देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वनभोजसहित देशान्तरको ४२ औं वार्षिकोत्सव

देशान्तर


काठमाडौं । विगत ४२ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको देशान्तर साप्ताहिकले आफ्नो वार्षिकोत्सव गत साता एक औपचारिक समारोहबीच वनभोजसहित काभ्रेको कुशादेवीमा रहेको डायमण्ड हिल रिसोर्टमा मनाएको छ ।
देशान्तर साप्ताहिक र देशान्तर मिडिया प्रालिसँग आबद्ध सञ्चारकर्मी अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा मनाइएको वार्षिकोत्सवको प्रमुख अतिथि रहेका भक्तपुर २ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभाका सदस्य दुर्लभ थापाले लोकतन्त्रको स्थापना र संस्थागतका लागि देशान्तर साप्ताहिकले गरेको योगदानको उच्च प्रशंसा गरे । थापाले देशान्तर साप्ताहिक लोकतन्त्रको सच्चा पहरेदार रहेको भन्दै संविधान र व्यवस्थाप्रतिको नकारात्मक प्रचार र भ्रम चिर्न, भ्रष्टाचारको खबरदारी गर्दै सुशासनका पक्षमा जनमत बढाउन देशान्तरले निरन्तर सत्यतथ्य उजागर गर्दै आएको भनाइ राखे ।
उनले लोकतन्त्रप्रति विश्वास राख्ने हरेकले देशान्तरले पस्केका सामग्री अध्ययन गरे देशको अवस्था छर्लंग हुने बताउँदै निरन्तर प्रकाशनको लागि शुभकामना दिए ।


कार्यक्रममा अर्का अतिथि पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले देशान्तर साप्ताहिक लोकतन्त्रको पहरेदार रहेको भन्दै सत्यतथ्य र निष्पक्षरूपमा देशान्तरले देश र समाजलाई सहीमार्गमा हिँडाउन बिना पूर्वाग्रह समाचार सम्प्रेषण गर्दै ४१ वर्ष पार गर्नु चानचुने कुरो नभएको बताए । उनले पक्षधरता पत्रकारिताले जनतामा सही सूचना नजानेमा देशान्तर आज पर्यन्त सचेत देखिएको बताए । कार्यक्रमका सभापति एवं देशान्तर साप्ताहिकका प्रधानसम्पादक कविर राणाले पत्रकारिताको सिद्धान्तबाट अविचलित हुँदै कोरोना कहरमा समेत जनतालाई सुसूचित गराउन कार्यबाट देशान्तर पछि नहटेको स्मरण गरे । राणाले नेपाली पत्रकारिताको क्षेत्रमा पत्रिका प्रकाशन हुने र बन्द हुने क्रम आफूले देख्दै आएको बताउँदै निरन्तरता दिन अनेकौ चुनौती रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई कुण्ठित हुन नदिन आफूले सम्हालेको जिम्मेवारीमा साथ दिने सबै सहकर्मीलाई धन्यवाद थिए । देशान्तर मिडिया प्रालिका अध्यक्षसमेत रहेका राणाले डिजिटल प्रविधिसँगै देशान्तरलाई हिँडाउन र निरक्षरलाई पनि सुसूचित गर्न रेडियो देशान्तर र देशान्तर न्युज अनलाइनमार्फत पनि समाचार र सूचना पस्किरहेको जानकारी दिए ।


देशान्तर मिडियाका प्रबन्ध निर्देशकसमेत रहेका ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान) का अध्यक्ष कुमार भट्टराईले स्वागत मन्तव्य राख्दै देशान्तर आफैंमा एक गर्विलो इतिहास भएको भन्दै यसका अगाडि आगामी दिनमा अझै ठूलो जिम्मेवारी थपिएको बताए । एनआरएन अभियन्ता एवं समाजसेवी कपिलदेव थापाले फ्याक्ट चेक गर्नु नपर्ने गरी सामग्री पस्किने देशान्तरको विशेषता रहेको आफूले पाएको बताए ।


देशान्तर साप्ताहिकका कार्यकारी सम्पादक मुक्तिबाबु रेग्मीले विषय प्रवेश गराउँदै सहजीकरण गरेको औपचारिक कार्यक्रममा सम्पादक एवं प्रसिद्ध गीतकार लोकराज अधिकारीले देशान्तरको ४२ औं वर्ष प्रवेशसँग सम्बन्धित देशान्तर स्वागत गीत गाएका थिए । कार्यक्रमपछि आयोजित वनभोज (पिकनिक) कार्यक्रमलाई डायमण्ड हिल रिसोर्टका सञ्चालक राजन थापाले व्यवस्थापन गरेका थिए । कार्यक्रमको संयोजन देशान्तरका व्यवस्थापक सचिन दाहाल र बजार व्यवस्थापक कुमार दाहालले गरेका थिए ।