्नुपर्छ । तर अर्को कुरा केही स्वतन्त्रले जित्दैमा अहिले स्वतन्त्र चुनाव लड्ने भनेर घोषणा गर्ने चलन पनि बढेको छ । जसले राम्रो खेल्छ ऊ पनि उम्मेदवार, जो राम्रो सञ्चारकर्मी छ ऊ पनि उम्मेदवार बन्ने लहड पनि छ । यसले पनि मुलुकलाई निकास दिन्छ जस्तो लाग्दैन । सबैले राजीति गर्नुपर्छ भन्ने जरुरी छैन तर राजनीतिप्रति सबै सचेत भने हुनुपर्छ । हामी जुन ठाउँमा छौं त्यही ठाउँबाट खबरदारी गर्ने हो ।