देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘कांग्रेस एमाले तत्काल सहकार्य हुँदैन’ -राजेन्द्र केसी

देशान्तर


नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र केसी (राजन)ले अहिले नै नेपाली कांग्रेस र एमालेका बीचका सहकार्य हुने सम्भावना नरहेको बताउँछन् । देशान्तरकर्मी मुुक्तिबाबु रेग्मीसँगको कुराकानीका क्रममा केसीले अब ढुक्कैसँग कांग्रेस प्रतिपक्षमा बसेर जनताका सवालमा सरकारको खबरदारी गर्नुपर्नेमा जोड दिए । यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नैतिकता नदेखाएको बताउँदै उनीमाथि लागेको सहकारी प्रकरणको आरोपबाट संसदीय छानबिन समितिबाट छानबिन गर्नुपर्नेमा जोड दिए । केसीसँगको कुराकानीको सम्पादित अंश ।

प्रतिपक्षको बेन्चमा पुगेपछि नेपाली कांग्रेसका सांसदहरूको सक्रियता ह्वात्तै बढ्यो है ?
हाम्रो सक्रियता हिजो पनि थियो । आज पनि हामी सक्रिय छौं । संसदीय अभ्यासमा नेपाली कांग्रेस जहिले पनि सक्रिय छ । प्रतिपक्षको भूमिका भनेको सत्तापक्षले गलत काम ग¥यो भने अलि चनाखो भएर जनतालाई सुसूचित गर्ने मुख्य काम हो । त्यो भूमिकामा नेपाली कांग्रेस जहिले पनि सशक्त छ ।

२०७४ को प्रतिपक्ष र अहिलेको प्रतिपक्षमा अलि भिन्नता देखिएको हो ?
एउटा इस्युको आधारमा भिन्नता देखिने हो । अहिले पनि इस्यु धेरै छन् । हामीले सडक अवरुद्ध गर्ने, रेलिङ भाँच्ने, टायर बाल्ने, सार्वजनिक सम्पत्ति नस्ट गरेका छैनौं । हामीले संसद्को माध्यमबाट गलत कुराको विरोध गर्दै जनतालाई जानकारी गराइरहेका छौं । हामीले विगतमा एमाले प्रतिपक्षमा बस्दा गरेको जस्तो टायर बाल्ने, रेलिङ भाँच्नेजस्ता गलत काम गर्दैनौं । हामीले समसामयिक कुरा, जनताको जनजीविकाको कुरा र भ्रष्टाचारविरुद्ध सदनमा आवाज बुलन्द गर्छौं अर्थात् गलत कुराहरूको विषयमा जनतालाई जानकारी गराउने मुख्य दायित्व प्रतिपक्षमा भएको नाताले नेपाली कांग्रेसकै हो ।

आफ्नो गठबन्धन टिकाउन नसक्ने अनि संसद्मा लगातार सरकारको विरोध गरिरहने भनेर पनि कांग्रेसलाई आरोप लगाउँछन् ?

