देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इलाम २ मा गठबन्धन मेरो जनतासँग हो-डम्बर खड्का

देशान्तर

प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते उप निर्वाचन हुँदै छ । उप निर्वाचनका लागि अहिले उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त भएका छन् । एमालेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा हृदयघात भएका कारण उक्त क्षेत्रमा उप निर्वाचन हुन लागेको हो । उप निर्वाचनका लागि नेपाली कांग्रेसले इलाम जिल्ला सभापति समेत रहेका डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । यसअघिको चुनाव उप विजेता भएका उनी उप निर्वाचनमा जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको देशान्तरलाई बताए । उनीसँगको कुराकानीको सम्पादित अंश ।

टिकट फिक्स गर्न त अलि समय लाग्यो, प्रचार प्रसार कस्तो हुँदैछ ?
म अहिले प्रचार प्रसारमै केन्द्रीत छु । टिकट लिन केही अप्ठेरो भएको रुपमा सञ्चारमाध्यममा आएका कुराहरु हुन् । पार्टीले सबैसँग छलफल गरेर उम्मेदवारको टुंगो लगाएको हो । नेपाली कांग्रेस सामूहिक नेतृत्वमा चलेको पार्टी भएकाले छलफल अलि लामो भए पनि सबैको सहमतिमा मैले टिकट लिएर उम्मेदवारी दर्ता गर्दै अहिले गाउँ गाउँमा चुनाव केन्द्रीत अभियान सुरु गरेको छु । मेरो क्षेत्रमा ४२ वटा वडा छन् । ती सबै ठाउँमा पुग्नका लागि पुरै कोसिस गरेर चुनावी अभियान सुरु गरेको छु ।

तपाईंलाई उम्मेदवार बनाउने या नबनाउने भन्ने विषयमा पदाधिकारीहरु विभाजित भए त ?
यसलाई पदाधिकारीहरु विभाजित भएको रुपमा भन्न मिल्दैन । सबैले आ आफ्नै तर्कहरु गर्नुभएको हो । टिकट टुंगोमा नपुग्दासम्म सबैले आफ्नो विचार राख्न नेपाली कांग्रेसमा स्वतन्त्रता छ । अन्य पार्टीमा जस्तो अध्यक्षले बोलेपछि अरु नबोल्ने भन्ने हुँदैन । उम्मेदवारका आकंक्षीहरु हामी ७ जना थियौं । सबैका आ आफ्नो योग्यता र क्षमता रहकाले सबै उम्मेदवार कांग्रेसका लागि योग्न नै हुनुहुन्छ । तर, टिकट एक जनाले मात्रै पाउने भएकाले एक जना छान्नका लागि तर्कहरु भएका हुन् । यसमा मैले कुनै अन्यथा पनि लिएको छ्रन । सबै साथीहरु चुनावी प्रचार प्रसारमा एकजुट भएर लागि सक्नु भएको छ । विश्वप्रकाश शर्मा, गगन थापा, नेताहरू भीष्मराज आङदेम्बे लगायतले दिएको फिल्ड भिजिटको जुन रिपोर्ट छ, त्यसमा अध्ययन गर्दा मेरै पक्षमा राम्रो आएको मैले सूचना पाएको छु ।
त्यसपछि भेषराज र म बीच मात्र होइन, सातैजना आकांक्षीको राम्रै रिपोर्ट आएको हो । पछिबाट हामी सबैजना बसेर सहमति गरौँ भन्ने भइसकेपछि उम्मेदवारबीचमा सहमति जुट्यो । अनि केन्द्रीय पदाधिकारीबीचमा पनि सहमति जुटिसकेपछि सर्वसम्मत रुपमा मलाई टिकट दिएर पठाउने निर्णय भएको हो ।
तपाईंकै विषयमा कसरी सहमति भयो त ?
किनभने हामी आकांक्षीहरू धेरै चरण बस्यौँ । पहिलो चरण बस्दा मलाई दुईजनाले समर्थन गर्नुभयो, दोस्रो चरण बस्दा आदरणीय केशव थापा दाइ, नगेन्द्र कुमाल र रमेश लिङ्देनले मलाई समर्थन गर्नुभयो । र, अन्तिम चरण भेषबहादुर दाइ र म पनि बस्यौँ, अनि हामीले केन्द्रले जे निर्णय दिन्छ, त्यो मान्छौँ भनेर फेरि सातैजना गइसकेपछि अनि फिल्ड भिजिटको रिपोर्ट आइसकेपछि ल तपाईं यसो गर्नुस्, तपाईंलाई नै सम्मानित ठाउँमा हामी ल्याउँछौँ भनेर भन्नुभयो ।
यसअघि ११४ मतले पराजित हुनुभएको थियो, अहिलेको अवस्था कस्तो छ ?
म इलाममा बसेर २ दशकदेखि समाजसेवामा लागेको छु । त्यहाँ मैले स्कुल, संघसंस्था, धार्मिक मठमन्दिरबाट समाजसेवा गरेवापत् दर्जनौँ सम्मान पाइसकेको छु । गरिब, दुःखी, बिरामी, प्राकृतिक प्रकोपका बेलामा, कोरोनाको बेलामा त्यहाँका नागरिकलाई र त्यहाँबाट यहाँ काठमाडौँ आएकालाई घरैसम्म पु¥याइदिएको छु । अघिल्लो पटकको चुनावपछाडि म जनतासँगै निरन्तर जोडिएको छु । अब पनि यस ठाउँबाट जितेर जाँदा मेरो लक्ष्य एउटै नै हो, समाजसेवालाई अझै बढाउँछु । त्यसकारण मैले अहिलेसम्म गरेको कामको मूल्यांकन यसपटक हुन्छ । हिजो राष्ट्रले मानेको सम्मानित व्यक्तित्वसँग मैले चुनाव लडेँ, अहिले उहाँजस्तो सम्मानित व्यक्ति छैनन् ।

