देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीमा मतदाता नामावली संकलन रोकियो

देशान्तर

काठमाडाैं – बैतडीमा निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलन स्थगित गरिएको छ । सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै यहाँ नामावली संकलन कार्य स्थगित गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली संकलन स्थगित गरिएको कार्यालयका प्रमुख माधव फुयालले बताए ।

मतदाता नामावली संकलनको पछिल्लो तथ्यांक अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ । उनले भने, ‘संकलित नामावली रुजु गर्ने काम भइरहेको छ, रुजु सम्पन्नपछि आयोगमा पठाउछौँ, त्यसपछि मतदाताको एकिन सङ्ख्या आउँछ ।’

स्थानीय निर्वाचनपछि गत असार १ गतदेखि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा नामावली संकलनको काम नियमित रुपमा भइरहेको थियो ।

बैतडीका हालसम्म एक लाख ५१ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । स्थानीय निर्वाचनमा एक लाख ४८ हजार ६०६ मतदाता रहेकामा त्यसपछि थप तीन हजार बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशी जानकारी दिए ।

सोह्र वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले फोटोसहित मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । मताधिकारका लागि भने फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताका साथै १८ वर्ष पूरा भएको हुनुपर्दछ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै यहाँ पनि निर्वाचन कार्यालयले आन्तरिक तयारी थालेको जनाइएको छ । आयोगले कार्यातालिका सार्वजनिक गरेपछि त्यसैअनुसार जिल्लामा पनि थप काम थालिने निर्वाचन कार्यालयले जनाएको छ ।