देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ग्याँस, मट्टितेल, दाउरामा चरम कालोबजारी

देशान्तर

काठमाडौंं । इन्धन अभावपछि काठमाडौँको उत्तरपूर्वी भागमा प्रहरी र स्थानीय केही व्यक्तिको मिलेमतोमा कालाबजारी फस्टाएको छ ।

ग्याँस, मट्टितेल र दाउरामा समेत कालाबजारी हुँदा स्थानीयलाई मर्का परेको छ । गोकर्णेश्वर नगरपालिकाको अत्तरखेलमा सञ्चालनमा रहेको श्री अन्जु इन्टरप्राइजेजले नेपाल आयल निगमको अधिकृत बिक्रेता भनी बोर्ड टाँगे पनि नाकाबन्दीपछि मट्टितेल बेचेको छैन ।

“इन्टरप्राइजेजमा पटकपटक मट्टितेल लिन जाँदा छैन भनेर फर्काउने गरेका छन्, निगमको अधिकृत बिक्रेताले अन्तै लगी बेच्दा समेत सम्बन्धित निकायले अनुगमन गरेको छैन” स्थानीय मिङ्मार शेर्पाले भने । पसलका लागि निगमले पठाएको मट्टितेल इन्टप्राइजेजका सञ्चालक चन्द्रबहादुर गुरुङले घरबाटै प्रतिलिटर रु २५० का दरले बिक्री गर्ने गरेको  स्थानीयको आरोप छ । सम्पर्क व्यक्तिमार्फत् मट्टितेल किन्ने ग्राहक उनको घरमै पुग्ने गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका– ३ स्थित कृष्णवीर श्रेष्ठको श्याम ग्याँस पसलले नाकाबन्दीपछि प्रहरी र स्थानीय दलालको मिलेमतोमा कालोबजारी गर्ने गरेको पीडित उपभोक्ता बलराम ढकालले बताए । “तीन महिनाअघि सिलिन्डर लगेर दर्ता गराउँदा पनि हामीलाई ग्याँस दिएनन्, प्रहरीमार्फत जानेलाई ग्याँस दिएर पठाउने गरेका छन्, बुधबारमात्र ५० वटा भरिएका प्रतिआधा सिलिन्डर रु चार हजारमा बिक्री गरेका छन्” उनले भने ।

ग्याँस कालोबजारी गरेका सम्बन्धमा पसल सञ्चालक श्रेष्ठले प्रतिक्रिया दिन मानेनन् । यस्तै यस क्षेत्रका फर्निचर उद्योगले दाउरा आफुखुसी मूल्यमा बेचेर उपभोक्ता ठग्न थालेका छन् । यसतर्फ उपभोक्ता अधिकारवादी, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र नेपाल प्रहरी कसैको पनि ध्यान नजाँदा उपभोक्ता मारमा परेका छन् । विभागले अहिलेसम्म यस क्षेत्रमा अनुगमन नगर्दा कालाबजारी फस्टाएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी उपरीक्षक नरहरि रेग्मी ग्याँस पसल सञ्चालकहरुले भदौदेखिको नामको सूची छ भन्दै लाइनमा बसेकालाई नदिएर पसलभित्र ग्याँस लुकाउने र पछि आफन्तमार्फत् कालाबजारी गर्ने गरेको सूचनाका आधारमा पारदर्शी ढङ्गले वितरण गर्न आग्रह गरेको बताए ।

“प्रहरीलाई चाहिँदैन, आएको ग्याँस लाममा बसेका मानिसलाई पारदर्शी र चित्तबुझ्दो तरिकाले वितरण गरिनुपर्छ, प्रहरीका कसैले यसमा अनियमितता गरेको भेटिए विभागीय कारबाही हुन्छ” उनले भने ।

 

]]>