देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब फ्रेस गठबन्धन भनेको कांग्रेस र एमाले नै 

देशान्तर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बन्ने सम्भावना रहेको बताएका छन् । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीसँगको कुराकानीमा विश्वकर्माले कांग्रेस र माओवादी तथा एमाले र माओवादीको गठबन्धन हुन सक्छ भने अबको नयाँ र फ्रेस गठबन्धन भनेकै कांग्रेस र एमालेको हुने बताए । तर, अहिले नै आफूहरू अहिलेको गठबन्धन भत्काउने खेलमा नलाग्ने प्रस्ट पार्दै संसदको ठूलो दल भएको नाताले कांग्रेसले यही कार्यकालमै सरकारका नेतृत्व गर्ने पनि प्रस्ट पारे । विश्वकर्मासँग गरिएको कुराकानीको सम्पादित अंश ।

 महासमिति बैठकको दौरान कुरा गर्दा र अहिलेको राजनीतिक अवस्था फरक छ, तपाईंहरूको अबको भूमिका के हो?

बहुदलीय संसदीय प्रणालीमा दलहरू बन्छन् र बहुमत प्राप्त गर्दा दलहरू सत्तामा पुग्छन् । बहुमत गुमाउँदा होस् या टिकाउन नसक्दा प्रतिपक्षमा बस्नुपर्छ । अहिले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ, यसलाई स्वाभाविक प्रक्रियाको रूपमा बुझ्नुपर्छ । अझ नेपालको सन्दर्भमा संसद्मा कुनै पनि एक दलको स्पष्ट बहुमत नभएको हुँदा दलहरू एकआपसमा मिल्न सक्दा एउटा गठबन्धन बन्छ । मिल्न नसक्दा अरू बाँकी रहेका दलहरूको गठबन्धन बन्छ । नेपाली कांग्रेसको महासमितिको बैठक चलिरहेको बेला माओवादी कांग्रेसलगायतका दलहरूको गठबन्धन थियो । महासमितिको बैठक सकिएपछि तुरुन्तै फेरि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्को गठबन्धन बनाउनुभयो । त्यसैले अहिलेको अवस्थामा परिस्थिति बदलिएको कुरा सत्य हो । हिजो सत्तामा रहँदा कांग्रेसको प्रतिबद्धता कार्यान्वयन गर्ने कुरामा लागेका थियौं, अब हाम्रो प्रतिबद्धतालाई सरकारले अब कसरी कार्यान्वयन गर्छ भन्ने कुरामा कन्द्रित छौं । किनभने हामी २०७९ को चुनावमा साझा घोषणापत्र लिएर गठबन्धन बनाएर चुनावमा होमिएका थियौं । त्यसैले सरकारले गरेका असल कामहरूको समर्थन गर्ने, सरकारले गरेका कामहरूमा चित्त नबुझ्दा वा जनपक्षीय वा जनहितकारी नहुँदा त्यसको खबरदारी गर्ने भूमिका नै प्रतिपक्षको हुने हुँदा त्यसका लागि हामी तयार भएर त्यही काम गरिरहेका छौं र आगामी दिनमा पनि गर्छौं ।

नेपालमा किन गठबन्धन फेरबदल भइरहन्छ, यो प्रश्न त उठान मिल्छ होला ?

प्रश्न गर्न नमिल्ने कुरै छैन । यसको उत्तर त नेपालको प्रधानमन्त्रीले संसद्को रोस्टममा उभिएर देश दुनियाँलाई जानकारी गराउनु भएको छ । तर, नेपाली कांग्रेसले गठबन्धन बदलेको छैन र होइन पनि । नेपाली कांग्रेसको आदर्श र एउटा पहिचान पनि बनिसकेको पार्टी हो । नेपाली कांग्रेस चानचुने कुरामा लाग्दैन । नेपाली कांग्रेसले लक्ष्य निर्धारण गरिसकेपछि लक्ष्यमा नपुग्दै विचलित हुँदैन र नेपाली कांग्रेसले जे भन्छ, त्यही गर्छ र जति गर्छ त्यतिमात्रै भन्छ । हामीले २०७४ सालको आम निर्वाचनपछि बनेको नेकपाको सरकार टिक्न सकेन, चल्न सकेन, त्यही पार्टीभित्र असहज परिस्थिति निर्माण भयो, त्यहाँ भएका चार जना पूर्वप्रधानमन्त्रीहरूले विद्रोह गर्नुभयो र नयाँ गठबन्धन त्यतिबेला बन्यो ।

