देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘नयाँ सत्तासमीकरणको चर्चा चौतारामै सीमित छ’

देशान्तर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले अहिले नै नयाँ सत्ता समीकरणको चर्चा गर्ने बेला नभएको बताएका छन् । अहिले केही व्यक्तिहरूले सामाजिक सञ्जालमा चर्चा गरेको बताउँदै कांग्रेस आधिकारिक रूपमा यस विषयमा अगाडि नबढेको बताए । तर, अहिलेको पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई हेर्दा केही कुराहरू गर्न जरुरी रहेको पनि बताए । उनै बरालसँग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

आजभोलि केमा व्यस्त हुनुहुन्छ ?
म अहिले गृह जिल्ला कास्की पोखरामा छु । अहिले नेपाली कांग्रेस इलाम र बझाङमा भइरहेको उपनिर्वाचनको तयारीमा रहेको छ । अहिले नेपाली कांग्रेसका साथीहरूले इलाम र बझाङमा मतदाताहरूको माझमा पुगेर आफ्ना कुराहरू राखिराख्नु भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनपछि नेपाली कांग्रेसको संगठनलाई तल्लो तहसम्म लैजाने र पुनर्ताजकी गरेर लैजाने अभियान सुरु गर्दैछौं ।

पुनर्ताजकी भनेको, विगतकै निरन्तरता कि अलि फरक ?
नेपाली कांग्रेसले विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ । यसअघि हामीले समुदायमा कांग्रेस अभियान सुरु गरेका थियौं । नेपाली कांग्रेसका पुराना नेता तथा केन्द्रीय सदस्य केशव बुढाथोकीको निधन भएपछि रोकिएको थियो, त्यसलाई हामीले निरन्तरता दिँदै छौं । अर्को भनेको संगठनको अवस्था, संगठनमा नयाँ सदस्यहरू थप गर्ने कुरा छ । नेपाली कांग्रेसको तल्लो तह अर्थात् टोल समितिसम्म पुगेर पुनर्ताजकी गर्ने र राजनीतिमा अहिले देखिएको परिवर्तित परिस्थितिमा तल्लोतहसम्मका जनतालाई सुसूचित गर्ने कार्यक्रमका साथ हामी अगाडि जाँदैछौं ।
कार्यक्रम नयाँ, तर उत्साह छैन, जताततै गुटैगुटमा रमाउनुहुन्छ फेरि, भ्रातृ संस्थाहरू पनि लथालिंग छन् ?
एउटा जीवन्त पार्टीमा सानातिना गुटहरू हुन्छन् । यसलाई अन्यथा लिन हुँदैन । यथार्थ चित्रण गर्दा खेरि मुलुकका पार्टी र पार्टीका विचारहरू र गतिशीलताको हिसाबले नेपाली कांग्रेस अरूभन्दा अब्बल पार्टी हो । अरू पार्टीको आन्तरिक प्रजातन्त्र र नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रका बारेमा तुलना नगरे पनि हुन्छ । सधैं नेपाली कांग्रेसको विरोध गरेर आफ्नो उचाइ बढाएको कुरा स्वीकार गर्न थालेका छन् । एक, डेढ महिनाको राजनीतिक खिचातानीले हेर्दाखेरि पनि त प्रस्ट हुन्छ ।

आत्मरतिमा रमाउनमै व्यस्त छ, कांग्रेस तर जनताले भरोसा देखाउन सकिरहेका छैनन् ?
हामी आफैंमा रामएर बसेको भए तल्लो तहका कार्यक्रमहरू नै सञ्चालन गर्ने थिएनौं । हामी समुदायमा जाने कुरा, संगठन सुदृढीकरण र पुनर्ताजकीका कुरामा केन्द्रित नै हुने थिएनौं । हामी पुनर्ताजकी र पुनःपरिस्कृत हुन जरुरी छ र त्यसैअनुसार कार्यक्रम ल्याउने प्रयत्न गरिरहेका छौं । पछिल्लो ५–७ वर्षमा समाजमा आवेग र उत्तेजना, आरोप, प्रत्यारोप तथा नयाँ खालको विशृंखलताहरू देखिएका छन् । कुरा गर्न सजिलो छ, काम गर्न गाह्रो छ । रिलमा धेरै चर्काचर्का कुरा गरे पनि रियालिटीमा ती सबै दोषी र डामिएका देखिन्छन् । उनीहरू पारदर्शी नै छैनन् । हो, कांग्रेसका सबै मानिस ठीक छन् भन्ने होइन, कांग्रेस पार्टी एउटा विचार हो । कुनै भ्रष्ट मान्छे कांग्रेसको सदस्य हुन सक्दैन । आरोपित मान्छे कांग्रेसको सदस्य हुन सक्दैन । र त्यस्ता आरोपित व्यक्तिलाई कांग्रेसले संरक्षण गर्ने, विज्ञप्ति निकाल्ने र प्रदर्शन गर्ने काम गरेको पनि छैन । त्यसैले कांग्रेस भनेको विचार हो, यो विचारलाई बलियो र सशक्त बनाउन, लोकतन्त्रको आधारस्तम्भ भएकाले अझ बढी दरिलो र खँदिलो बनाउन सबैको दायित्व छ ।