हामीले अहिले पनि संसद् अवरोध गरेका छैनौं । विगतमा नेकपा एमाले प्रतिपक्षमा रहँदा ५७ दिनसम्म संसद् अवरोध गरेको इतिहास छ । हामीले अहिले मुलुकको गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा आरोपित हुनुहुन्छ, सहकारीका हजारौं पीडित छन्, न्याय निरूपण हुँदैन कि भनेर हो । हामीले उहाँको व्यक्तिगत कुरा त गरेका छैनौं । तर, जसले ‘ल एन्ड अर्डर मेन्टेन’ गर्छ, आम जनतालाई न्यायको प्रत्याभूति दिनुपर्ने हुन्छ, त्यस्तो ठाउँमा आरोप लागकै व्यक्ति रहँदा अप्ठेरो हुने भएकाले त्यसका लागि संसदीय छानबिन समिति बनाऔं भनेर कांग्रेसले सदनमा भन्दै आएको छ । संसदीय छानबिन समिति बनाएपछि जे छिनोफानो हुन्छ, त्यसपछि उहाँले काम गर्ने हो । आरोपित व्यक्ति नै गृहमन्त्री बन्नु भनेको त ‘कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ पनि भयो । सहकारीकै ठगीको आरोप उहाँलाई छ । त्यही कुरा कांग्रेसले उठाएको हो हो । संसद्मा जनार्दन शर्मा पहिला अर्थमन्त्री हुँदा बाहिरको मान्छेलाई बोलाएर करका दर फेरबदल गराएको आरोप लाग्दा एमालेले प्रतिपक्षमा हुँदा संसदीय छानबिन समिति गठनको माग गरेको थियो । त्यसकै आधारमा समिति गठन भएर पछि ‘क्लिन चीट’ पाएर पुनः अर्थमन्त्री बन्नुभयो । त्यस्तै विगतमा डा. रामशरण महतले राष्ट्रसंघमा काम गर्नुहुन्छ, विदेशमा पैसा राख्नुभएको छ भनेर आरोप लाग्दा राजीनामा दिनुभयो । एमालेकै शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने नेपाली चेलीहरूको विषयमा दिएको अभिव्यक्तिका कारण राजीनामा दिनुभयो । त्यसैले मन्त्रीजस्तो गरिमामय पदमा बस्ने व्यक्तिलाई एउटा आरोप लाग्दाखेरि नैतिकताको आधारमा अलग हुने वा अर्को मन्त्रालमा जाने र फाइनल भएपछि जे हुन्छ त्यही अनुसार जिम्मेवारी लिनुपर्छ भनेर नेपाली कांग्रेसले संसद्मार्फत जिम्मेवारपूर्ण कुरा गर्दाखेरि के हामी विरोधी भयौ र ?
आरोप लागेको भन्दैमा रोस्ट्रममा उभिएर गृहमन्त्रीलाई आफ्ना कुरा राख्न दिन मिल्दैन, कांग्रेसले किन त्यसमा अवरोध गरेको त ?
सकिन्न । यसअघि नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बेला रविजीले नै ‘टेरामेक्स’ को आरोप लागेकाले उहाँले स्वास्थ्यसम्बन्धी विधेयक सदनमा पेश गर्न खोज्दा कुनै पनि हालतले आरोप लागेको व्यक्तिलाई रोस्ट्रममा जान दिँदैनौं भनेपछि संसद्को कार्यसूचीबाट हटाउन लगाएको थियो । अस्ति पनि हामीले पहिलो दिन के भन्यो भने, राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्ने कार्य सूचीमा आएको थियो, उहाँलाई हामीले उहाँलाई आरोप लागेकाले रोस्ट्रममा नजानुस् र बजेटको प्राथमिकता र सिद्धान्तको छलफल नियमित गरौं भनेर भन्यौं । पछिल्लो बैठकमा पनि हामीले राजीनामा नदिने भए संसदीय छानबिन समिति बनाऔं भनेर कुरा राखेका थियौं । हामीले नराम्रो करा गरेका छैनौं ।

मोहन बस्नेतको राजीनामा माग्दा त्यतिबेला तपाईंहरूले बेवास्ता गरेको हो नि, अब अहिले तपाईंहरूले रविजीको राजीनामा माग्दा सत्तापक्षले नमान्दा अब के हुन्छ ?
मोहन बस्नेतलाई अख्तियारले चिठी काट्यो भनेपछि नेपाली कांग्रेसले कानुनको राज्य मान्छ, अख्तियारमा गएर तपाईंले बयान दिनुपर्छ, अख्तियारजस्तो एउटा संवैधानिक आयोगले तपाईंमाथि लागेको आरोप लागेकाले छानबिनमा सहयोग गर्न भनेका हौं । पहिलोपटक बहालवाला मन्त्री अख्तियारमा गएर बयान दिनुभयो । आजसम्म कुनै पनि मन्त्रीले बयान दिनुभएको छैन । र हाउसमा उहाँको स्वास्थ्यसम्बन्धी विधेयक थियो । रविजीहरूले कुरा उठाउनुभयो । उहाँलाई आरोप लागेको छ, अख्तियारमा बयान पनि दिनुभएको छ, त्यस्तो व्यक्तिलाई रोस्ट्रममा जान दिँदैनौं भन्नुभयो । अनि हामीले सहज रूपमा कार्यसूचीबाट हटाउन दियौं । कानुनी राज्यको सम्बन्धमा नेपाली कांग्रेसका नेताहरू भ्रष्टाचारका ठूला÷ठूला मुद्दामा अदालतबाट फैसला आएपछि जेल जानुभएको छ, आफ्नो राजनीतिक जीवन समाप्त गर्नुभएको छ, यस विषयमा नेपाली कांग्रेस कहिल्यै बोलेको छ र ? नेपाली कांग्रेस कुनै पनि हालतले कानुनी राज्यको पालना गर्छ । र कानुनले गरेका निर्णयहरूको आधारमा कुनै पनि व्यक्तिलाई चाहे नाता होस् या ठूलै नेता नै किन नहोस्– जोगाउनका लागि पछि लाग्दैन ।

