देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा अस्वाभाविक उछाल

देशान्तर

सेयर बजारमा भएको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक नभएको नियामक निकाय धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । सबै पक्षबाट राम्रो अवस्था नभएका धेरै कम्पनीका सेयर मूल्य उच्च अंकले बढेकाले बजारको वृद्धि अस्वाभाविक देखिएको निष्कर्ष अध्ययनले निकालेको हो ।

गत असारको तुलनामा केही कम्पनीको सूचीकृत मूल्यमा अस्वाभाविक वृद्धि देखिएको र उच्च मूल्य वृद्धिको यथोचित कारण यकिन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । यही आधारमा बजारमा सबै कम्पनीको मूल्य वृद्धि अस्वाभाविक भएको रूपमा बुझ्न नहुने बोर्ड स्रोतले बताएको छ । बोर्डले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा पनि बुझाएको छ । बजार सुधारका लागि केही पक्षमा अर्थ मन्त्रालयको सहयोग र समन्वय पनि आवश्यक देखिएकाले बोर्डले प्रतिवेदन बुझाएको हो ।

अर्थ मन्त्रालयबाट सोमबारसम्ममा कुनै प्रतिक्रिया आइनसकेको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने अध्ययनले केहीबाहेक धेरै कम्पनीको सेयर मूल्यको वृद्धि स्वाभाविक देखाएको बताए । लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र ठप्प भएको, अनलाइनबाटै कारोबार गर्न सकिने, ब्याजदर घटेको, रेमिट्यान्स बढेकोलगायत कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको उनले दाबी गरे । बढ्दो बजारमा अनुशासनको अभाव भने देखिएको उनले स्वीकार गरे । ‘बजार प्रुडेन्सियल रूपमा चल्नुपर्ने हो । त्यो हुन सकेन, बिस्तारै बजारले अनुशासन गुमाउँदै गरेको देखिन्छ,’ उनले भने, ‘बजार अस्थिर बन्यो ।’ कान्तिपुर दैनिकमा खबर छ ।