कांग्रेस जे कुरामा पनि ढिला निर्णय गर्छ, त्यसले गर्दा आफ्नो दरिलो उपस्थिति देखाउन सकेको छैन भन्ने टिप्पणी पनि गर्छन् त ?
यो प्रश्नको एउटा कुरासँग सहमत छु । कांग्रेसले ढिला निर्णय गर्छ । यो कहीँ कतै नेपाली कांग्रेसबाट ढिला भएकै छ । ढिला निर्णय गरे पनि परिपक्व निर्णय गर्छ, दीर्घकालीन रूपमा असर राख्ने गरी निर्णय गर्छ यसलाई स्वाभाविक मान्न सकिन्छ । तर नेपाली कांग्रेसले ढिलो निर्णय गर्छ भन्दै गर्दा उत्ताउलो निर्णय गर्दैन । जनताका बीचमा देशलाई प्रभाव पर्ने गरी र जनताको जनजीविकाका सवाल हरेक कुरामा कांग्रेसले हचुवाको भरमा निर्णय गर्दैन ।

अहिले प्रदेशहरूमा देखिएको लथालिंगको विषयमा कांग्रेसको धारणा के हो ?
सबैभन्दा ठूलो कुरा संविधानको पालना र नैतिक धरातल हो । नेताभन्दा पनि साधारण जनता भएर कुरा गर्दाखेरि एउटा नेतृत्व गलत हुँदा, सन्काहा र अविश्वसनीय हुँदाखेरि मुलुकले कति दुःख पाउँदो रहेछ भन्ने दृष्टान्त यो एक महिनामा नेपालले भोगिरहेको छ । त्यही दृष्टान्तको रूपमा गण्डकी, कोशी र अरू प्रदेश पनि हुन् । अहिलेको परिस्थिति र राजनीतिक नेतृत्वका कारण देशका आठवटै सरकार अस्थिर र तिलमिलिएको अवस्थामा पुगेका छन् । गण्डकी प्रदेशको कुरा त अदालतले एउटा कुरा भनेको छ । उहाँहरूले संविधानलाई मिच्नेगरी जुन खालका गतिविधिहरू गरिरहनु भएको छ, यो कांग्रेसका लागि अत्यन्त आपत्तिजनक छ ।

संघीयताको अभ्यास गर्दा कहाँनेर गल्ती भयो, यो कुरा करेक्सन गर्नुपर्छ भन्ने बेला भएन ?
संघीयता आवश्यक छ । संघीयताले तल्लो तहसम्म डेलिभरी दिने प्रयत्न गरिरहेको छ । तर संघीयताभित्र निर्वाचन प्रणालीमा रहेको कमी, कमजोरीलाई करेक्सन गर्ने हो कि, संविधान भनेको ढुंगाको अक्षर होइन । यसलाई फेर्न लेख्न, संशोधन गर्न मिल्छ ।

त्यो ढुंगाको अक्षर आफूअनुकूल बनाउन त अंकगणित पनि हुनु पर्दैन र ?
जुन अंकगणितबाट आउने परिणाम छ र हामीले अवलम्बन गरेको निर्वाचन प्रणालीलाई नै करेक्सन गर्नुपर्ने बेला भएको छ । समावेशीलाई प्रत्यक्ष निर्वाचितबाट समावेशी बनाउन सकिन्छ । भूगोलको प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचनबाट गराउन सकिन्छ । त्यसैले यसका विकल्पहरू धेरै छन् । अहिले नेपालको राजनीतिमा भर्खर चर्चाको प्रारम्भ भएको छ । तर, गण्डकी प्रदेशमा जे भएको छ, उहाँहरूले झूटको राजनीति गर्नुभएको छ । उहाँहरूले सत्ता जसरी हुन्छ कब्जा गर्ने र हडप्ने राजनीति गर्नुभएको छ । हुन त यो देशमा अदालत छ, न्याय पनि छ । त्यसले गर्दा सर्वोच्च अदालतले निर्णय गरेको छ । तर अदालतको निर्णयलाई हामी शिरोधार्य गर्दै संवैधानिक हिसाबले हामी चलिरहेका छौं र चल्न तयार पनि छौं । तर उहाँहरूले यसलाई जसरी छलकपट तरिकाले सरकारमै बस्ने जुन प्रपञ्च रचिरहनु भएको छ, यसप्रति कांग्रेसको घोर आपत्ति छ ।

