देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार भूकम्पप्रति संवेदनशील भएन:निरज आचार्य

देशान्तर



केन्द्रीय सदस्य, नेकपा एमाले

नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले सरकार जाजरकोट भूकम्पप्रति संवेदनशील नबन्दा अवस्था भयावह बन्ने खतरामा रहेको बताएका छन् । जाजरकोटका स्थायीय बासिन्दासमेत रहेका आचार्यले अहिले पनि जनतालाई अस्थायी टहरामुनि राख्ने कुरा ठूलो समस्या रहेको बताउ“दै सरकारले भूकम्प प्रभावितलाई दिने भनेको ५० हजार पनि एकमुष्ठ नदि“दा जनताहरू झनै आहात भएको पनि टिप्पणी गरे । ५० हजार रुपैयाँ“ले जस्तापाताको जोहो गर्नुपर्ने बेला रकम नपाउ“दा बढ्दै गएको चिसोका कारण समस्या झन् बल्झिने उनको भनाइ रहेको छ । केन्द्रीय सदस्य आचार्यस“ग देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

जाजरकोट भूकम्पका कारण पीडितहरू चिसोबाट ज्यान गुमाएको समाचार पनि सुन्न परेको छ, अनि राजनीतिक दलहरूले यति घर बनायौं पनि भन्छन् ? के हो खास कुरा, तपाईं त जाजरकोटकै नेता ?
म भूकम्पपछि निरन्तर जाजरकोटमै रहेको छु । उद्धार राहत र पुनस्र्थापनाको काममा लागिरहेका छौं । भूकम्प गएको महिला दिन पुग्न थाल्यो । तर यति समय हुँदा पनि सबै मानिसहरूलाई अस्थायी टहरामुनि ल्याउन सकिएको छैन । कतिपय ठाउँमा त्रिपाल पनि नपाएको र त्रिपालले पनि शीत नछेक्ने अवस्था छ । अहिलेसम्म चिसोका कारण जाजरकोटमा १९ जनाको मृत्यु भइसकेको छ । चिसोले वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई अत्यन्तै अप्ठेरो बनाएको अवस्था छ । यसमा राज्यको उदासीनता छ । टहरामुनि ल्याउने कुरामा सरकारले तदारुकता देखाएको छैन । नेकपा एमालेले मंसिर १ गतेदेखि स्वयंसेवकहरू परिचालन गरेर घरका भग्नावशेषहरू हटाउने पुरिएका सामानहरू झिकिदिने र टहरा बनाउने कामहरूको सुरुआत गरेका हौं । यसमा कुनै प्रचारबाजी गर्नुपर्ने र जश लिनका लागि होडबाजी गर्नुपर्ने बेला होइन । मानवीय संवेदनाको बेला हो र यो बेलामा सबैभन्दा धेरै मेहनत गरेर सबैभन्दा धेरै खटेर कसरी मानिसहरूलाई छानोमुनि ल्याएर आउन सकिन्छ, पुरिएको उनीहरूको सम्पत्ति चिज बस्तुहरू बाहिर निकाल्दिन सकिन्छ र कसरी जोखिम कम गर्न सकिन्छ भन्ने कुरामै हाम्रो ध्यान केन्द्र्रित भएर म पनि आफंै नियमित रूपमा फिल्डमा खटिएको छु । पछिल्लो समय यो काममा अन्य राजनीतिक संगठनका साथीहरू पनि लाग्नु भएको छ ।

सरकारका एक जना मन्त्रीले त अस्थायी टहरा निर्माणका लागि खटिएका राजनीतिक दलका कार्यकर्ताहरूले आफू खुसी गर्नुभयो भन्नुहुन्छ त ?