इलाम २ का जनताले डम्बर खड्कालाई किन मत दिने ?
अहिले मेरो कामका आधारले मलाई भोट दिनु हुन्छ । हिजो पनि दिनुभएको हो । सम्पूर्ण मतदातालाई म सम्मान गर्दछु । त्यत्तिको शालीन व्यक्तित्व, राष्ट्रिय छवि भएको व्यक्तित्वसँग म चुनाव लड्दा हाराहारी मत दिनुभएको भनेको मलाई माया गर्नुभएको हो । अब एकपल्ट फेरि मलाई इलाम २ का जनताले सेवा गर्ने मौका दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।

अघिल्लो चुनावमा तपाईं गठबन्धनको उम्मेदवार हुनुभएको थियो, तर अहिले त्यो अवस्था त छैन ?
२०७९ को चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरेको थियो । तर गठबन्धनमा के कस्तो भयो भन्ने कुरा देशभरीकै परिणामले प्रष्ट भइसकेको छ । अनि गठबन्धनमा को कति प्रतिवद्ध भन्ने कुरा पनि चर्चा गर्न जरुरी छैन । म अहिले इलाम २ मा चुनाव लडि रहेको छु । मेरो गठबन्धन खास गरेर जनतासँग हो । विकास निर्माणसँग र, इलाममा विकास निर्माण नपाएका जनतासँग मेरो गठबन्धन हुन्छ । निरन्तर रुपमा मैले जसलाई अप्ठेरो पर्छ त्यसबेला सहयोग गरेका ती व्यक्तिहरूसँग मेरो गठबन्धन हो ।
त्यसैले अहिले इलामका मतदाताहरू अति शिक्षित हुनुहुन्छ, गठबन्धनभन्दा पनि इलामलाई कुन व्यक्तिको आवश्यकता छ? त्यो माटोमा भिजेको, त्यो बाटोघाटो चिनेको, छरछिमेक चिनेको र यो काम गर्नसक्ने, भोलि केन्द्रीय बजेट पार्नसक्ने, काम गर्न सक्ने र जनतालाई आवश्यक परेको बेलामा सेवा, सुविधा र साथ दिनसक्नेलाई उहाँहरूले यसपालि विजयी गराएर पठाउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।