कोशीमा त कांग्रेस नै दुई धारजस्तो देखियो त ?
कोशी प्रदेश सरकारको विषयमा दुई धार भन्ने होइन । पार्टीको बैठकमा कसैको आलोचना हुन सक्छ । तर समग्रमा कांग्रेस संसदीय दलको बैठकले के निर्णय गरेको छ, त्यो नै आधिकारिक निर्णय हो । निर्णयभन्दा अगाडि भएको छलफलमा तर्कहरू हुन्छन् । कसैलाई केही कुरामा चित्त नबुझ्न सक्छ । त्यो व्यक्तिगत कुरा हो । कोशीको विषयमा त्यस्तो केही निर्णय गरेको छैन । जसरी एकथरी अतिवादीहरूले यो मुलुकलाई दुर्घटनामा लैजाने, संविधानलाई दुर्घटनामा पु¥याउने देशमा अरू द्वन्द्व फैल्याउने प्रदेश होस् या संघको मध्यावधिको निर्वाचन गराउने बाटोतर्फ राजनीतिलाई उन्मुख गराएर जनतामा निराशा थप्ने काम गरेका छन्, त्यो कुरालाई रोक्न र छेक्न मुलुकमा स्थायी सरकार र स्थिरताका लागि कांग्रेस सधैं प्रतिबद्ध छ ।

वैशाख १५ गतेको उपनिर्वाचनमा कांग्रेसको आकलन ?
म कांग्रेस केन्द्रीय सदस्यको हिसाबले हामीले चुनाव जित्दैछौं भन्दा तपाईंले पार्टीको दाबी प्रस्तुत गर्नुभयो भन्नुहोला । हेर्दै गर्दा हाम्रो उम्मेदवार डम्बर खड्काजी इलाममा प्राविधिक कारणले मात्रै जम्मा ११४ मतले चुनाव हार्नु भएको हो ।

तपाईंले प्राविधिक भन्दै गर्दा त्यतिबेला गठबन्धनमा हुनुहुन्थ्यो, अहिले विपक्षीको गठबन्धन छ, तपाईंहरू एक्लै हुनुहुन्छ ?
गठबन्धनमा थियौं हामीहरू मैले त्यो बिर्सिएको छैन । गठबन्धनमा भए पनि मत ट्रान्सफरको अवस्था फरक थियो । त्यतिखेर उठेका उम्मेदवारको अवस्था र अहिले उठेका उम्मेदवारहरूको अवस्था फरक छ । त्यतिबेला जनताले जुन आशा र भरोषा व्यक्त गरेका थिए, त्यो भरोषामा तुषारापात भएकाले जनताहरू अहिले अत्यन्त सचेत भएको आधारमान्दा बझाङको प्रदेशसभा र इलामको प्रतिनिधिसभाको क्षेत्रमा हुन लागेको चुनाव जित्छौं ।