त्यतिबेला हामीले सरकार बनाउनका लागि मात्रै गठबन्धन नगरौं भनेका थियौ । राजनीतिक सबालमा सहमत हुनुहुन्छ भने हामी सहकार्य गर्छौं होइन भने गर्दैनौं भनेपछि उहाँहरूले बिन्तीभाउ गरेर हाम्रो पार्टीको सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न अनुरोध गर्नुभयो । प्रधानमन्त्रीले केही सर्त राख्नुभयो । त्यहाँ पाँच वटा सर्त थियो । संविधान कार्यान्वयन, सुशासन, अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार, मूल्यवृद्धि नियन्त्रण गर्ने र मुलुकमा भइराखेको बेरोजगारी र महँगीलाई नियन्त्रण गर्ने कुराहरू थिए । यी कुरामा सहमत भइसकेपछि हामीले निर्वाचन पनि सँगै गराउँ, उम्मेदवार पनि साझा बनाएर जाउँ, तत्पश्चात् पनि भोट साटासाट गरेर लिइसकेपछि जनताप्रतिको वाचा पूरा गरौं र सँगै यात्रा गरेर सरकार निर्माण गर्दै मुलुकको सपना पूरा गरौं भन्ने हाम्रो भनाइ थियो । त्यसपछि पाँच दलको गठबन्धन बन्यो अनि नेपाली कांग्रेसको घोषणापत्र नै सबैको घोषणापत्र भयो । प्रचण्डजीले चुनाव सकिँदा नसकिँदै गठबन्धन बदली सक्नुभएको थियो । फेरि हामीले छोरालाई बाबुआमाले सम्झाएको जस्तो, होइन प्रचण्डजी के गर्नु भएको, भोट साटेको पनि एक महिना भएको छैन, यस्तो उपद्रो नगर्नुस् न भनेर बोलाएर सम्झाएपछि उहाँ फर्किनु भयो । तर, फेरि एक वर्ष पनि टिक्न सक्नु भएन । फेरि उतै जानु भयो ।

गठबन्धन गर्दा बन्द कोठामा बसेर सहमति गर्ने अनि कार्यान्वयन गर्ने बेला सहमति किन भाँडिन्छ ?

सहमतिहरू बन्द कोठामा भएका छैनन् । सबै कुराहरू प्रस्ट छन् । नेपाली कांग्रेसको नेतृत्वमा पहिला पाँच दलको गठबन्धन बनेको थियो । प्रचण्डको अस्थिर मनस्थितिका कारण नै गठबन्धन फेरबदल भइरहेको हो । उहाँले संसद्मै स्पष्टीकरण दिइसक्नु भयो, उहाँले म बाँचुञ्जेल यस्तै हुन्छ, मेरो प्रवृत्ति नै यस्तै छ त तपाईंहरू के गर्नुहुन्छ भन्नुभयो ? साँच्चै के गर्नुहुन्छ त भन्दा संसद्मा गठबन्धनको बाहेक अर्को विकल्प पनि छैन । हामी संविधानको धाराअनुसार ठूलो दलले सरकार चलाउने भन्ने धारामा पनि पुगेका छैनौं । ठूलो पार्टीले सरकार चलाउँदा विश्वासको मत चाहिहाल्छ ।

यसो गर्दा उहाँले गठबन्धन फेरिरहने नयाँनयाँ स्वाद लिइरहने प्रचण्डको स्वभावका कारणले मुलुक राजनीतिक अस्थिरतामा छ । त्यसो भएको हुनाले यतिबेला नेपाली कांग्रेसले यसलाई सहजरूपमा लिएको छ । जनताका बीचमा पाँच दलले साझा घोषणापत्र लिएर जाने, अनि सरकार अर्कैले बनाउने उल्टो बाटो हिँड्नु भयो प्रधानमन्त्री प्रचण्डजी भन्ने गुनासो हाम्रो अहिले संसद्मा पनि चलिराख्या छ । त्यतिमात्रै होइन, सुशासनको कुरा गर्दा जो जो अभियुक्तहरू छन्, तीती मानिसहरूलाई जम्मा गरेर सरकार बनाउनु भयो त्यसले पनि अर्को समस्या थपेको छ । सुशासन दिनमा कांग्रेस बाधक भयो भन्ने कुरा उहाँलाई लागेको भए स्वच्छ छवि भएका मानिसहरू निर्विवाद मानिसहरू बटुलेर, त्यस्ता दलहरूसँग सहकार्य गरेर सरकार बनाउनु भएको भए हुन्थ्यो भन्ने हाम्रो भनाइ हो ।

कांग्रेसबाट मन्त्री भएका तर आरोप लागेकालाई हटाउँ भन्दा तपाईंहरूले किन नमानेको त ?

