देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अपहरणमा परेका कांग्रेसका उम्मेदवार पुन सकुशल रिहा

देशान्तर

बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उम्मेदवार राति सकुशल रिहाइ भएका छन् ।

भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापतिसमेत रहेका जसबहादुर पुनलाई अज्ञात व्यक्तिले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए ।

चारवटै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर खोजी सुरु गरेपछि अपहरणकारीले बरञ्जामा पुनलाई छोडेर भागेपछि राति १० बजे सकुशल बेनी ल्याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । “शङ्कास्पद ठाउँका चारवटै नाकामा सुरक्षाकर्मी परिचालन गरेपछि छोडेर गएका थिए”, प्रजिअ पौडेलले भने, “संलग्न व्यक्तिको खोजी जारी छ ।”

नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै चुनाव प्रभावित गर्ने र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नबाट वञ्चित गराउने नियतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको जनाएका थिए ।

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पुनलाई वडाध्यक्षको उम्मेदवार चयन गरेको थियो । चढेर आएको गाडी बिग्रिएपछि हिँडेर बेनी आउँदै गर्दा पुन अपहरणमा परेका थिए ।