देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनद्वारा क्षेत्रीय अस्पताललाई निःशुल्क औषधि प्रदान

देशान्तर

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घले नाकाबन्दीका कारण औषधि अभाव भोगिरहेका जनकपुर, वीरगन्ज र बुटवलका क्षेत्रीय अस्पताललाई निःशुल्क जीवनरक्षक औषधि हस्तान्तरण गरेको छ । 

यसअघि स्वास्थ्य मन्त्रालयलाई पहिलो चरणमा करिब रु ३८ लाखको औषधि दिएको सङ्घले पहिलोपटक तीन महिनादेखिको आन्दोलनबाट प्रभावित तराई क्षेत्रका अस्पतालमा आफैँ पुगेर औषधि हस्तान्तरण गरेको हो । 

सङ्घका अध्यक्ष शेष घलेसहितको टोलीले तीनवटै अस्पताललाई करिब दुई–दुई हजार किलो औषधि हस्तान्तरण गरेको हो । अध्यक्ष घलेले जनकपुर विमानस्थलमा हिजो आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष डा नगेन्द्रप्रसाद यादव र नि मेडिकल सुपरिटेन्डेन्ट डा राजकिशोर पण्डितलाई औषधि हस्तान्तरण गरेका थिए । 

यसैगरी सङ्घले हिजै नारायणी क्षेत्रीय अस्पताललाई पनि जीवनरक्षक औषधिहरु हस्तान्तरण गरेको छ । अध्यक्ष घलेले अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट उदयशंकर चौधरीलाई औषधि हस्तान्तरण गरे । 

यसैगरी बुटवलस्थित क्षेत्रीय अस्पताललाई पनि हिजै सङ्घले औषधि हस्तान्तरण गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष घलेले अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई औषधि हस्तान्तरण गरेका हुन ।  

कार्यक्रममा सङ्घका तर्फबाट अध्यक्ष घले, संरक्षक एवम् संयुक्त राष्ट्रसङ्घका पूर्वउपमहासचिव कुलचन्द्र गौतम, संरक्षक इन्द्रा वन र प्रवक्ता रन्जु थापा उपस्थित भएका थिए । औषधि ढुवानीका लागि नेपाली सेनाले सहयोगस्वरुप स्काई ट्रक उपलब्ध गराएको थियो । नेपालमा आएको मानवीय विपत्मा सहयोग गर्न अग्रसर भएको गैरआवासीय नेपाली सङ्घले औषधिको अभावका कारण ज्यान जाने अवस्था आउन नदिन औषधि सहयोग जारी राख्ने बताएको छ । 

“जहाँजहाँ धेरै अभाव छ, त्यहाँ हामीले नै छिटो औषधि उपलब्ध गराउने उद्देश्यले अस्पताललाई नै औषधि हस्तान्तरण गरिएको हो”, अध्यक्ष घलेले भने, “उहाँहरुले दिएको सूचीअनुसार नै हामीले ६ हप्ताका लागि पुग्ने गरी औषधि दिएका छौँ ।” 

सरकारलाई दिएको औषधि सम्बन्धित अस्पताललाई पुग्न ढिलाइ नहोस् भनेर सरकारलाई जानकारी दिएरै छिटो औषधि पु¥याउन खोजिएको उनले बताए  । भूकम्पको बेलामा जस्तै पीडितसम्म सिधै पुग्ने योजनाअनुसार तराई क्षेत्रमा रहेका क्षेत्रीय अस्पताललाई औषधि पु¥याइएको जानकारी उनले दिए । 

नाकाबन्दीका कारण उत्पन्न मानवीय सङ्कट समाधानका लागि गैरआवासीय नेपाली सङ्घले सहयोग गर्ने घोषणा गरेअनुरुप अहिले विभिन्न देशमा अर्थ सङ्कलनको कार्यक्रम भइरहेको छ भने सङ्कटलाई अन्तर्राष्ट्रीयकरण गरी दबाब सिर्जना गर्न विभिन्न देशमा गैरआवासीय नेपालीले प्रदर्शन गरिरहेका छन् । 

]]>