म विगतको कुरा स्मरण गराउँछु, सुशील कोइराला प्रधानमन्त्री भएका बेला माओवादीका नेता मोहन वैद्यले गोलमेच सम्मेलन नगरेसम्म चुनावमा भाग नलिने कुरा गर्नुभयो । सुशील कोइरालाले गोलमेच सम्मेलन नयाँबानेश्वरको अहिले संसद् भवन रहेकै भवनको फलानो हलमा यति बजे भनेर तीन दिनको समय राखेर घोषणा गर्नुभएको थियो, त्यसपछि वैद्यजीहरू लापत्ता हुनु भएको थियो । त्यतिबेला वैद्यजीहरूले एउटा प्रेस विज्ञप्ति पनि निकाल्नु भएन र केही पनि भएन । अहिले पनि त्यस्तै कुरामात्रै हो प्रचण्डजीको पनि । राष्ट्रियसभाको चुनाव हुने बेलामा मन्त्रिपरिषद् हेरफेरको कुरा गर्नुभयो, त्यतिबेला कांग्रेसले राष्ट्रियसभाको चुनावमा २ भोटको पनि महत्व हुन्छ, यतिबेला नबिथोलौं भन्यौ ।

फेरि उहाँले कांग्रेस महासमितिको बैठकमा लागिरहेका बेला मन्त्रिपरिषद् हेरफेर गर्छु भन्नुभयो, हामीले त्यतिबेला महासमितिमा छौं, के कारणले कुन मन्त्री फेर्नु परेको हो भनेर सोध्यौं । त्यतिबेला हामीले मापदण्ड बनाएर महासमितिको बैठकपछि मन्त्री फेरौंला भन्यौ । महासमितिको बैठक सकेर हामीले मन्त्री हेरफेरका लागि प्रधानमन्त्री कहाँ गएर मापदण्ड र कार्यदल बनाएर गरौं भन्न सभापति र उपसभापति र महामन्त्रीहरू बालुवाटार जानु भएको थियो । अब कांग्रेस मन्त्रिपरिषद् हेरफेर गर्नका लागि सहमत पो भयो भनिसकेपछि भोलिपल्ट बिहान गठबन्धनको बैठक बोलाएर अनि राति अर्को गठबन्धन बनाउन लाग्नुभयो । यस्तो बेइमानीपूर्ण छट्टु गतिविधि गरेपछि त्यसको दोष कांग्रेसलाई दिँदा देश दुनियाँले पत्याउँछ र । बहुदलीय संसदीय प्रणाली भनेको प्रधानमन्त्रीय प्रणाली हो । प्रधानमन्त्रीलाई सहमतिका आधारमा जति समय छुट्ट्याइएको छ त्यति समयसम्म उहाँलाई सफल बनाउन गठबन्धनका दलहरू लाग्नुपर्छ । यदि उहाँलाई मन्त्रीको कामकारबाहीमा चित्त बुझेन र ती मन्त्रीले गरेको कामबाट उहाँलाई सहयोगको अनुभूति भएन भने मन्त्री बदल्ने काम सम्बन्धित दलहरूको हुनेछ, र कांग्रेस त्यसमा तयार छ । महासमितिको बैठक सक्न दिनुस् भनेका थियौं । त्यतिबेला १५ गते भित्र (फागुन) मन्त्रिपरिषद् हेरफेर गर्ने कुरा भएको थियो । तर, फागुन ११ गते बालुवाटारमा बैठक बस्न पुग्यौं, त्यो बैठक बस्दाबस्दै हामीले कसरी गर्ने कार्यदल बनाऔं भन्दाखेरि प्रचण्डले कांग्रेसले मन्त्री फेर्न मान्दैन होला भनेको त कांग्रेसले मान्यो अब के गर्ने होला भन्ने मनिस्थिति बनाएर थाहै नदिएर अर्को गठबन्धन बनाउनुभयो । त्यसैले फेरि पनि म भन्छु, कांग्रेस बाधक होइन सधैं सहयोगी छ ।

अब कांग्रेसले माओवादीलाई बोलाएर फेरि फकाउने काम गर्छ कि गर्दैन ?