संसद्मा प्रधानमन्त्रीले जवाफ दिँदा रविजीले क्लिनचीट पाइसक्नुभयो, उहाँको विषयमा थप कुरा गर्न पर्दैन भन्नुभयो, अब कांग्रेसले के गर्ने ?
प्रधानमन्त्री प्रचण्ड पर्यटकीय राजधानी पोखरा जाँदाखेरि पीडितहरूले ज्ञापनपत्र नै बुझाएका थिए । प्रधानमन्त्री प्रचण्ड न्यायाधीश होइन । उहाँले कसैलाई क्लिनचीट दिने त होइन । प्रधानमन्त्रीले रविको बारेमा बोलेपछि त्यसको प्रतिवाद तुरुन्त हाम्रो मुख्य सचेतक रमेश लेखकले गर्नुभएको थियो । हामीले रवि आरोपित हुनुहुन्छ, उहाँमाथि यो÷यो आरोप छ, यसैगरी महामन्त्री गगन थापाले पनि भन्नुभएको छ । ग्यालेक्सी टीभी सञ्चालन गर्दाखेरि रविले सहकारीबाट पैसा लिनुभएको छ । यी जम्मै आरोप लागेको अवस्थामा सरकारमा जानका लागि गृहमन्त्री नै चाहिने, यसले गर्दा हामीलाई पनि आशंका गर्ने प्रशस्त सुविधा दिएको छ । जम्मै लागेका आरोपबाट मुक्त हुनलाई गृहमन्त्री माग्नुभएको हो कि ?

के पनि भन्दै छ रास्वपा भने ‘अहिले गृहमन्त्रीको विवाद गर्नुभयो, फागुन २१ मा त रविलाई प्रधानमन्त्रीकै अफर गर्नुभयो’ भन्छ त ?
फागुन २१ गते उहाँलाई प्रधानमन्त्रीको अफर गरेको हो भने, अडियो पनि होला, भिडियो पनि होला, कल डिटेल पनि होला, कसले अफर गरेको हो सार्वजनिक गरे भैगो त । हाम्रो केन्द्रीय समितिमा यस्ता कुराबारे छलफल नै भएको छैन । आफैंले आफैंलाई ‘स्टन्ट’ गरेर अरू दललाई अपमानित गर्ने काम त भएन नि । हाउसमा उहाँका सांसदहरूले बोल्न पाएकै छन्, उहाँहरूले नै सार्वजनिक गरे हुन्छ । प्रमाण छ भने अडियो नै सदनमा ल्याएर सुनाए भैगो त । हामीलाई प्रधानमन्त्री अफर कांग्रेसले गरेको थियो, हामीले त्यो अफर नमानेकाले अहिले कांग्रेसले विरोध गरिरहेको छ भनेर जनतालाई अडियो सुनाइदिए हुन्छ । यो भयो भने को सत्य को असत्य सबै कुरा जनताले पनि छर्लङ्ग बुझ्छन् । यस्तो भयो भने त रविजीलाई नै फाइदा हुन्छ । जनताले रवि निर्दोष रहेछन्, कांग्रेसले गलत कुरा गरेर प्रतिशोध साधेको मात्रै रहेछ भनेर बुझ्छन् । यसले त रास्वपालाई नै फाइदा पुग्ने हुँदैन र । किन ढिला गरेको चाँडो सार्वजनिक गर्नुस् । अहिले पनि अर्बौ अरब हिनामिना हुँदा हजारौं सहकारी पीडित सडकमा हुनुहुन्छ । त्यो पीडकमध्ये एक रविजी पनि हुनुहुन्छ त्यसको प्रमाण हामीसँग छ । प्रमाण नभइकन नेपाली कांग्रेस बोलेको पनि छैन । उहाँले ऋण पनि लिनुभएको छ । उहाँ इन्भल्भ पनि हुनुहुन्छ ।

