देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्धन अभावको कारण मध्यपहाडी लोकमार्ग निर्माणको काम ठप्प

देशान्तर

बागलुङ। भूकम्पका कारण प्रभावित बनेको मध्यपहाडी–पुष्पलाल लोकमार्गको निर्माण कार्य इन्धन अभावका कारण ठप्प भएको छ ।

लोकमार्गको बागलुङ खण्डमा गत साउनदेखि निर्माणको काम ठप्प छ । आयोजनाका इन्जिनियर कर्णसिंह कठायतले इन्धन अभाव हुँदा भइसक्नुपर्ने २० प्रतिशत काम पछि सरेको बताए । 

इन्धन र निर्माण सामग्री आपूर्ति नहुँदा निर्माण कार्यमा बाधा पुगेको उनको भनाइ छ । चाडबाड मान्न घर गएका मजदुर फर्केका छैनन् । “यस्तै अवस्था रहे निर्माण कार्यको समयावधि लम्बिन्छ” कठायतले भने । 

लोकमार्गको रसुवा–नुवाकोट खण्डका डिभिजन प्रमुख रोहित बिसुरालले इन्धन अभावले निर्माण पूर्ण रुपमा ठप्प रहेको बताउँदै भने, “बल्लतल्ल आपूर्ति भएको इन्धन सर्वसाधारणले प्रयोग गरिरहेका छन्।”  रसुवागढी–केरुङ नाका भएर चल्ने गाडीको चाप बढेपछि इन्धन अभावका कारण सडकको स्तरवृद्धि गर्न नसकिएको उनले बताए । 

सदरमुकामदेखि बिहुँसम्मको १३ किमी सडकको अढाइ वर्षअघि ठेक्का सम्झौता भए पनि अझै काम सुरु भएको छैन । बागलुङ खण्डको घोडाबाँधे–हटियाको २० किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी खण्डमा सडक विस्तार र कालोपत्रेको लागि पूर्वाधार तयारीको काम भइरहेको छ । 

इन्धनको सङ्कट लम्बिदै गए हटिया–बुर्तिवाङ ४३ किलोमिटर सडक दुई वर्षमै कालोपत्रे गर्ने लक्ष्य पूरा नहुने आयोजनाले जनाएको छ । सडक विस्तार, स्तरोन्नति, पूर्वाधार तयारीलगायत पुल निर्माणको काम पनि ठप्प छ । बागलुङ खण्डमा पर्ने चौध पुलमध्ये सात वटा निर्माणको चरणमा छन् । ती पुल पनि समयमै नबन्ने देखिएको छ । 

मध्यपहाडी लोकमार्गसँगै अर्को राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको निर्माण कार्य पनि इन्धन अभावले प्रभावित भएको छ । 

]]>