देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोकर्णमा सहज तरिकाले जित्छौं

देशान्तर

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू अहिले चुनावी प्रचारप्रसारमा केन्द्रित भएका छन् । गोकर्णेश्वर नगरपालिकाका मेयर पदका उम्मेदवार दीपक रिसालले आफूले सन्तोष चालिसेको कार्यकालमा नगरपालिकाको प्रमुख सल्लाहकार भएर काम गरेकाले पनि अहिले धेरै सहज भएको बताएका छन् । उनले गोकर्णेश्वर नगरपालिकाले विगतमा उत्कृष्ट काम गरेको र बाँकी काम पूरा गर्नका लागि आफू उम्मेदवार भएको बताउँछन् ।

तपाईको उम्मेदवारी किन र के का लागि ?
गोकर्णेश्वर नगरपालिकामा यसअघि सन्तोष चालिसे मेयर हुनुहुन्थ्यो । त्यतिबेला म उहाँको प्रमुख सल्लाहकार भएर काम गरें । अहिले युवालाई नेतृत्व दिनुपर्छ भनेर मलाई अघि सारेको छ । गोकर्णेश्वर क्षेत्र धार्मिक तथा पर्यटकीय क्षेत्र पनि हो । यो नगरपालिकाको नामकरण गर्दा यहाँ रहेको लिच्छविकालीन मन्दिरको आधारमा गोकर्णेश्वर नगरपालिका नाम राख्नुपर्छ भनेर प्रस्ताव मैले गर्दा सर्वदलीय सहमतिका आधारमा नामकरण गरेका थियौं । २६ रोपनीमा रहेको गोकर्णेश्वर मन्दिरको जीर्णोद्धार गर्दा म नै व्यवस्थापन समितिमा रहेर काम गरेको छु । जीर्णोद्धारका लागि नगरपालिकाले ८ करोड र सप्ताह लगाएर १८ करोड बनाएर काम गरेका थियौं । यहाँ धार्मिक र पर्यटनलाई जोड्ने काम गरेका छौं । यहाँ चामुण्डा मन्दिर, उत्तरबाहिनी र बागद्वार रहेकाले यसलाई धार्मिक पर्यटनका रूपमा अघि बढाउने भिजनका साथ आएका छौं त्यो धेरै हदसम्म सक्सेस भइसकेको छ । यहाँको बाटो भनेको सुन्दरीजलदेखि जोरपाटीसम्मको बाटो हो ।

त्यो बाटो त जहिले पनि चर्चामा आउने गरेको छ, किन काम नभएको ?
हो, बीसौं वर्ष स्थानीय तह नहुँदा जीर्णोद्धार अवस्थामा रहेको थियो । बाटोमा विभिन्न ठाउँमा पोखरी बनेको थियो र त्यो पोखरीलाई यहाँका स्थानीय नेताअनुसार नामकरण गरिएको थियो । हामी नगरपालिकामा आइसकेपछि जोरपाटी नगरपालिकाको ९ वडामध्ये ८ वटाको प्रमुख बाटो नै सुन्दरीजल जोरपाटी बाटो रहेकाले हामीले त्यसमा काम ग¥र्यौं । नेपाल सरकारको मापदण्ड २८ मिटरको रहेकोमा हामीले २२ मिटर हामीले बनाउँदा मुआब्जा नदिने गरी बनाउँदा ८८५ घर भत्किने अवस्था देखियो, यस्तो अवस्थामा हामीले १४ मिटरको बाटो कायम गरेर लगभग सबै काम सम्पन्न भइसकेको छ, बाँकी काम पनि चाँडै पूरा हुन्छ ।

अधिकांश नगरपालिकामा पुरानै मेयर उम्मेदवार बन्दा, तपाईले किन सन्तोष चालिसेलाई पछि पार्नुभयो ?
२०७४ को स्थानीय तहको निर्वाचनमा मेरो दाबेदारिता थियो । उहाँ मेरो राजनीतिक गुरु पनि हो । उहाँले मलाई नै पहिला अगाडि सारेको हो । अधिवेशनपछि क्षेत्रीय सभापति सन्तोष चालिसेले जित्नुभयो । हामीले एउटै टिम भएर काम गरेका थियौं । २०७४ मा सन्तोष चालिसेले मलाई अगाडि सार्नुभएको थियो, तर मैले मभन्दा सिनियर नै उहाँ भएकाले एक हप्ता अगाडि सन्तोष चालिसेलाई नै सघाएर निर्वाचनमा गएका थियौं । उहाँ र म मिलेर पहिलो कार्यकाल एकदमै सफल पनि बनायौं । उहाँले नै म भन्दा पछाडि त आउनुु पर्छ भनेर नै म अहिले आएको हुँ ।

गोकर्णेश्वर नगरपालिकाको अहिलेको समस्या के हो ?