केही समयपहिला त रविजीले म पनि पीडित हुँ है पीडक होइन भन्नुभएको थियो है ?
त्यही त भनेको । उहाँ पीडित हो की पीडक हो त्यो त पछि स्पष्ट होला । सहकारीको कुरा के हो भने, सहकारी बैंक होइन । सहकारीको स्पष्ट उद्देश्य के हो भने सहकारीका सदस्यबीच ऋण आदानप्रदान गर्ने, प्रवाह गर्ने एउटा संस्था हो । सामान्य भाषामा भन्दा गर्जो टार्ने, सानो सानो भुइँमान्छेहरू मजदुर किसानहरूको पैसा संकलन गरेर आपसमा सानो उद्योग सञ्चालन गरेर स्वालम्बी बन्ने पनि हो । तर, त्यही सहकारीबाट पचासौं करोड लगाएर आफू त्यहाँ एमडी भएर, त्यही पैसाले गाडी पनि चढ्नुभयो । प्रधानमन्त्रीले उहाँको विषयमा कुरा गर्दा रवि सहकारी सञ्चालक पनि होइन, सहकारीकर्मी पनि होइन, कोषाध्यक्ष र सदस्य पनि होइन भन्नुभएको छ । तर, हामीले रविले कागज गरेको, गाडी किन्दा ऋण लिएको भौचर हामीसँग सुरक्षित छ । उहाँ सहकारीकै सदस्य होइन भनेर प्रधानमन्त्रीले कसरी भन्नुभयो, त्यसैले प्रधानमन्त्रीजीलाई गलत इन्फर्मेशन छ । तर हामी नेपाली कांग्रेसका सदस्यहरू संसद्मा छौं, त्यहाँका हामी कोही पनि न्यायाधीश होइनौं ।

संसदीय अंकगणितलाई हेरेर चर्चा गरियो भने के हुन्छ ? यो त रविभन्दा पनि सरकारमाथि नै हमला हो भन्ने बुझाइ छ ?
सरकारमाथिकै हमलाको रूपमा बुझाइ सबैको आ/आफ्नै होला । जुन संविधान र २०७९ को जनादेशले गर्दा एउटामात्रै दलको सरकार बन्ने अवस्था छैन । यस्तो अवस्थामा दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्न सक्ने अवस्था छ । त्यहाँ संसदीय गणितको कुरालाई हामीले नकार्न सक्दैनौं । तर अहिले हामीले सत्ता पाउँ भन्या छ र, रविजीले आफै गृहमन्त्री हुँदाखेरि न्याय निरूपण उहाँबाट हुँदैन । उहाँले अर्को मन्त्रालय लिए पनि हुन्छ, गृह मन्त्रालय अरूलाई जिम्मा दिए पनि हुन्छ । गृह नै चाहिन्छ, गृह नै चाहिन्छ भन्ने रविजीको एकतर्फी रटान छ । र उहाँ आफैं आरोपित भएकाले यहाँ कतै शंकाको घेरामा हुनुहुन्छ । कतै यसलाई दबाउन त होइन कि भनेर नै नेपाली कांग्रेस जस्तो प्रतिपक्षले दलले जनतालाई सुसूचित गर्नुपरेको हो ।

सुन प्रकरणमा त फेरि गृहमन्त्रीलाई स्वागत गर्नुभएको छ है ?
हामीले सुन प्रकरणमा चालेको कदमको स्वागत गरेका छौं । भ्रष्टाचारीको रूप, रङ, धर्म, जात र नागरिक पनि हुँदैन । निर्मम रूपले तेरो मेरो कोही पनि नभनिकन भ्रष्टाचारीलाई जगैदेखि कारबाही गर्नुपर्छ । भ्रष्टाचारीलाई कारबाही गर्दा हामी रविजीका पक्षमा छौं । पछि अरू रवि आउलान, जो आए पनि नेपाली कांग्रेसको एजेन्डा पनि के हो भने, कुनै पनि हालतले मुलुकमा भ्रष्टाचारलाई जगबाटै फाल्न सकिएन भने यो मुलुक समृद्ध हुन सक्दैन र जनतालाई समृद्ध बनाउन सकिन्न, त्यसैले भ्रष्टाचारलाई जगैबाट फाल्ने सुशासन र सेवा प्रवाह चुस्तदुरुस्त बनाएर जनतालाई दिने सम्बन्धमा हामी सधैं साथ दिन चाहन्छौं । तर, रविजीले अहिले जुन किसिमले गृहमन्त्री सम्हाल्नुभएको छ, उहाँ आरोपित भएको व्यक्ति भएको हुनाले उहाँले त्यस किसिमको सेवा प्रवाह गर्न सक्नुहुन्न कि भन्ने हाम्रो आशंका हो ।