प्रचण्डलाई तपाईंहरूले चिन्दै नचिन्या भन्ने हो भने पनि नमिल्ला, तर सधैं किन धोका पाइराख्या हो कांग्रेसले ?
हामीले प्रचण्डलाई चिन्न ढिला गरेको पनि होइन, नचिनेको पनि होइन । हामीले छिमेकी फेर्न सक्दैनौं नि । मुलुकमा अहिले पाँच, सात वटा राजनीतिक दलहरू छन्, अहिलेको संविधानको बनोटअनुसार हाम्रो निर्वाचन प्रणालीले दिने परिणामअनुसार हामीले यिनै दलहरूलाई उपयोग गरेर जानुपर्ने राजनीतिक बाध्यता छ । कांग्रेसले अहिलेमात्रै माओवादीबाट हन्डर खाएको होइन । कांग्रेसले राणाबाट, राजाबाट, माओवादीबाट र अरू दलहरूबाट पनि बारम्बार हन्डर खाएको हो । तर हन्डर खाँदै गर्दा पनि तपाईंसँग कांग्रेसको केन्द्रीय सदस्य जति शालीन तरिकाले बोलिरहेको छ, २०६३–०६४ सालमा माओवादीको कुनै केन्द्रीय समितिका मान्छेलाई प्रश्न गर्दा त्यतिबेला तपाईं र तपाईंको मिडिया हाउसमा आक्रमण हुन सक्थ्यो, तर, त्यही प्रश्न २०७० सालमा सोध्दै गर्दाखेरि आवेग र उत्तेजनामा सीमित हुन्थ्यो भने अहिले सोध्दाखेरि मजस्तै शालीन हुन सक्नुहोला या नसक्नुहोला तर कुनै खतराको अनुभूति गर्नु पर्दैन । कांग्रेसको कुरा के हो भने उनीहरूलाई पनि हामीले सत्तामा राखेर काखमा राखेर प्रतिपक्षमा राखेर अरू अभ्यासमा सँगसँगै दौडाएर उनीहरूलाई पनि लोकतन्त्र र यो व्यवस्थाप्रति यो संविधानप्रति र आवधिक निर्वाचनप्रति प्रतिबद्ध बनाउँदै बनाउँदै लिएर जाने दायित्व पनि हाम्रो हो । उहाँहरू बेइमान हुनुहुन्छ, उहाँहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धता कमजोर छ, उहाँहरू जुनसुकैबेला रंग परिवर्तन गर्न सक्नुहुन्छ भन्ने कुरा बुझ्दै गर्दा पनि हामीले साथ सहयोग र सँगसँगै लिएर हिँडेको हो । किन हिँडेको हो भने यो लोकतन्त्रका लागि र देशको राजनीतिक स्थिरताका लागि हो ।

गठबन्धन फेरेपछि प्रधानमन्त्री कांग्रेसप्रति अलि बढी कडा प्रहारमा उत्रिनु भयो त ?
मुलुकको प्रधानमन्त्रीको हिसाबले प्रचण्डजी पनि मेरो नेता हो । उहाँ देशकै अभिभावक भएको नाताले कुरा गर्नुपर्छ । उहाँ गठबन्धन फेरिँदा र नफेरिँदाको अभिव्यक्तिले होइन । उहाँको बोली र व्यवहारमा परिपक्वता नै छैन । उहाँमा गाम्र्भीयता र धैर्यतामा कुनै पनि छैन । हिजो केपी शर्मा ओलीजीका भनाइ विगतमा के थिए र अहिले सत्तारूढ गठबन्धनमा जोडिएपछि के आए, हामी यसरी तल्लो स्तरमा पुगेर टिप्पणी गर्न चाहँदैनौं ।

अब नेपाली राजनीति परिपक्व कहिले हुन्छ भन्ने बहस गर्ने बेला भएन ?
यो बहस सुरु गर्नका लागि ढिला गर्नु हुँदैन । हामीले २०७२ को संविधान जारी गरेर अहिले कार्यान्वयनमा छौं । यो संविधान ढुंगाको अक्षर होइन । नेपाली राजनीतिमा चेत कहिले पलाउने हो, चेत पलाउने ठेक्का कांग्रेसले मात्रै लिएको होइन । चेत नेपालका राजनीतिज्ञमा, दलहरूमा आउन जरुरी छ । मजस्ता राजनीतिककर्मीले तपाईंजस्ता मिडियाकर्मीले आआफ्नो क्षेत्रमा प्रभुत्व जमाउने साथीहरूले अब मुलुकका लागि चिन्ता गरौं । राजनीतिक स्थिरताका लागि चिन्ता गरौं । जसरी मुलुकमा व्याप्त रहेको भ्रष्टाचार र अपारदर्शिताको अन्त्यका लागि हामीले चिन्ता गरौं । त्यसका लागि राजनीतिक स्थिरता र सबै राजनीतिक दलहरूको एकता चाहिन्छ । त्यो राजनीतिक एकता अहिलेको खाँचो र आवश्यकता हो ।

