देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचनमा सुरक्षा प्रदान गर्न सेना प्रतिबद्ध : रक्षामन्त्री खाँण

देशान्तर

काठमाडौँ। रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा बुधवार आयोजित साक्षात्कारमा उनले विगतमा संविधानसभाको निर्वाचनमा पनि सेनाले सुरक्षा प्रदान गरेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा पनि सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

“सेना निर्वाचनमा सहभागी हुने मतदाता, कर्मचारी र मतपेटिकाको सुरक्षा गर्न तयार छ”, उनले भने – “अगाडिको घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने र त्यसपछिको घेरामा निर्वाचनमा खटिने सबैको सुरक्षा गर्नका लागि सेना तयार रहेको छ ।”

उनले अहिले निर्वाचनमा देशभरिको सुरक्षा कस्तो हुने भन्नेमा आँकलन भइरहेको बताउँदै आवश्यक परेमात्र सेना परिचालन गर्ने जानकारी गराए ।

“दुई चरणमा निर्वाचन हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र पनि सुरक्षा दिन सक्छन्”, उनले भने– “निर्वाचनमा सेना आवश्यक परेन भने पनि ब्यारेकबाट सेनाले अवलोकन गर्नेछ । जब सेनाको आवश्यकता पर्छ अनिमात्र सेना मैदानमा उत्रनेछ ।”

मन्त्री खाँणले सरकारले चाँडै नै राष्ट्रिय प्रतिरक्षा सुरक्षा नीति ल्याउन लागेको जानकारी गराए । उनले अहिले प्रतिरक्षा सुरक्षा नीतिमा सरकारले सैद्धान्तिक सहमति जनाइसकेको भन्दै चाँडै नै समिति वा आयोग बनाएर कस्तो नीति सम्बन्धमा अध्ययन गरिने जानकारी दिए ।

उनलेले जेठमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारले नै नयाँ बजेट ल्याउने जिकिर गरे। उनले काँग्रेस र नेकपा माओवादी केन्द्र बीच मतभेद र द्वन्द्व भए पनि तीनै तहको निर्वाचनसम्म दुई पार्टीको समीकरण रहिरहने दाबी गरे ।

उनले देशमा शान्ति कायम, द्वन्द्व व्यवस्थापन र तीनै तहको निर्वाचन गर्नका लागि संविधान संशोधन विधेयक ल्याइएको जानकारी दिए ।