तपाईं भन्दा युवा उमेरका उम्मेदवारका एमाले र रास्वपाका हुनुहुन्छ कति सहज होला त ?
दुईजना भाइहरू उठ्नु भएको छ । मतका कुरा गर्दा कसलाई कति विश्वास गर्छन् भन्नेकुरामा जान्छ । इलामी जनताले हिजोको गतिविधि हेरेर मूल्यांकन गर्नुहुनेछ । मैले गएर के गर्ने भन्ने कुरा हिजोको पुरानो गतिविधिले देखाइसकेको छ । हरेक अप्ठेरोमा परेको अवस्थामा र विकास निर्माणमा म जोडिएर काम गरिराखेको छु । भोलि म ती कामलाई निरन्तरता दिन्छु । त्यसैले उहाँहरूले मलाई विश्वास गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।

एमालेले जित्दै आएको क्षेत्र, रास्वपामा युवा, नेकपा एसको आफ्नै उम्मेदवार कोसँग मुख्य प्रतिस्पर्धा ?
पटकपटक विश्वास गरेर चुनाव जितेका पार्टी छन्, तर, त्यहाँको विकास निर्माण कस्तो भयो भन्ने कुरा मलाईभन्दा बढी त्यहाँका सर्वसाधारणलाई थाहा छ । त्यसैले अब भने काम गर्न सक्ने व्यक्तिको खोजी सो क्षेत्रमा भइरहेको छ । त्यसमा व्यक्ति र पार्टी हाम्रै छ । इलाम २ को अहिलेको अवस्था हेर्नु त । हाइवेबाहेक भित्र छिर्ने कति ठाउँका बाटोघाटो कस्तो छ? टेलिफोन टावर कति ठाउँमा पुगेको छ? कति ठाउँमा अस्पतालको सम्पूर्ण सुविधा पुगेको छ? इलाम २ का धेरै ठाउँ विकास निर्माणको प्रतीक्षामा बसेको छ । पश्चिमको कर्णाली हो भनेर भन्ने गरिन्थ्यो पहिला, अहिले पनि अवस्था उस्तै छ ।

कांग्रेसभित्रै असन्तुष्टि छ नि त । जिन्तदगीभर कांग्रेस हुने, भोट चाहिँ अन्तै हाल्ने चलन बस्यो भनेर तपाईंहरूकै नेता भन्नुहुन्छ ?
जिन्दगीभर नेपाली कांग्रेसमा रह्यो, चुनावमा भोट चाहिँ नदिने स्थिति अब रहँदैन । नेपाली कांग्रेसभित्र गठबन्धन गरेका छौँ । टिकट लिन ढिलाइ ग¥यौँ तर सबै सहमत गराएर भयो । एकले अर्कालाई सहयोग गर्ने हामीबीच सहमति भइसकेको छ । एकदम सबै एकजुट भएर लाग्नु भएको छ । म निकट भनेको इलामेली जनतासँग हो । मलाई आवश्यक पर्ने नेताहरूसँग पनि निकट छु । किनभने, जसले मलाई माया गरिराख्नुभएको छ, त्यसमा गगन थापाजी पर्नुहुन्छ । आदरणीय विश्व दाइ, भीष्म दाइ पर्नुहुन्छ । उहाँहरूको संयुक्त सहमतिमै मलाई टिकट दिइएको हो । सभापतिको एकल निर्णयले दिएको होइन नि । संसदीय बोर्ड र पदाधिकारी बैठक बसेर सर्वसम्मत टिकट दिइएको हुनाले सबै पार्टीका अभिभावकहरू मलाई सहयोग गर्न आउनु भएको छ र अझैं केही दिन बाँकी छ अरु पनि आउनु हुन्छ ।