तपाईं त पोखराको, सूर्यदर्शन सहकारीको खबर के छ ?
सूर्यदर्शन होस् या सुप्रिम होस्, अपचलन गरेको छैन, त्यो नाम गरेको व्यक्ति म होइन भन्ने कुराहरू आइरहेका छन्, त्यो खालको लाजमर्दो अवस्था किन मुलुकमा निर्माण भयो, सहकारीलाई नियमन गर्ने कुरामा राज्यबाट कहीँ कतै कमजोरी भयो होला । पोखराको सूर्यदर्शन होस् कि, बुटवलको सुप्रिमको कुरा होस्, सेतीको बगरमा बालुवा गिट्टी कुट्ने मानिसहरूले आफ्नो गाँस काटेर छोराछोरीको आङ नढाकीकन भोलिका लागि भन्दै पैसा लगेर जम्मा गरेका छन् । त्यसैगरी बुटवलको तिनाउ खोलमा गिट्टी कुट्नेले पनि त्यसरी नै जम्मा गरेका हुन् । त्यसरी जम्मा गरेको पैसालाई कीर्ते गरेर दुरुपयोग गर्ने अनि शासनसत्तामा रवि लामिछानेजस्ता मान्छेहरू बसेर चर्काचर्का कुरा गरेर सुशासनका कुराहरू गर्ने, तिनका पछाडि अन्धभक्त भएर उभिने जमात मुलुकका लागि घातक हुन् । जस्ले गरेको भए पनि जनताले गरेको बचतको साँवा ब्याजसहित फिर्ता हुनुपर्छ । फिर्ता गराउनेभन्दा पनि सरकार कसलाई आरोपित गर्ने लाञ्छना लगाउने कुरामा लागेको छ ।

सहकारीको कुरा कांग्रेस प्रतिपक्षमा पुगेपछि अलि बढी उचालेको भनेर आरोप लाग्छ ?
आरोप लगाउन त पाइयो । संसदीय अंकगणितका कारण पनि कतिपय भन्छन् । हिजो जीबी राईलाई रेडकर्नल नोटिस जारी गरेकै हो, समात्ने अभियानमा रहेकै बेला कांग्रेस सरकारबाट बाहिरियो । फेरि त्यतिबेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ माओवादीकै हुनुहुन्थ्यो । अहिले त्यहाँ लामिछानेजी पुग्नु भएको छ । यसलाई निरन्तरता दिन कसले रोक्यो । सत्ता समीकरण फागुन २१ गते परिवर्तन भएको थियो । २० गतेसम्म एमाले र रास्वपाका साथीहरू यही मुद्दा लिएर सदन अवरोध गरिराख्नु भएको थियो । त्यतिखेर अहिलेको गृहमन्त्री लामिछाने प्रमाण नष्ट गर्ने र स्वार्थ बाझिने ठाउँमा हुनुहुन्थेन । अहिले त लामिछाने नै अनुसन्धान गर्नेको हेडमास्टर (प्रमुख) हुनु भएको छ । प्रमाण नष्ट गर्ने ठाउँको केन्द्रबिन्दुमा हुनुहुन्छ । त्यही भएर हामीले विरोध गरेको हो ।

अहिले तपाईंहरूले हेडमास्टर भनेर टिप्पणी गर्दै गर्दा पहिला त कुलपति नै बनाउन खोज्या होइन र ?
एकदमै होइन । नेपाली कांग्रेसको कुनै पनि तहमा वा कुनै पनि आधिकारिक निकायमा उहाँलाई तपाईंले भनेको कुलपति, प्रमुख वा प्रधानमन्त्री केही बनाउन अफर गरेका छैनौं । र अर्को कुरा चौक चौतारामा गरेका कुराहरूका आधारमा धारणा बनाउन हुँदैन । मैले सूर्यदर्शन सहकारीका बारेमा धेरै कुरा बुझेको पनि छु । बस्तुस्थितिबारे नजिकबाट बुझेको हुनाले धेरैको बिचल्ली भएको अवस्था छ । हजारौंलाई बिचल्ली बनाएर आफू निर्दोष छु भन्दै हिँड्न लाज लाग्नुपर्ने हो ।

अब नयाँ सत्ता समीकरणको चर्चा पनि चल्छ त ?
अहिले नयाँ सत्ता समीकरणको चर्चा चोक चौतारामात्रै चलेको हो । अहिले एमाले कांग्रेसको समीकरण भनेको व्यक्तिगत कुराहरू मात्रै हुन । आधिकारिक रूपमा केही पनि अघि बढेको छैन । तर के भयो भने सानो अंकगणित देखाएर मुलुकलाई बन्धक बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने कुरामा हामी पनि सचेत छौं । एउटा सहकारी ठगेर हिँडेको मान्छे मुलुकको गृहमन्त्री भएर हिँडेको छ । अनि त्यो २०–२२ सिट भएको पार्टीका कारण अहिले विभिन्न काण्डहरू हुँदा पनि बन्धक बनाएर राखेको छ । उसको मात्रै कुरा होइन, ३२ सिटको पार्टीको कुरा पनि यस्तै भएकाले हामी पनि खुद्रा पसल बन्द गर्नुपर्छ भन्नेमा पुगेका छौं ।