देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

औचित्यहीन बन्दै लगानी सम्मेलन

देशान्तर


काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउने उद्देश्यले गर्न लागिएको दुईदिने लगानी सम्मेलन तयारी अन्तिम चरणमा पु¥याइए पनि अहिलेसम्म ठूला विदेशी लगानीकर्ताहरूले लगानी सम्मेलनमा रुचि नदेखाएको लगानीबोर्डको एक सूत्रले देशान्तरलाई बताएको छ । विश्वका प्रसिद्ध धनीहरू टेस्लाका सीईओ एलन मक्स, फेसबुकका मार्क जुकरवर्ग, अलिबाबाको ज्याक मा, छिमेकी भारतका सबैभन्दा धनी मुकेश अम्बानी, अर्बपति गौतम अडानीजस्ता चर्चित व्यक्तिहरूलाई सुरुमै निम्ता पठाए पनि उनीहरू कसैले पनि नेपालको लगानी सम्मेलनलाई टेर पुच्छर नै लगाएनन् ।


अघिल्लो सत्ता समीकरणमा नेपाली कांग्रेसबाट अर्थमन्त्री बनेका डा. प्रकाशशरण महतले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि पहल गर्दै लगानी सम्मेलनको तयारी थालेका थिए । कांग्रेस पनि सरकारको सहयात्री भएका बेला विदेशी दातृ तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू नेपालप्रति आकर्षित भए पनि अहिले कम्युनिस्टहरूकै हातमा सबै कुरा हुँदा विदेशीहरू नेपालसँग ढुक्क हुन सक्ने अवस्था छैन । माओवादीका प्रधानमन्त्री र अर्थमन्त्री पनि उही पार्टीका र विभिन्न काण्डैकाण्डमा पर्ने व्यक्तिहरूसँग नै अर्थतन्त्रको चाबी रहेकाले अहिलेसम्म लगानी सम्मेलनमा फलाना—फलाना व्यक्तिहरूको उपस्थिति हुन्छ भन्ने खाका पनि सरकारले सार्वजनिक गर्न सकेको छैन । अहिले लगानी सम्मेलनको तयारीमा जुटे पनि यसको औचित्य नै नभएको आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् । अहिले पनि कानुन संशोधनलगायतका कुराहरू बाँकी रहेकाले ढुक्कसँग नेपालमा लगानी गर्ने वातावरण नभएको अर्थशास्त्रीहरूको तर्क छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा.रघुवीर विष्टले लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने वातावरण नै नभएको बताउँछन् । बैंकमा पैसा थुपिँ्रदा पनि अहिलेको राज्यको नीति नियमकै कारण ढुक्कसँग काम गर्न नसकेको उनको भनाइ छ ।


उनले भने ‘अर्थतन्त्रमा समस्या छ, अर्थमन्त्री परिवर्तन हुन्छ । मन्त्री परिवर्तन हुनासाथ नीति कार्यक्रम परिवर्तन हुन्छ । अहिले सरकारको कामलाई हेर्दा अर्थतन्त्रको शिथिलतालाई सम्बोधन गर्ने चाहिँ भनेको छ तर काम गरेको देखिँदैन ।’
यसैगरी, अर्थतन्त्रमा संकुचन आउँदा सरकारसँग एन्टी संकुचन नीति हुनुपर्नेमा जोड दिँदै गत सालको बजेट र सरकारको नीति तथा कार्यक्रमलाई हेर्ने हो भने संकुचनको बेला करको दायरा बढाएर वृद्धि गर्ने, लगानी पूर्ण रूपमा नगर्ने अवस्था कायमै रहेको बताए । उनले अहिले संकुचनलाई विप्रेषणले मात्रै धानेको बताउँदै मौद्रिक नीतिमा थोरै सुधार ब्याजदरलाई लिएर भएको बताउँदै लगानी प्रवद्र्धन हुन नसकेको उल्लेख गरे । लगानी सम्मेलनको सान्दर्भिकता नै नरहेको बताउने विष्टले सरकारमा बस्नेले पहिले गरेको दुई कार्यक्रमको मूल्यांकन गर्नुपर्नेमा जोड पनि दिए । जताततै आर्थिक शिथिलता छाएको छ । लगानीको नियम भनेको नाफा हो । जहाँ जोखिम कम र नाफा हुन्छ त्यहाँ लगानी आउने हो । तर, यहाँ त्यस्तो नभएको पनि उनको भनाइ छ ।


अहिले शिथिलताको कारण लगानीको जोखिम बढी रहेको र भएकै उद्योगहरू तथा निजी क्षेत्रका उद्योगी व्यवसायीहरू दिगो रूपमा चल्न नसकेर बन्द हुने अवस्थामा पुगेका बेला लगानी जोखिममा पर्ने र नाफा हुने सम्भावना पनि देखिएको छैन ।
अस्थिर सरकारसँग अभिभावकत्व ग्रहण गरी लगानीकर्तालाई संरक्षण गर्ने क्षमता छैन भन्ने बाहिर हल्ला गइरहेको अवस्थामा सम्मेलन गरी कसरी लगानीकर्तालाई नेपालमा लगानीका लागि आश्वस्त पार्ने, एनसेल प्रकरणमा जोखिम र बदनामी कम गर्न सरकारले लगानीकर्तालाई संरक्षण गर्नुपर्नेमा उल्टो बदनामी गरेको पनि प्रचारबाजी भएको विषयले पनि नेपालमा लगानीका लागि प्रतिकूल अवस्था छ भन्ने धेरैले बुझेका छन् । यसैगरी नेपालका उद्योगी व्यवसायीहरू पनि नै विभिन्न नीतिगत समस्याका कारण अप्ठेरोमा परेको बताउँछन् । उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभामा अध्यक्ष चन्द्र ढकालले सरकारका कारण निजी क्षेत्र अप्ठेरो परेको बताउनुलाई पनि सरकारले गम्भीर रूपमा लिन जरुरी छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारीअनुसार पहिलो दिन वैशाख १६ गते उद्घाटनसँगै दुई वटा विशेष सत्र सञ्चालन हुनेछन् ।


‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको छ । दोस्रो दिन तीन वटा समानान्तर सत्र र हरेक सत्रमा तीन वटा समूहगत छलफल हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी र नेपालको निर्यात प्रवद्र्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृंखलाबारे छलफल हुनेछ । तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यावसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको छ । सम्मेलनका लागि एक सय ५० वटा हाराहारी आयोजना ‘सोकेस’मा लैजाने तयारी छ । सम्मेलन स्थलको व्यवस्थापन, सुरक्षा व्यवस्था तथा स्वयंसेवक परिचालन, विदेशी लगानीकर्तालाई विभिन्न आयोजनाबारे जानकारी दिनका लागि कक्ष व्यवस्थापनलगायतका कामको पूर्वतयारी तीव्र बनाइएको लगानी बोर्डका सहसचिव एवं प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।


लगानी सम्मेलनका लागि आवश्यक कानुनी तथा संरचनागत सुधार, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत भइरहेको छ । लगानी सम्मेलनका लागि कुन आयोजना ‘सोकेस’मा लैजाने भनेर छनोटको काम पनि अहिले चलिरहेको छ । मुख्यसचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यान्वयन समितिको अघिल्लो बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै लगानी सम्मेलनमा सोकेसमा लैजान सकिने सम्भाव्य आयोजनाको विवरण पठाउन निर्देश गरेको थियो ।