हामी गर्दैनौं, किनभने जुन कुराबाट कांग्रेसले धोका खायो, कांग्रेस त्यस्तो खालको उत्ताउलो, उच्छृंखल र बेहोसी पार्टी हो र । आगोले पोल्यो भनेर थाहा पाइसकेपछि आगोसँग कांग्रेस जिस्किँदैन । जुन कुरामा धोका भयो भनिरहेको कांग्रेसले फेरि त्यही प्रस्ताव लिएर जाँदैन । अरू पार्टीको एक जना नेताले निर्णय गरे हुन्छ । कांग्रेस सामूहिक नेतृत्वमा छ । हाम्रो पार्टीको कार्यसमितिले निर्णय गर्नुपर्छ । कार्यसम्पादन समितिले निर्णय गर्नुपर्छ । त्यसले गर्दा अहिले नै हामी गलत थियौं, माओवादी पार्टी ठीक हो, लौ मिलौं भन्ने कुरा हुँदैन । 

कांग्रेसकै केही नेताहरूले चाँडै सरकारमा जाँदैछौं भन्दै हुनुहुन्छ त आजभोलि ?

 नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो पार्टी छ । यसैगरी सबैभन्दा पुरानो र भरपर्दो भएकाले जनताले विश्वास गरेका छन् । नेताको बेइमानी र छट्टुपनले गर्दा पो कहिलेकाहीँ कांग्रेस बाहिर पर्छ त । नेपाली कांग्रेस पार्टी बोलीको पक्का छ । नेपाली कांग्रेसका कार्ययोजना र प्रस्तावहरू जनताको पक्षमा छन् । त्यसैले हामी ठूलो पार्टी भएको हुनाले कुनै न कुनै बेला तुरुन्तै यही अवधिमा सरकारमा नजाने भन्ने कुरै छैन । हामी सरकारमा पुग्छौं । तर सरकारमा जाने भन्दैमा अहिले नै जे पनि गरिहाल्ने पक्षमा छैनौं । हामी यो गठबन्धन भत्काएर छिर्के लगाएर कांग्रेस अहिले सरकारमा जाने सोचमा छैन । प्रचण्डजीले कांग्रेसमा केही दोष लागेका मान्छेहरू आरोपित मन्त्रीहरूलाई निकाल्न सकिनँ त्यसकारण गठबन्धन फेरेको भन्नु भएको छ । ती मन्त्रीहरूलाई हटाउने तयारी कांग्रेसले गरेपछि उहाँले अरू बढी दोष लागेका, आरोपहरू, विवाद र धेरै मुद्दा भएका मानिसहरू लिएर सरकार बनाउनु भएको छ भने यो पनि त टिक्दैन होला नि त । उहाँ आफैंले त्यसो भन्न खोज्नु भएको छ कि यो सरकार टिक्दैन, नटिकेपछि यसको दोष पनि कांग्रेसलाई लगाउँ भन्नेमा उहाँ सिपालु पनि हुनुहन्छ । छापामार शैलीबाट राजनीतिमा प्रवेश गर्नुभएकाले यस्ता कुरा उहाँलाई सामान्य लाग्न सक्छ ।

यति लामो समय संगत गर्दा पनि तपाईंहरूले प्रचण्डलाई चिन्न सक्नु भएन है ?