वडामा कांग्रेसको अवस्था के छ ?
चुलाचुली गाउँपालिका हामीले दुई तिहाईले जितेका छौँ । त्यो वडामा मत गन्दा हामी अगाडि छौँ । २२ वटा वडा हामीले जितेका छौँ, ती वडावडा जोड्दा हामीसँग ३६ हजार मत छ अहिले । एमालेसँग ३२ हजार मत छ । चार हजार मत त अहिले हामीसँग यसैपनि बढी छ र हामी अगाडि नै छौँ ।

पहिचानवादी उम्मेदवारको प्रभावले तपाईंलाई सहज कि असहज ?
पहिचानवादीले कसको मत काट्छन्, हामीले देखिसकेका छैनौँ नि । पहिचानको विषयमा १४ वटा सभापतिबाट निर्णय गराएको छु, कि, पहिचान भनेको हाम्रो सभ्यता हो । सभ्यतामा हामीहरू रमाएका छौँ ।
त्यसकारणले यो कोसी नामकरणको विषयमा नेपाली कांग्रेसले सोच्नुपर्छ । र पहिचानको पक्षमा लड्दै आएको साथीभाइलाई उचित न्याय दिनुपर्छ भनेर मैले निर्णय नै गराएर सभापति शेरबहादुर देउवाज्यू समक्ष राखेको छु । त्यसकारण पहिचानको पक्षमा म पहिलेदेखि बोल्दै आएको छु । यस्तै नामाकंनको विषयमा पनि पार्टीभित्रै धारणा राखिरहेको छु । त्यसकारणले यो समस्या समाधान गर्ने पनि नेपाली कांग्रेस हो । मलाई पहिचानवादीको भोट आउँछ ।
तपाईंले कांग्रेसको ३६ हजार र एमालेको ३२ हजारको मत, रास्वपाले ल्याउने मतबारे ?
मत अहिले हामीले सर्वेक्षण गरेका छैनौँ । उहाँहरू भर्खर आउनुभएको साथीहरू हुनुहुन्छ । इलाममा उहाँहरूले धेरै उम्मेदवार लिन खोज्नुभयो । पछि हाम्रै साथीलाई उम्मेदवार बनाउनुभयो । उहाँहरूको मत कति आउला म ठ्याक्कै भन्न सक्तिनँ ।

आजको दिन तपाईंको प्रतिस्पर्धी एमाले कि रास्वपा कि पहिचानवादीले उठाएका उम्मेदवार?
मेरो प्रतिस्पर्धी उठेका उम्मेदवार सबै हुन् । किनभने सबै उम्मेदवार म जित्छु भनेर हिँडिराख्नुभएको छ ।

इलाममा धर्मगुरु आत्मानन्द लिङ्देनको फ्याक्टर पनि चल्छ नी है ?
मलाई धर्मगुरु आत्मानन्द लिङ्देन गुरुको आशीर्वाद छ । किनभने, म गुरुको भक्त हुँ । मैले गुरुलाई कांग्रेसको तर्फबाट एउटा ठूलो ‘नागरिक अभिनन्दन’ गरेको छु । किरात धर्मका प्रचारक आत्मनन्द लिङदेन गुरुज्यू र पवित्रा आङ्मा दुईजनालाई पहिलोपल्ट एकैठाउँमा राखेर नागरिक अभिनन्दन गरेको छु । त्यस्तो सम्मान अरु पार्टीले दिएका छैनन् ।

२४ वर्षको एमाले पकड तोड्ने बताउनुभयो । त्यसको सबभन्दा बलियो आधार के ?
पहिलो, इलाम २ का सबै जनता, धर्मगुरु, बुद्धिजीवी लगायतले साथ दिनुहुनेछ । दोस्रो, त्यहाँको समस्या समाधान गर्ने मसँग योजना, लक्ष्य र क्षमता छ । केन्द्रीय तहदेखि प्रदेश सम्म विकासको खाका कोर्ने मात्र होइन फिल्डमै काम गर्नसक्ने उर्जा मसँग छ । निरन्तर खटिएर आएको हुनाले म त्यहाँ जनताका समस्या समाधान गर्न सक्छु भन्ने विश्वास दिलाएको छु ।