हामीले मंसिर १ गते एउटा घोषणाका साथ काम सुरु गरेका हौं । स्थानीय विपद् व्यवस्थापन प्रमुखलाई हामीले रुकुम र जाजरकोटका कुनकुन प्वाइन्टमा काम गर्ने प्वाइन्टहरू र हाम्रा युनिटहरू र स्वयंसेवकको संख्याको बारेमा जानकारी गरेका थियौं । हामीले जाजरकोटमा २५ वटा युनिटमा हामीले काम गरिरहेका छौं । एउटा युनियटमा २५ जना भोलेन्टियर यो हुन्छ र टोली नेता यो हुन्छ भनेर सम्मको लिखितरूपमा पार्टीका तर्फबाट प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छौं । प्रमुख जिल्ला अधिकारीले सर्वदलीय बैठक बोलाउनु भएको थियो । त्यसमा सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका नेताहरूको पनि उपस्थिति रहेको थियो । उक्त बैठकमा म पनि सहभागी भएको थिएँ र त्यहाँ यसरी हामीले काम गर्छौ भन्ने कुरा प्रस्ट पारिएको थियो । हामीले प्रत्येक दिनमा के के काम गरियो भन्ने कुराको सार्वजनिक पनि गर्दै आएका छौं । त्यसैले जानकारी नै नदिएको र समन्वय नै नभएको भन्ने कुरामा कुनै सत्यता छैन ।

भूकम्पपीडितले दिने भनिएको ५० हजार पनि दुई किस्तामा दिने कुरा गरिएको छ, यो कुरा जायज हो त ?
भूकम्प गएको एक महिना पुगिसक्यो । चिसो बढ्दै छ । अस्थायी टहरा निर्माण गरेर सक्नु पर्ने बेलामा ५० हजार रुपैयाँँ दिने निर्णय भएको पनि अहिले फेरि त्यसैमा दुई किस्ताको कुरा सुनिएको छ । यो एकदमै गलत र सरकारको निम्छरो कुरा हो । यसले त पीडितलाई झन् आहात थपेको छ । देशको उपप्रधान तथा गृहमन्त्री जस्तो व्यक्तिले भनेको कुरा सुनिएको हो । मानवीय जीवनमा यो भन्दा भद्दा मजाक अरु के हुन सक्छ र । महिना दिन भइसक्यो । अहिलेसम्म त्रिपालमुनि मानिसहरूलाई ल्याउन सकिएको छैन । अहिलेसम्म जाजरकोट र रुकुममा चिसोकै कारण २१ जनाको मृत्यु भइसक्दा पनि सरकार संवेदनशील भएको छैन । मन्त्रिपरिषद्ले निर्णय गरेर जनतालाई अस्थायी टहरा बनाउनका लागि ५० हजार दिने निर्णय गरे पनि महिनौं दिनसम्म पनि नदिने कुराले सरकारको संवेदनशीलतामा गम्भीर प्रश्न गर्न जरुरी छ । अहिले स्थानीय भग्नावशेषबाट काठपाठ त निकाल्न सकिन्छ । तर अस्थायी टहरा बनाउनका लागि सबैभन्दा बढी जस्ताको आवश्यकता रहेको छ । जस्ता नै पहिलो आवश्यकता हो । खरका टहरा बनाएर त्यहाँ सम्भव नै छैन । हामीले जस्ता नपाएर धेरै ठाउँमा फ्रेमहरू बनाएर छोडेका छौं । अहिले मानिसहरू जस्ता पर्खिएर बसेका छन् । सरकारले दिने ५० हजार रुपैयाँँ दिन्छ र त्यो पैसाले जस्ता किन्छौं र छानो छाउँछौं भनेर जनताले पर्खिएको अवस्था छ । तर सरकारका उपप्रधान तथा गृहमन्त्री त्यसको मजाक गर्दै हुनुहुन्छ ।

