देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डायलसिस गराइरहेकालाई कोरोनाले झन् कष्ट

देशान्तर

पाँच वर्षयता नियमित डायलसिस गराइरहेका धनुषा गणेशनाथ चारनाथ–४ का नारायणप्रसाद पहाडीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भयो ।

फाइल तस्वीर

उनले काठमाडौं जोरपाटीको नेपाल मेडिकल कलेजमा निःशुल्क नियमित डायलसिस गराइरहेका थिए । संक्रमितलाई डायलसिस गर्दा भने शुल्क लाग्ने अस्पतालले बतायो । ७० वर्षीया आमाको सहारामा उपचार गर्न काठमाडौं बसेका ३८ वर्षीय पहाडीले शुक्रबार जेनतेन ६ हजार रुपैयाँ खोजेर डायलसिस गराए । साताको तीन पटक डायलसिस गराउनुपर्नेमा आइतबार भने उनले पैसा जुटाउन नसकेर डायलसिस गराएनन् ।

कोरोना महामारीका बेला नियमित डायलसिस गराउन नपाउने, पाउनेलाई पनि अस्पतालले समय कटौती गरिदिने र बिरामीले गर्नुपर्ने सहायक उपचारहरू समयमै र पुरानै शुल्कमा गर्न नपाउने समस्या बढ्दै गएको छ । जसको मारमा पहाडी जस्ता नियमित डायलसिस गराइरहेका पाँच हजारभन्दा धेरै बिरामीलाई सकस परेको छ ।

कतिपयले त नियमित डायलसिसको अभावमा ज्यानै गुमाइसकेका छन् । नियमित डायलसिस गराइरहेका र अन्य मिर्गौलासम्बन्धी समस्या भएकाहरूको संस्था मिर्गौलापीडित सरोकार केन्द्रका अध्यक्ष बलराम सुवेदीका अनुसार चैत १० गते सुरु भएको लकडाउनयता समयमै डायलसिस नपाएर प्रदेश २ मा मात्र १८ सहित देशभरि ३५ जनाले ज्यान गएको सूचना पाएको बताए । उनले भने, ‘कैयन्ले यातायात असुविधाका कारण समयमै डायलसिस गराउन सकेनन् । डायलसिस गर्नुपर्ने समय अस्पतालहरूले घटाइदिएकाले कतिपयको स्वास्थ्यमा गम्भीर समस्या थपियो ।’
पहाडीले संक्रमित भएकै कारण निःशुल्क डायलसिस सुविधा नपाउँदा पैसा जुटाउन नसकेर आफ्नो ज्यान नै जाने हो कि भन्ने डर लागिरहेको सुनाए । अस्पतालको आइसोलेसन वार्डमा बसिरहेका उनले भने, ‘अस्पतालले भनेअनुसार शुल्क तिर्ने मेरो क्षमता छैन । म बाँच्ने कि मर्ने जस्तो अवस्थामा छु ।’ उनका अनुसार लकडाउनका बेला सबैजसो अस्पतालले डायलसिसको समय घटाएका थिए । केहीले अवस्था सहज भएपछि पुरानै समयअनुसार डायलसिस गर्न थाले पनि केहीले भने समय घटाई नै रहेका छन् ।
केन्द्रका अध्यक्ष सुवेदीका अनुसार अस्पतालहरूले कोरोना संक्रमण र अन्य समस्या देखाउँदै देशैभरि डायलसिसको समय घटाइदिएका छन् ।

सुवेदीले मिर्गौला बिरामीले रगत उत्पादनलाई निरन्तरता दिन हरेक डायलसिसपछि लगाउनुपर्ने इरिथ्रोपोटिन नामक सुईको भाउ बढेको र डायलसिसका बिरामीले प्रत्येक तीन महिनामा गर्ने स्क्रिन टेस्ट ५० रुपैयाँमा टेकुस्थित केन्द्रीय प्रयोगशालामा हुने गरेकामा हाल त्यहाँबाट सेवा नमिलेको बताए । उनले भने, ‘टेकुमा ५० रुपैयाँमा हुने परीक्षणका लागि निजी अस्पतालले १५ सयदेखि २६ सयसम्म लिइरहेका छन् ।’

सुवेदीले तीन महिनाअघिको कुरा सुनाए । कोरोना कहरले सबैतिर त्राहीत्राही भएका बेला एक्कासि उनकी श्रीमतीलाई सास नै फेर्न गाह्रो भयो । उनले राति झन्डै साढे ८ बजेतिर डेराबाट श्रीमतीलाई अस्पताल पुर्‍याए । रगत, पिसाबलगायत जाँच गरेर डायलसिस गरीवरी घर ल्याएपछि अलिक निको भयो । उनले भने, ‘कोरोना महामारीका बेला नियमित डायलसिस गर्ने बिरामीले धेरै दुःख पाएका छन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।