यहाँ दुई भाग छ । साबिकको जोरपाटी गाविस, त्यसमा ५ वटा वडा छन् । ५, ६, ७, ८ र ९ नम्बर वडा सहरी विकासका रूपमा अघि बढेको छ । यसैगरी १, २, ३ र ४ वडा गोकर्णभन्दा माथिको क्षेत्र विकास हुन सकेको छैन । यहाँ हामीले कृषि पकेट क्षेत्र भनेर सुन्दरीजल, नयाँ पाटी, बालुवा र गोकर्णलाई हामीले कृषि क्षेत्र भनेर राखेका छौं । यहाँको प्रमुख समस्या भनेको स्वास्थ्य हो । हामीसँग तीन वटा हस्पिटल पनि छन् । कोभिडको समयमा हामीले समयअनुसार काम गर्नुपर्छ भनेर मेयर र हामी मिलेर राम्रो काम गरेका थियौं । अर्को भनेको फोहोरमैला व्यवस्थापनको समस्या विकराल छ । काठमाडौंभरिकै समस्या भनेकै फोहोरमैला व्यवस्थापन हो । फोहोरमैला स्थानीय सरकारले नै व्यवस्थपन गर्ने जिम्मेवारी दिएको छ । फोहोरमैला व्यवस्थापनका लागि सिस्डोल लानुपर्ने भएपछि जापान पुगेर हामीले प्रविधि ल्यायौं । जापानबाट हामीले ‘इन्सिनरेटर मेसिन’ ल्याएका हौं । त्यो मेसिन अहिले सञ्चालनमा आइसकेको छ । अब हामीले दुई चार वटा मेसिन थपेपछि फोहोर फाल्नका लागि सिस्डोल जानुपर्ने अवस्थाको अन्त्य हुन्छ । अर्को समस्या भनेको खानेपानी हो । यहाँ स्रोत पनि छ, त्यही स्रोतलाई व्यवस्थापन गरेर ट्यांकी बनाएर पानी वितरण गरेपछि माथिल्लो भेगमा समस्या करिबकरिब हल भयो । सहरी क्षेत्रमा अब मेलम्चीको पानी आउँछ । अब सुन्दरीजलको पानी गोकर्णेश्वर नगरपालिकालाई खुवाउने भनेर पाइप विस्तार भइरहेको छ । स्रोत नभएको ठाउँमा नेपाल सरकारसँग स्वीकृति लिएर बोरिङ गरेर पनि खुवाइरहेका छौं ।

चुनावमा तपाईको प्रतिस्पर्धा कोसँग हो ? 

मेरो प्रतिस्पर्धा विपक्षीहरूसँग त भइहाल्यो । वामपन्थीहरू आफैंआफैं लड्नु भएको छ । उहाँहरू एकजुट भएर लड्दा पनि हामीले जितेको ठाउँ हो । त्यतिबेला हामीले बहुमत नै ल्याएका थियौं, त्यो मोर्चा मैले नै सम्हालेको थिएँ । फेरि हामीले पाँच वर्ष राम्रो काम गरेका पनि छौं । त्यसैले गर्दा गोकर्णेश्वरवासीले हामीलाई विश्वास गरेर मत दिने धेरै आधारहरू छन् । यसैगरी अधुरा कामहरू पूरा गर्नका लागि मलाई नेपाली कांग्रेसले अघि सारेको छ । त्यो काम पूरा गर्नका लागि मेरो पूरा प्रतिबद्धता छ । त्यसैले उहाँहरूसँग चुनावी प्रतिस्पर्धा धेरै कडा होला जस्तो लाग्दैन । मेरो प्लस प्वान्इट भनेको पाँच वर्ष जनतासँग प्रत्यक्ष जोडिएर काम गरेकाले मलाई चिनाउन गाह्रो छैन । विपक्षी उम्मेदवारहरू कोठामा बसेर सँगठनमात्रै गर्दा जनतासँग पुग्नु भएकै छैन, त्यसले गर्दा पनि मलाई सहज छ ।