हामी नचिनेको होइन । उहाँ प्रहरीमा पटकेमा कारबाही भएको भन्छन् नि, हो त्यस्तै रहे छ । मान्छे एक, दुई, तीन पटक कारबाहीमा परेपछि सुध्रिन्छ होला भन्ने विश्वास थियो । उहाँले २०७९ को चुनावको बेला भाषणमै पनि भन्नुभएको थियो, म पहिलाको जस्तो प्रचण्ड होइन, मलाई मानिसहरूले अस्थिर भन्छन्, मलाई मानिसहरूले बेइमान र धोकेबाज भन्छन्, म त्यस्तो होइन र छैन पनि । म अहिले सुध्रिसके, मेरो घर परिवारको पीडाबारे पनि सबै जानकार नै हुनुहुन्छ भनेर भन्नुभएको थियो । त्यतिबेला नेपालको भरपर्दो पार्टी नेपाली कांग्रेसलाई साथ लिएको छु, कांग्रेसको साथबाट मेरै कार्यकालमा समृद्धिको सपना पूरा गर्न चाहन्छु, प्रधानमन्त्री पनि दिनुस् भन्नुभयो । मानिसले जब आफू विश्वासिलो हुन्छ तब अरूलाई पनि विश्वास गर्छ । नेपाली कांग्रेस हामी विश्वासिला भएकाले हामीले अरूलाई विश्वास गर्‍यौं । अब यो पटकको घटनाबाट त प्रचण्डलाई विश्वास गर्ने केही पनि बाँकी रहेन । संसद्मा थेतरो र नकचरो अभिव्यक्ति दिएर संसद्मा भाषण नै गर्नुभयो । 

रोस्टममा उभिएर प्रचण्डले जे गर्न सक्नुहुन्छ गर्नुस् भनेको कांग्रेस र एमाले मिलेर सरकार चलाउनुस् भन्या पनि होला है ?

हो हो । एमाले र कांग्रेस नमिल्ने भन्ने कुरै छैन । कांग्रेस र माओवादीको गठबन्धन पनि चल्यो, माओवादी र एमालेको गठबन्धन पनि चल्छ । र त्यसपछि फ्रेस गठबन्धन भनेको एमाले र कांग्रेसको हो । त्यसैले बाँकी रहेको विकल्पलाई अहिले नै हुँदैन भन्न सकिन्न र बाँकी छ भन्दैमा त्यो तुरूप अहिले नै प्रयोग गरिहाल्ने पक्षमा कांग्रेस अहिले छैन । हेरौं न अहिले भर्खर भर्खर माओवादी र एमालेको भेटघाट भएको छ, काम गर्ने शैलीमा उहाँहरू अगाडि बढ्नु भएको छ, कतिन्जेल उहाँहरूको चित्त बुझ्छ, चित्त बुझुन्जेल हामीले अहिले नै त्यो गठबन्धन किन भत्काइदिनु । त्यसैले उहाँहरूको चित्त आफैं भत्कियोस् । अनि त्यसपछि हामी जिम्मेवारी सम्हालौंला । तर अहिले नै उनीहरूको गठबन्धन भत्काउनका लागि कुनै पनि काम गर्दैनौं ।

कांग्रेसले अहिले संसद्मा निर्वाह गरिरहेको भूमिका ठीक छ ?

हामीले जे कुरा ठीक हुन्छ त्यहीमात्रै गर्ने भएकोले हामीले गरेका क्रियाकलापहरू हामीलाई ठीक लागेरै गरेका हुन्छौं ।

कांग्रेसबाट रवि लामिछानेको विरोध अलि बढी भयो कि ?

विरोध बढी भयो भन्ने होइन । जसरी चुच्चे नक्सामा हाम्रो सर्वसम्मत भएर एक मत पनि विपक्षमा भएन त्यसैगरी अहिले रविको विषयमा कुरा बुझ्दा जतिसुकै अपराध गरे पनि, जतिसुकै मुद्दा लागे पनि जतिसुकै जनतालाई ठगे पनि यो मानिसलाई मुद्दा लगाउनु हुँदैन है, यो भगवान् हो भन्ने जनमत हो भने, संकल्प प्रस्ताव संसद्मा लैजाऔं, फलानो ठाउँमा जन्मिएको, फलानोको छोरो, फलानाको पति, फलानोको ब्वाईफ्रेन्ड यो व्यक्ति नेपालका लागि अति आवश्यक भएको हुनाले यसलाई हजार अपराधको खतवात माफ गरौं भनेर संकल्प प्रस्ताव पारित गरेपछि विरोध पनि गर्नु पर्दैन । किनभने आफैंले सही गरेपछि विरोध पनि गर्नु भएन । होइन भने गल्ती गर्नेको बारेमा प्रश्न त उठ्छ । अपराध गर्नेलाई कारबाही गर भन्छौं त । पूर्वउपराष्ट्रपति, अर्थमन्त्री, पूर्वसभामुखको विषयमा प्रश्न उठिराख्या छ, अनि रवि लामिछानेको नाम लिनै नपाइने हो र । विदेशमा बैंक ठगी गरेको, नागरिकता र पासपोर्ट दुई वटा बोकेको, ठगी गरेको, हत्या गरेको छ धेरै अपराधमा संलग्न छन् । त्यसैले सबैले अब उहाँलाई भगवान् घोषणा गरौं । होइन भने मान्छे भएपछि विरोध हुन्छ । अझ अहिले त रवि लामिछाने मात्रै होइन । उहाँ त अहिले गृहमन्त्री पनि हो । जुन गृहमन्त्रीको मातहतमा उसकै मुद्दा छानबिन भइराख्या छ । यो भन्दा लज्जास्पद केही हुन्छ ।