अब कांग्रेस कसरी अघि बढ्छ, केन्द्रीय समितिलगायतका कुराहरू कहाँ पुगेका छन् ?
महासमितिको बैठकपछि केन्द्रीय समितिको बैठक बसेको छैन । महासमितिको बैठकपछि केन्द्रीय समितिबाट प्रतिवेदनहरू अनुमोदन गर्ने कुरा थियो । संसदीय दल र पदाधिकारीका बैठक बसिरहेका छन् । अब हामी केन्द्रीय समितिको बैठक बसेर आगामी दिनका थप कार्यक्रमहरू तय पनि गर्छौं ।
भनेको कांग्रेस अब केन्द्रीय समिति पछाडि फेरि समुदायकेन्द्रित हुने हो ?
नेपाली कांग्रेसले १४ औं महाधिवेशनपछि घर/घर जाऔं कांग्रेस जिताऔं देखि लिएर समुदायमा कांग्रेस अभियान सुरू गरेको थियो । समुदायमा कांग्रेस अभियान चलिरहेका बेला केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी वितिसकेपछि अभियान स्थगन भएको छ । नेपाली कांग्रेस आम नेपाली जनतासामु सुखदुःखमा सामेल हुने र मुलुकलाई कसरी समृद्ध गर्ने सन्दर्भमा लागिरहन्छ र निरन्तर लागि पनि रहन्छौं । कांग्रेसबाट केही कमीकमजोरी भएको छ । कांग्रेस शतप्रतिशत दूधले नुहाएको छ भनेर म भन्न सक्दिनँ । कांग्रेसले यो मुलुकमा धेरै राम्रो गरेको हो, ठीक ढंगले यो मुलुकलाई हाँक्न सकेको हो भने २०१५ सालमा दुई तिहाइ ल्याएर आएको, २०४८ सालमा बहुमत ल्याएको, २०५६ सालमा बहुमत ल्याएको, २०७० सालमा कम्युनिष्टहरूले संविधान बनाउन नसकेका बेला ठूलो पार्टी भएको हुनाले शान्ति पनि बहाली ग¥यौं र संविधान पनि जारी गर्न सफल भएको पार्टी अहिले पनि निरन्तर जनताको सामु छ ।