भूकम्पपीडितको माग र प्राथमिकता अहिलेलाई के हो ?
भूकम्पपीडितको अहिलेको माग भनेको अस्थायी रूपमा भए पनि हामीलाई छिटोभन्दा छिटो छानोमुनि सारिदिनुस् । जस्ताले छाएको सानो टहरो भए पनि त्यसमा भित्र बस्न पाऊँ भन्ने हो । बालबालिका र वृद्धवृद्धालाई न्यानो ठाउँमा राखेर सुरक्षित हुन चाहन्छौं । अहिले मुख्य गरेर मानिसहरूको माग भनेको टहरामा सर्ने हो । मानिसहरू अहिले पालबाट टहरामा आउन चाहन्छन् । त्रिपालबाट टहरामा सार्ने कुरा अहिलेको महत्वपूर्ण मागको रूपमा रहेको छ ।

चिसो त अब झनै बढ्दै जान्छ, कसरी जोगिने र जोगाउने ?
अहिले त झन् मौसम पनि परिवर्तन भएको छ । जाजरकोटमा यो चिसोले झन् धेरै बिरामी हुने खतरा छ । चिसोका कारण मृत्यु हुने संख्यामा सर्वाधिक धेरै दीर्घ रोगी र वृद्धवृद्धाहरूको संख्या रहेको छ । वालवालिकाहरू अहिले विरामी हुन थालेका छन् । यसैगरी सद्धे मानिसहरू पनि चिसोका कारण बिरामी हुने क्रम सुरु भएको छ । त्यसले गर्दा भूकम्पपीडतहरूलाई छिटोभन्दा छिटो छानोमुनि ल्याएर आउने र न्यानोमा राख्ने कुरा पहिलो प्राथमिकता हो । झन्डै साढे ९ हजार घर टहरा जाजरकोटमा क्षतिग्रस्त छन् । त्यसैले यति ठूलो संख्यामा टहरा बनाउनका लागि अरु विधिबाट सम्भव हुँदैन । त्यसैले राज्यले दिने भनेको ५० हजार रुपैयाँ नेपाली सेनालाई कर्णाली प्रदेशकै सेनालाई दिउँ र उसले एकदेखि डेढ महिनाभित्र अस्थायी आवास बनाएर दिन सक्छ । नेपाली सेनासँगै राजनीतिक दलहरू र विभिन्न संघसंस्थाले काम गर्छौ र एकदेखि दुई महिनाको बीचमा मानिसहरूलाई अस्थायी आवासभित्र ल्याउन सकिन्छ भनेका थियौं । तर सरकारले यो कुरा पनि सुनेन । सरकार त कार्यविधि र नियमावलीमै अल्झियो । अहिले पनि गृहमन्त्री दुई किस्तामा दिने कुरा गर्दै हुनुहुन्छ, यसले त झन् ठूलो चुनौती थप्दै गएको छ ।

अब नेकपा एमालेको कुरा गरौं ।
तपाईंहरूले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा भनेको के हो नि ?

