देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली सेना जलविद्युत् निर्माणमा लाग्दै

देशान्तर

काठमाडौँ । नेपाली सेना पहिलो पटक जलविद्युत् उत्पादनमा लाग्ने भएको छ । 

सेनाले रोल्पाको माडीखोला जलविद्युत् आयोजना अगाडि बढाउन लागेको हो । कुल १२ दशमलव २५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा लगानी गर्न सेना तयार भएको हो । सरकारको चालु आवको बजेट वक्तव्य र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही दिन पहिले जारी गर्नुभएको श्वेतपत्रमा समेत सेनालाई जलविद्युत् क्षेत्रमा परिचालन गर्ने योजना समावेश गरिएको छ । 

लामो समयदेखि सरकारको ‘बास्केट फन्ड’मा राखेको सो आयोजना सेनाले अगाडि बढाउन लागेको हो । तर कुन मोडालिटीमा आयोजना अगाडि बढाउने भन्ने विषयमा भने छलफल जारी रहेको छ । नेपाली सेनाले माडीचौर जलविद्युत् आयोजना कुन मोडालिटीमा बनाउने भन्ने विषयमा रक्षा मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयमा पठाइसकिएको प्रधानसेनापति राजेन्द्र क्षत्रीले जानकारी दिएका छन् । 

“कुन मोडालिटीमा सो आयोजनालाई अगाडि बढाउने भन्ने विषयमा छलफल जारी रहेको छ । हामीले तालुकदार मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयसँग छलफल गरी राखेका छौँ । आवश्यक निर्णय हुने वित्तिकै सो आयोजना अगाडि बढ्छ ।” व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा प्रधानसेनापति क्षत्रीले भने । 

सेनाको सैनिक कल्याणकारी कोषमा रु ३५ अर्ब रकम रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा न्यून ब्याजदरमा सो रकम राखिएको छ । सैनिक कोषको रकम जनकल्याणकारी काममा खर्च होस भन्ने आम जनताको चाहनालाई सम्मान गर्दै सेना जलविद्युत्मा लगानी गर्न लागेको हो । सांसदहरुले सैनिक कल्याणकारी कोषलाई प्रयोग गरेर मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्न आग्रह गरेपछि सेनाको तर्फबाट जलविद्युत् क्षेत्रमा लगानी गर्न लागेको जानकारी गराएको हो । 

सांसद्हरुले सेनाले योजनावद्धरुपमा जलविद्युत् आयोजना अगाडि बढाउन सके मुलुकले भोग्नुपरेको ऊर्जा सङ्कटलाई समाधान गर्न सकिने भन्दै जलविद्युत् उत्पादनमा लाग्न आग्रह गरेका थिए । 

सरकारले प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन सेनालाई जिम्मा दिने घोषणा गरिरहेको बेला सेना प्रत्यक्षरुपमा जलविद्युत् क्षेत्रमा सहभागी हुन लागेको हो । खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माणमा मुआब्जा वितरण र जग्गा प्राप्तिलगायतका विषयमा समस्या देखिएपछि सेना परिचालन गरेर काम अगाडि बढाउने निर्णय सरकारले गरेको छ । 

विकास निर्माणलगायतका विभिन्न काममा सेनाले प्रत्यक्षरुपमा काम गरिरहेको सन्दर्भमा जलविद्युत् आयोजनामा समेत प्रत्यक्ष सहभागी हुन लागेको हो । सेनाले हाल कर्णाली– हुम्ला सडकखण्डको निर्माण गरिरहेको छ । यस्तै पछिल्लो पटक सरकारले गल्छी–रसुवागढी सडक निर्माणको जिम्मा समेत सेनालाई दिएको छ । 

]]>