प्रचण्डले रविको बचाउमा तपाईंहरूलाई नै लाञ्छना लगाउनु भएको छ ?

 उहाँहरू पार्टनर भएर मिलिसकेपछि जसरी रविले जीबीलाई जोगाउँदै छन् त्यसैगरी प्रचण्डले रविलाई जोगाउँदै छन् । सबै मानिसहरू स्वार्थ मिलेपछि एक ठाउँमा हुन्छन् भन्ने सत्य कुरा होइन र । हिजो रवि लामिछानेले न्युज ट्वान्टीफोर टेलिभिजनमा काम गर्दा घाँटीको नसा फुलाएर क्यान्टोनमेन्टको पैसा कहाँ छ, हामी एक एक निकाल्छौं, टुँडिखेलमा घुमाएर नाकको डाँडी भाच्छौं भन्या होइन । अनि उनको पनि नाकको डाँडी जोगिने भयो, अनि १० वटा सहकारीका अर्बौं रुपैयाँ कहाँ छ नाकको डाँडी आफैं भाँच्नुपर्ने भएकाले दुई जना मिलेका हुन् ।

अहिलेको राजनीतिक घटनाक्रममा रविको रक्षाकवचको रूपमा केपी र प्रचण्डलाई देख्दा कस्तो लाग्छ ?

केपी ओलीले त प्रयोग गरिरहनु भएको छ । ओलीलाई रक्षाकवच देख्दिनँ । किनभने संसद्को बाध्यात्मक परिस्थितिलाई बुझेर केपी ओलीले यसलाई प्रयोग गरिरहनु भएको छ । उहाँले तासको जोक्कर जस्तो सिक्वान्स मिल्यो भने लगाइदिने गरी जोक्करलाई जोक्करकै ठाउँमा राख्नुभएको छ । रवि लामिछाने अहिले तासको जोक्कर जस्तो भएका छन् । त्यसैले ओलीले अहिले धेरै नै प्रतिरक्षा गरेको जस्तो लाग्दैन । रविलाई गृहमन्त्री नबनाएको भए यत्रो प्रश्न नै आउथेन । रवि अरु मन्त्री भएको भए यतिका खोजी हुँदैनथ्यो होला । तर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जसको मुद्दा हेर्दैछ, त्यही अनुसन्धान ब्युरोको मुख्य निकाय गृहमन्त्री भएर भोलिपल्ट अनुसधान ब्युरोको प्रमुखलाई अयोग्य भनेर बाहिर निकाल्दिएको त प्रष्ट छ ।

१८ गतेपछिको संसद्मा कांग्रेस के गर्छ ?

कांग्रेसको बुझाइमा संसद् लाप्पा खेल्ने र दंगाफसाद गर्ने ठाउँ होइन । हामी त्यस्तो गर्दैनौं । हामीले नै उत्कृष्ट लागेर अहिलेको व्यवस्था ल्याएकाले यसको संरक्षण र संवद्र्धन गर्नु हाम्रो जिम्मेवारी पनि रहन्छ । त्यसैले संसद्लाई हामी रचनात्मक ढंगबाट प्रयोग गर्छौं । त्यो भनेको सडकमा बन्द हडताल गरेर जनतालाई दुःख दिनुभन्दा सदनमा सभ्य तरिकाले प्रश्न उठाएर सरकारलाई नैतिकरूपले जवाफदेही बनाउने काम गर्दा कहिलेकाही संसद् अवरुद्ध हुन्छ । सडक अवरोधभन्दा संसद् अवरोध ठीक हो ।