नेकपा एमालेले झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा भनेर १ हजार ८ सय ७९ किलोमिटरको यात्रा तय गरेको छ । यो यात्रा १९ दिनको समय लगाएर करिब करिब २६ वटा जिल्लामा हामीले छुन्छौं र २२५ भन्दा धेरै बस्तीहरू जोडिएका छन् यो भूभागमा । वस्तीहरूमा मूलतः यो अभियानले दुई तीन वटा पक्षहरू उजागर गर्न खोजेको छ । नम्बर १ मध्यपहाडी राजमार्गको अवस्था के छ त्यसका बारेमा अध्ययन अबलोकन हुने र त्यहाँका मुद्दाहरूलाई राष्ट्रियकरण गर्ने । कतिपय ठाउँमा ओभरल्यापिङ भएको, घुमाउरो भएको, पुल नबनेको कुराहरू आएका छन् । अहिलेसम्म ३५ वटा नदी तथा खोलामा पुल आवश्यक भए पनि बनेका छैनन् । ४७७ किलोमिटर सडक कालोपत्रे भएको छैन । पहाडको जनजीवन, त्यहाँको अप्ठेराहरू, त्यहाँको संस्कृतिहरूलाई उजागर गर्ने र पहाडी क्षेत्रको मुद्दाहरूलाई उजागर गर्ने उद्देश्यले नै यो अभियान सुरु गरेका हौं । यसले पहाडमा हुने बसाइँसराइ । सहरीकरणको नाउँमा सबै तलतिर झर्ने कुराहरू भएको छ यसलाई रोक्न मध्यपहाडीले मद्दत गरोस् भनेर आर्थिक वर्ष २०६४–०६५ बाट सुरु भएको हो । २०८० सालमा पूरा हुनुपर्ने थियो तर अहिलेसम्म पूरा हुन सकेको छैन । त्यसैले विविध कुराहरूलाई उजागर गर्नका लागि यो अभियान सुरु गरेका हौं ।
तर, तपाईंहरूको यात्राको रुट हेर्दा त विगतमा कमजोर भएको क्षेत्रमा एमालेले संगठन सुदृढ गर्नका लागि यो गरियो भन्न पनि सकिन्छ होला है ?
संगठन सुदृढीकरणको अभियान भनेको त स्वाभाविक नै भयो । अब यो बीचमा नेकपा एमालेका एजेन्डाहरू जनताको माझमै लैजाने कुरा त भइहाल्छ नै । एमालेले आफूतर्फ जनमत आकर्षित गर्नका लागि यो यात्रा तय गरेको भनेर भएका टिप्पणीलाई हामी सकारात्मक लिन्छौं । स्वाभाविकरूपमा यी क्षेत्रमा एमालेको गतिविधि बढ्दा एमालेको संगठन चलायमान त हुन्छ नै सँगसँगै हामीले उठाउने मुद्दाहरूमा पनि केन्द्रित हुन मद्दत गर्छ । संगठन सुदृढीकरण मात्रै होइन, यस क्षेत्रका समस्या उजागर गर्नका लागि महत्वपूर्ण भूमिका खेल्यो भन्ने कुरा पनि बुझ्न जरुरी छ ।

मध्यपहाडीमै हिड्नुपर्ने, यात्रा नै तय गर्नुपर्छ र समस्याहरूको बारेमा जानकारी लिनका लागि ?
हिजो एमालेको सरकार थियो, आज गठबन्धनको सरकार छ । पहाडी क्षेत्रको जनजीवन यहाँको संस्कृति यहाँको भाषा र यहाँका अप्ठेरा सडकको बारमो ढकढक्याउने कुरामा एमाले लागेको छ । एमालेले राष्ट्रिय शक्तिका साथ कुरा राख्दा यसले पक्कै पनि केही सकारात्मकता ग्रहण गर्छ भन्ने हामीलाई लागेको छ । हामीले सरकारलाई दबाब दिँदा पक्कै पनि सकारात्मक काम हुन्छ भन्ने बुझाइ पनि रहेको छ ।
संकल्प यात्रा भनेको नेकपा एसलाई सक्काउनका लागि गरिएको पनि भन्ने आरोप छ नि ?
हामी कसैलाई बनाउने र कसैलाई सक्काउने मिसन लिएर हिँडेका छैनौं । कुनै पनि दल फस्टाउने र सक्किने भन्ने कुरा उसको आन्तरिक कारणले उसले लिने नीति र उसले गर्ने कर्मका कारण तय हुन्छ । अहिले हामी नेकपा एमालेलाई राष्ट्रिय शक्तिका रूपमा अगाडि बढाउन चाहन्छौं । विभिन्न शक्तिलाई विभिन्न पार्टीमा आबद्ध भएकाहरूलाई नेकपा एमालेमा आबद्ध गराउने र स्वागत गर्ने काम चलिरहेको छ । यो क्रम आगामी दिनमा पनि हुन्छ । अहिले नेकपा एमालेमा देशभरिबाट जिल्ला र केन्द्रीय कमिटीमा साथीहरू आइरहनु भएको छ ।