जति कुरा गरे पनि कांग्रेसको ढुलमुले नीतिले पनि त अप्ठेरो परेको होला, मतदातालाई कतै हसिँया हथौडामा भोट हाल भन्नुहुन्छ, कतै कलम रोज भन्नुहुन्छ ?
२०७४ को निर्वाचनमा मुलुकमा कम्युनिष्टहरू एक ढिक्का हुँदाखेरि उनीहरूको मत बढ्यो र कांग्रेसले इतिहासमै लज्जास्पद हार व्यहोर्न पुग्यो । फेरि कम्युनिष्टहरू मिले भने हामी कमजोर हुन्छौं कि भन्ने पार्टी सभापति शेरबहादुर देउवाको भनाइ रह्यो र हामीले पनि त्यतिबेला केन्द्रीय समितिको बैठकमा माओवादी अस्थिर र ढुलमुले भएकाले उसँग मिल्ने निर्णय घातक हुन सक्छ भनेर कुरा राखेका थियौं । त्यतिबेला गठबन्धन नगरौं भनेर महामन्त्रीलगायतका साथीहरूले पनि राख्नुभयो । तर बहुमतले नै स्थिर सरकार नेपालमा अहिलेसम्म हुन सकेन । कमसेकम यो गठबन्धन भयो भने स्थिर सरकार हुन्छ, पाँच वर्षसम्म स्थिर सरकार दिएर हामीले नेपालको कायापलट गर्छौं र विकासका लागि स्थिर सरकार बन्छ भनेर नै गठबन्धनको निर्णय गरेको थियो । तर त्यो अत्यन्त घातक र निर्मम निर्णय थियो । नेपाली कांग्रेसजस्तो दलले त्यो निर्णय गर्न नहुने थियो । तर, २०७४ को जनादेशपछि हामी अलि तर्सिएको, कम्युनिष्टको एकताले गर्दा लोकतन्त्रवादीलाई परेको चोटले गर्दा हामीले गठबन्धन गरेको हो । त्यो गलत निर्णय हामीबाट भएछ । सभापतिको जोडबलले मात्रै गठबन्धन भए पनि हामीले तितो अनुभव निर्वाचनकै बेला भोगेका थियौं । तर, मैले मेरो क्षेत्र काठमाडौं– १० मा गठबन्धन गरिनँ । मलाई माओवादीकालाई प्रदेशमा उठाउने भन्या थियो, मैले मानिनँ । मैले माओवादीको ढुलमुले नीति देखेको छु । २०६४ सालमा प्रचण्ड मेरै क्षेत्रमा आउनुभयो म पराजित भएँ । २०७० सालमा आउँदा मसँग उहाँ पराजित हुनुभयो, २०७४ मा उहाँ चितवन जानुभयो, २०७९ मा उहाँ गोर्खा जानुभयो । प्रचण्ड भनेको आफूलाई मात्र केन्द्रित गर्ने नेता हो । जसरी पनि निर्वाचन जित्ने र सत्तामा रहिरहने ध्याउन्नमा मात्रै केन्द्रित हुनुभयो । ठूला÷ठूला नेताहरूका देश÷विदेशका उदाहरण हेर्ने हो भने निर्वाचनभन्दा फलानो जिल्ला र क्षेत्र भनेर स्पष्टजस्तै हुन्छ । जस्तो सभापति देउवा डडेलधुरामा २०४८ देखि सधैं निर्वाचन जितेर आउनुभएको छ, झापामा केपी ओली, इलाममा झलनाथ खनाल, रौतहटमा माधव नेपालको जस्तो प्रचण्डको कुनै पनि स्थिर क्षेत्र नै छैन ।
२०७४ सालमा २३ स्थानमा सीमित भएको काँग्रेसले प्रतिपक्षको भूमिका सहजै स्वीकार गरेर बसेको हो । तर केपी ओलीले झन्डै दुई तिहाइ बहुमतको सरकार टिकाउन सक्नुभएन ।

अब महासमितिको प्रतिवेदन परिमार्जन गर्ने कुराको च्याप्टर क्लोज होइन त ?
महासमिति बैठकबाट जे पारित भयो– त्यो नै लागू हुन्छ । केन्द्रीय समितिबाट परिमार्जन गर्नुपर्ने आवश्यकता नै परेन । नेकपा माओवादीजस्तो दलसँग नेपाली कांग्रेसले कुनै पनि हालतमा प्रि–इलेक्शन एलायन्स गर्दैनौं । प्रि–इलेक्शन गठबन्धन दलको गठबन्धन हुँदो रहेनछ ।

अब एमालेसँग नेपाली कांग्रेसको सहकार्य कहिले सुरू हुन्छ ?
अहिले नै कांग्रेस एमालेको सहकार्य हुने कुराको विश्वास गर्दिनँ ।

ढुक्क प्रतिपक्ष होइन त ?
समीकरणले जे पनि हुन सक्छ । ढुक्क त कसरी भन्ने । एक वर्षमा तीनपटक विश्वासको मत लिइसक्नुभयो, संविधान नै त्यस्तै छ हाम्रो, नेपाली कांग्रेस अब पूरै समय प्रतिपक्षमा बस्छ भनेर भविष्यवाणी त गर्न सक्दिनँ । तर कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ । ढुक्कसँग प्रतिपक्षमा बसेर सकारात्मक हिसाबले मुलुकको समृद्धिका लागि काम गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो । अहिले जुन किसिमको समीकरण छ– त्यति राम्रो समीकरण बनेन कि भन्ने कुरो छ । मेरो चाहना के हो भने कम्युनिष्टहरू एक पार्टी हुन्, डेमोक्र्याट (लोकतान्त्रिक) हरूको एउटा पार्टी होस् । संसारमा राम्रो विकास भएका देशहरूमा द्विदलीय सिस्टम हुन्छ ।